समाचार

मन्त्री जोगाउँदा युवामाथि गोली, प्रचण्ड र नारायणकाजीलाई भारी, प्रहरीको संवेदना खोइ ? भिडियोसहित


काठमाडौँ — उच्चपदस्थ होस् या आमनागरिक, सत्य र निष्पक्ष ढंगले शान्ति सुरक्षा प्रदान गर्नु नेपाल प्रहरीको कर्तव्य हो । तर बुधबार प्रहरी प्रशासन न त उच्च पदस्थको सुरक्षामा सर्तक देखियो न त नागरिकलाई सुरक्षा दिने सवालमा संयम देखिए । बुधवारको ग्वार्को घटनाले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न तेर्सिएको छ ।

बालकुमारी घटनामा प्रहरी हस्तक्षेपमा परी बुधवार दुई युवाको अकालमा ज्यान गयो । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरिया जान नपाउने भएपछि आक्रोशित भएर विरोध प्रर्दशनमा उत्रिएका युवाहरुमाथि प्रहरी दमन र बन्दुक पड्किँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । प्रहरीसँगको झडपमा परी घाइते भएका भक्त राउत र वीरेन्द्र शाहको मृत्यु भएको छ ।

प्रहरीको लाठी र गोली लागेर उनीहरुको मृत्यु भएको भनिएको छ तर यकिन विवरण भने आएको छैन । प्रहरी झडपमै परी अन्य दर्जनाँै प्रदर्शनकारी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
आन्दोलनको सूचना र सम्भावित घटनाको सामान्य विश्लेषणसमेत नगर्दा आक्रोशित युवाको भिडले भौतिक पूर्वाधारमन्त्री सवार गाडीमाथि आगजनी भयो । यो घटनापछि प्रहरीले एक हुल प्रदर्शनकारीमाथि अश्रु ग्याँस , हवाई फायर मात्र गरेन गोली नै चलायो । मन्त्रीको गाडी जलाएपछि भिड उच्छृंखल हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले हस्तक्षेपको नीति लिएको देखिन्छ ।

यो कुरालाई प्रहरी प्रशासनले पनि प्रष्ट्याएको छ । मन्त्रीको गाडी जलाएको झोकमा, नेताको सुरक्षा गरेको देखाउन नागरिकमाथि गोली ठोक्ने प्रहरी प्रशासनले भने गोली चलेको विषयमा अनभिज्ञता प्रकट गरेको छ । झडपमा मृत्यु भएकामध्ये एक जनालाई गोली नै नलागेको तर्क गरिएको छ ।

सामान्यतः प्रहरीले बल नै प्रयोग गर्नु हुँदैन भन्ने मान्यता छ । प्रयोग गर्नै परे प्रहरीको बल प्र्रयोगको निश्चित मापदण्ड छन् । बल प्रयोग परिस्थिति बिगार्न नभई नियन्त्रण गर्न गरिनु पर्ने हो । नेताको सुरक्षामा बाघ बन्ने हाम्रो प्रहरी प्रशासन सामान्यत विरोध प्रदर्शनका भिड नियन्त्रणमा संयमता गुमाउने अवस्थामा पुग्ने गरेको छ । जसको परिणाम स्वरुप गोली बर्साउन पनि पछि पदैन । प्रहरीले संयमता गुमाउँदा यसअघि पनि थुप्रै प्रदर्शनका घटनामा थुप्रै व्यक्तिले ज्यान गुमाएका छन् । बुधवारको घटनामा प्रहरी प्रशासन चुकेको जानकारहरुको विश्लेषण छ ।

अराजक ढंगले भिड पन्छाउँदै भीआईपीको सुरक्षा दिने प्रहरी जनताको जिउधनको सुरक्षाका लागि भने गम्भीर नबनेको टिप्पणी भइरहेको छ । समाजमा हुने अपराध नियन्त्रणका लागि होस् अथवा विभिन्न समयमा आउने विपद्को घटना हुन्, प्रहरीको उपस्थिति अनिवार्य र अपरिहार्य छ । तर प्रहरी र नागरिकबीचको सम्बन्ध प्रेरक बन्न सकेको छैन । यस्ता घटनाले प्रहरी प्रशासन थप आलोचित र जनविश्वास गुमाउने खतरा झनै बढ्ने देखिन्छ ।