Breaking

टुँडिखेलमा ‘तमु ल्होसार’को रौनक, बिरालो वर्गलाई बिदा गरी गिद्ध वर्गलाई स्वागत

किन मनाइन्छ ल्होसार ?


काठमाडौँ – देशभरका गुरुङ समुदायले आज तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

गुरूङ समुदायले आज पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै ल्होसार मनाएका हुन् । पुस १५ गते ‘तमु ल्होसार’ पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । टुँडिखेलमा ल्होसारको रौनक कस्तो रह्यो त ?

तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड नेपालका साथै विदेशमा रहेका गुरूङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । तमु ल्होसार हरेक वर्ष पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । तमु ल्होसार प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटो र दिन लामो हुने भएकाले यसलाई नयाँ सालको रुपमा मनाएको पाइन्छ ।

यो तोलो/तमु ल्होसार गुरुङ्ग र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाउने गर्छन् । ल्होसारको अघिल्लो दिनको साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधारातमा नयाँ वर्ष आयो भन्दै नयाँ वर्षको स्वागत गरिन्छ ।

ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आर्शिवाद लिने तथा शुभकामना आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर धुमधामका साथ मनाइन्छ । यो वर्ष पनि बिरालो वर्गलाई बिदा गरी गिद्ध वर्गलाई स्वागत गर्दै गुरुङ समुदायले काठमाडौँको मुटु टुडिँखेलमा तमु ल्होसार धुमधामका साथ मनाएका छन् ।

तमु ल्होसारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी भए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको बताएका छन् ।

उनले यस्ता मौलिक चाडपर्वहरुले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने र देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी रहेको बताए ।

गुरुङ समुदायमा ‘ल्हो’को अर्थ जादै गरेको वर्षलाई बिदा गर्ने र आउने वर्षलाई स्वागत गर्ने र गुरुङ समुदायको अतिनै प्रयोगमा आउने सेर रोटी सगुन रक्सी, भेडाको मासु लगायत अन्य मिठामिठा परिकारहरु खाएर मनाउने चलन रहेको गुरुङ अगुवाहरु बताउँछन् ।

गुरुङ समुदायले मनाउने ल्होसार पर्व अन्य जाति, समुदायले सम्मानका साथ मनाउने चलन बढ्दै गएको छ । मौलिक संस्कार, संस्कृतीलाई बचाउन सबैको भूमिका हुने भन्दै अन्य समुदायका मानिसहरु पनि ल्होसार मनाउन टुँडिखेल पुगेका थिए ।

गुरुङ समुदायले नयाँ वर्ष घर अथवा गुम्बामा मनाउने गर्छन् । तर टुँडिखेलमा मनाउँदा आफ्नो समुदायको शक्ति प्रदर्शन हुने तथा विभिन्न ठाउँमा छरिएर रहेकाहरुको एकै ठाउँ भेटगाट हुने अवसर मिलेको ल्होसार कार्यक्रममा सहभागीहरुले बताए ।

ल्होसारको अवसरमा जातीय भेषभुषामा सजिएका गुरुङ महिलाहरुले शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाउने गर्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् । यस्तै कछाड र पटुकी पनि बाँध्छन् । नेपालमा रहेका सबै जात, जातिको आ–आफ्नै परम्परा र संस्कार, संस्कृति रहेको छ । त्यसैले गुरुङ समुदायले पनि आफ्नै परम्परा र संस्कार अनुसार ल्होसार मनाउने गर्छन् । यस्तै ल्होसारमा घाटु, सोरठीका साथै कौडा नाच नाच्ने चलन पनि छ । ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको थियो ।

सरकारले विभिन्न समुदायको प्रमुख चाडहरुलाई राष्ट्रिय पर्वको मान्यतासमेत दिएको छ । यस्तो परम्परा, संस्कार, संस्कृतिको जगेर्ना गर्न भावी सन्ततीलाई हस्तारण गर्दै जानु अपरिहार्य छ । साथै नेपाली मौलिक चाडपर्वको अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार गरी विदेशी पर्यटक भित्र्याउन थप पहल गर्ने हो भने संस्कृतिको जगेर्नाका साथै पयर्टन क्षेत्रमा समेत महत्वपूर्ण टेवा पुग्ने देखिन्छ ।