Breaking

फुट्ने भो राप्रपा, लिङ्देनमाथि खनिए रेखा र रवीन्द्र, फुटेको राप्रपाले राजावादीमा निराशा


काठमाडौँ – कोशीमा प्राप्त सभामुख पदले राप्रपाभित्रको किचलो छताछुल्ल भएको छ । कोशीमा सभामुखको निरन्तरता र फिर्ताको विषयले नेताहरुबीच वाकयुद्ध छेडिएको छ । मुलुकको राजनीतिक र नागरिकको अवस्था केन्द्रमा राखेर निर्णायक आन्दोलनको तयारीमा जुटेको राप्रपा आफैँ फुट्ने त होइन भन्ने आशंकासमेत बढेको छ ।


व्यवस्थाको विरोध गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले नै पद लोलुप भएर, कोशी प्रदेशमा सभामुखको भाग खाएपछि त्यसको असरले पार्टीभित्र धु्रवीकरण बढेको छ । सभामुखलाई राख्ने र फाल्ने बटम लाइनमा शीर्ष नेताहरु दुई चिरा देखिएपछि यसको बाछिटा तल्लो तहसम्म पुगेको छ । यता कोशीको किचलो पार लगाउन नपाउँदै राष्ट्रिय सभा निर्वाचनले राप्रपाभित्र फेरि अर्को राजनीतिक तरंग पैदा ग¥यो । राप्रपाभित्रको अन्तरविरोध छताछुल्ल मात्र बनेको छैन केन्द्रीय नेताहरु एक–अर्काको तुष सार्वजनिक रुपमै पोख्न उदत्त बनेका छन् । राप्रपा नेताहरु अध्यक्ष लिङदेनविरुद्ध घोचपेचमै उत्रिन थालेका छन् ।

कोशीमा सभामुखको विषयलाई लिएर विवाद कायम रहेकै बेला राष्ट्रिय सभा चुनावमा चुनावी समीकरण गरेको एमालेले धोका दिएपछि राप्रपाभित्रको विवाद थप चुलिएको छ । एक–अर्कामा सहकार्य गरेरै चुनाव जितेका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष लिङदेनको सहकार्य राष्ट्रिय सभामा असफल भएपछि अध्यक्ष लिङदेन पार्टीभित्रै घेराबन्दीमा परेका छन् । लिङ्देन, ओलीको पिछलगु भएको र उनकै इसारामा चलेको गम्भीर आरोप लाग्ने गरेको छ । सार्वजनिक मञ्चमै आफ्ना नेताहरुप्रति आक्रामक हुँदै रवीन्द्र मिश्र लक्षित अभिव्यक्ति दिएपछि आलोचित बनेका अध्यक्ष लिङदेनविरुद्ध पार्टीकै नेतृ रेखा थापासमेत खनिएकी छन् ।

‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ अभिव्यक्ति दिएपछि आफूप्रतिको कटाक्षका रूपमा बुझेकी रेखाले अमेरिकाबाटै जवाफ फर्काएकी हुन् । पार्टी उपाध्यक्ष रवीन्द्र मिश्र, केन्द्रीय निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी र नेता धवल शम्शेर राणालाई इंगित गर्दै अध्यक्ष लिङ्देनले पार्टीको नीति र विधि भन्दामाथि कोही नहुने भन्दै आफ्नो प्रतिरक्षामा बोल्न थालेका छन् । आफ्ना नेताहरुप्रति आक्रमक रुपमा प्रस्तुत भइरहेका अध्यक्ष लिङदेनको अभिव्यक्तिले राप्रपाभित्रको विवाद कस्तो छ ? सहजै अनुमान लगाउन सकिन्छ । राप्रपा फुट्ने राजनीतिक हल्ला चल्न नपाउँदै लिङदेन भने पार्टीबारे रक्षात्मक बन्न बालेका छन् ।

कोशीमा सभामुख पदलाई लिएर अध्यक्ष लिङदेन सकारात्मक छन् भने अन्य केन्द्रीयस्तरकै नेताहरु जुनसुकै हालतमा सभामुख फिर्ताको पक्षमा छन् । राप्रपाभित्रको भिडन्तमा राष्ट्रिय सभा चुनावले थप मलजल गरेको छ । केन्द्रीय निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूह सभामुख फिर्ताको पक्षमा छन् । लिङदेन र मिश्र सार्वजनिक रुपमा नै आफ्नो तुष पोख्न उदत्त छन् । सत्ता वा प्रतिपक्ष कित्तामा विभाजन हुने र पार्टी फुटसम्मको विगतको नजिरलाई नियाल्दै यही कारण राप्रपा फुट्ने त होइन भन्ने आशंकाको सुविधा दिएको छ । राजसंस्था र हिन्दुराज्यको मुद्दासहित निर्णयाक आन्दोलनको तयारीमा जुटेको राप्रपा फुटको चर्चा चुलिँदा नेताहरु भने पार्टीभित्र यस्ता अन्तरविरुद्ध स्वभाविक भएको तर्क गर्छन् । राप्रपा अब निर्णायक आन्दोलनको तयारीमा रहेकाले फुटको कुनै शंका नगर्न उनीहरुको भनाइ छ ।

राजसंस्था र हिन्दुराज्यको एजेन्डालाई राजनीतिक भ¥याङ बनाएकाहरु स्वार्थ र सत्तामा केही लचक भए पनि पूर्वराजाको देश दौडाहले हौसिएका राप्रपाका कट्टर राजावादीहरु अध्यक्षविरुद्ध बोल्नसमेत पछि पर्दैनन् । राष्ट्रिय राजनीतिमा आफ्नै मुद्दामा ढुलमुले चरित्र देखाउँदा आलोचित राप्रपाजन नेताहरु भिडन्तले आजित बनिसकेका छन् । संघीयता सहन नसक्ने र संघियतालाई बोझका रुपमा बुझ्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले बाध्यताको बाहना बनाउँदै सभामुख पद पड्काएको थियो । यहि व्यवस्थाले दिएको सत्ता सुविधामा राप्रपाले कोशीसँगै अन्य प्रदेशमा पनि रजगज गरिरहेकै छ । सत्ता समीकरण र स्वार्थ मिलेसम्म सरकारमा जाने सत्ता सुविधा राप्रपाका लागि नौलो होइन । नेताहरुको जुँगाको लडाईंले मुलुक नेता कार्यकर्ताभन्दा पनि आफ्नै स्वार्थ सिद्धमा सीमित रहँदै आएको छ । जुटदेखि फुटसम्मको शृङखला एजेन्डाभन्दा नेताको स्वार्थमा निर्भर रहँदै आएको छ । फलतः राप्रपाको जुट र फुट नौलो होइन ।