Breaking

काठमाडौँमा रोजी–रोजी घर–जग्गा, साढे २ करोडको घर किन्न ६५ लाख भए काफी, कहाँ कति मूल्य ?

काठमाडौंमा घर किन्न कति चाहिन्छ?


काठमाडौँ – काठमाडौँमा बिहीबारदेखि घरजग्गा मेला सुरु भएको छ । कोभिडपछि आएको आर्थिक मन्दीलाई चलायमान बनाउने उद्देश्य, क्रेता र बिक्रेताहरूबीचको असमझदारीलाई सम्बोधन गर्न भृकुटीमण्डपमा पुष ११ गतेदेखि १५ गतेसम्म चार दिने मेला सञ्चालन भएको हो ।

नेपाल सरकारले विभिन्न समयमा जग्गा कित्ताकाट सम्बन्धी गरेको नीतिगत परिवर्तन र कित्ताकाट रोक्नेसम्मको निर्णयले सुस्ताएको घरजग्गा कारोबारलाई पुनः पुरानै लयमा फर्काउन रियल इस्टेट एक्स्पोको आठौं संस्करण सुरु भएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा सुुरु भएको एक्सोको दोस्रो दिन पनि मेला हेर्न जानेको उपस्थिति राम्रै देखिन्थ्यो । सर्वसाधारणदेखि देशको अग्रज कलाकार पनि घर जग्गासम्बन्धी जानकारीका लागि मेला पुग्दा रौनक थपिएको देखिन्छ ।

दुई महिनाअघि बन्द रहेको जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णयले घरजग्गाको किनबेच सुधारोन्मुख भए पनि पुरानै अवस्थामा भने फर्कन सकेको छैन । घरजग्गा किनबेचमा मन्दी आएको भन्दा पनि सरकारको नीतिले नै मन्दी ल्याएको आयोजकको बुझाइ छ । संस्था र व्यक्ति दुवैको नाममा अधिकतम २६ देखि २८ रोपनीसम्म मात्रै राख्न पाउने कानुनले हद तोकेको छ ।

तर, जग्गा व्यवसायीलाई टाउको दुखाईको विषय बनेको यही हदबन्दीमा पनि सरकारले लचकता देखाउँदा व्यवसायीहरू उत्साहित छन् । अहिले सरकार र बैंक पनि सकारात्मक देखिएको हुँदा यस्ता मेलाले विगतकै अवस्थामा फर्कने विश्वास रियल स्टेट व्यवसायीले गरेका छन् ।

काठमाडौंभित्रै मोटरबाटो पुगेकै स्थानमा पनि न्यूनतम आनाको १५ लाखमा नै जग्गा पाउने र एक करोडमा चार आनामा बनेको साढे दुई तल्ले घर किन्न सक्ने अवस्था रहेको विकास संघका कोषाध्यक्षको भनाइ छ ।

राजधानीमा घर किन्ने चाहना हर कोहीमा हुन्छ । किन्न सक्नु, नसक्नु त्यो छुट्टै पाटो होला । तर, काठमाडौँमा घर किन्ने इच्छा भएर पनि पैसा नहुनेहरूका लागि पनि कम्पनीले त्यसमा सुविधा दिएको छ । जम्मा लागतको ३० प्रतिशत बुकिङ रकम भुक्तान गरेर पनि आफूले चाहेको अपार्टमेण्ट किन्न सकिने रोडसो रियल स्टेटको अफर छ ।

मेलाको आयोजक र मेलामा आफ्नो व्यापार गर्न बसेका कम्पनीहरूले ठूला ठूला अफरको सुविधा दिएर ग्राहकहरूलाई आकर्षित गरिरहेका छन् । तर, मेला अवलोकन गर्न पुगेका अवलोकनकर्ताहरूको भने मिश्रित अनुभव छ ।

केहीले यो एउटा व्यापार मात्रै भएको हुँदा फाइदा खोज्ने र गरिबका लागि यसको प्रयोजन खास्सै नहुने तर्क गर्छन् भने, मन्दीकै बेलामा पनि आर्थिक कारोबार हुने र बैंकमा पैसा राखेर ब्याज मात्रै खाने प्रवृत्तिमा पनि कमी आउने केहीको बुझाइ छ ।

मेलामा घरजग्गासँग सम्बन्धित र बैंक तथा फाइनान्स कम्पनी, बिमा कम्पनीका साथै होम एप्लाइन्स, टायल्स, सेनिटरी, फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, रंगलगायत निर्माण सामग्रीका २५ वटा स्टल राखिएको छ ।

मेलालाई एक लाख ५० हजार जनाले अवलोकन गर्ने र २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको विश्वास छ ।