Breaking

हमला गर्नेविरूद्ध रविको काउन्टर, जेल कोच्ने षड्यन्त्र भइरहेको आशंका, ठगीबारे के भन्छन् ?

रविलाई फसाउन खोज्ने को ?


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी न प्रमुख प्रतिपक्षी दल, न त सदनको ठूलो दल वा सत्तामा नै छ । तर पनि रास्वपा र पार्टी सभापति रवि लामिछाने भने सबैको आखाँको तारो बन्ने गरेका छन् । जसका कारण उनीमाथि चौतर्फी हमला भइरहेको छ । तर उनी आफूमाथिको घेराबन्दी तोड्न थप आक्रामक बन्दै आइरहेका छन् । आफूमाथिको आरोप पुष्टि गर्न उनले चुनौती पनि दिएका छन् ।

१० महिनाअघि सर्वोच्चको आदेशपछि सांसद् पद र पार्टी सभापतिसमेत गुमाएका रवि लामिछानेले दिएको अभिव्यक्ति हो यो । सांसद पद गुमेसँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाटसमेत हात धुनु परेको थियो । उनले १० महिनाअघि भनेका कुरा आज पनि त्यतिकै सान्दर्भिक देखिन्छ । किन भने अहिले पनि उनलाई खेद्ने शृंखला जारी छ । नागरिकता विवादमा सर्वोच्चको फैसलाबाट अनागरिक भएको भन्दै गृहमन्त्रीबाट बाहिरिएका रविले आफूलाई निशाना बनाएरै चौतर्फी हमला गरिएको अभिव्यक्ति अहिले पनि दिइनै रहेका छन् ।

कहिले विधिको नाममा त कहिले ढाकाकुमारको काण्डको सामना गरेको उनलाई अहिले फेरि सहकारी ठगीको आरोप लागेको छ । दिन–प्रतिदिन रविविरुद्ध एकपछि अर्को ठगीको आरोप थपिदै गएको छ । तर, रवि अहिले पनि त्यसको प्रतिकार गरिरहेका छन् । बिहीबार मात्रै पनि आफूविरुद्ध लागेको आरोप सतहीमात्रै भएको भन्दै सामाजिक सञ्जालमा उनले त्यसको खण्डन गरे । साथै सडक निर्माणका लागि पैदल हिँडेर दबाव दिएका रवि आफ्नो खुट्टामा ठेला आउँदा पनि आफूलाई निशानामा पारेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि नियतवश संलग्नता नभएको स्पष्टीकरण दिँदै हिँड्नु पर्ने अवस्थामा उनी आइपुगेका छन् ।

राजनीतिमा विकल्पको यात्रा गरेका रविले ठूला दलकै नियती भोग्नु परेको छ । पुराना दलका नेताले राजनीति गरेको दशकौंपछि मात्रै झापड् भेट्दा उनले केही वर्षको अन्तरालमा नै खोयाको सामना गर्नु प¥यो । पुराना पार्टीको विकल्प बन्न आएका रविलाई चुनौती सम्झनेहरुमा खुशीयाली छाइरहेको छ । नागरिकता लगायत राहदानीमा रवि चुक्दा पहिल्यैदेखि विकल्पलाई खेदिरहेकाहरू झन् उनीमाथि जाई लागेका छन् । रवि लखेट्न हात धोएर लागेका पुराना दल र ढर्राले नितान्त एउटा व्यक्तिमाथि जबरजस्त रुपमा प्रहार हुनु गलत अभ्यासको थालनी भएको भन्दै चिन्तासमेत व्यक्त हुन थालेका छन् ।

आफूमाथि हमला गर्नेहरूविरुद्ध रविले पनि कम चुनौती भने दिएका छैनन् । मन्त्रिपरिषद् फेरबदलको चर्चा चलिरहँदा प्रचण्डको गृहमन्त्रीको लालचलाई पनि लात हानेका रविले सुशासनको हुंकार गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै तस्कर भन्दै गल्ती गरेको भए हत्कडी लगाउन चुनौती दिने गरेका छन् । सञ्चार कर्मबाट राजनीतिमा होमिएका उनी अहिले सञ्चार क्षेत्रकै निशानामा पनि परेका छन् ।

एक व्यक्तिको पछाडि पूरै संयन्त्र नै लाग्नु सान्दर्भिक नहुने कतिपय विश्लेषकको भनाइ छ । तर, यसो भन्दै गर्दा रविले गरेका गलत कामको ढाकछोप गर्नुपर्छ भन्ने पनि होइन । उनलाई लागेको आरोप पुष्टि हुन्छ भने उनी सजायको भागिदार हुनै पर्छ । जुन उनले बारम्बार बताउँदै पनि आइरहेका छन् । विकल्प भन्दै आएका युवा र नयाँ पार्टीलाई पुराना दललगायत सबैबाट साथ र सहयोग पनि आवश्यक छ । तर, आफूलाई जति लखेटे पनि नसक्ने बताउँदै आएका रविले हमला गर्नेमाथि नै प्रतिकार गरिरहँदा उनी अहिले भने केही थाकेका महसुस गरिरहेका छन् ।

सञ्चारकर्मबाट राजनीतिमा होमिएसँगै रविप्रतिको क्रेज ह्वात्तै बढेको थियो भने ठूलो जनमतसमेत खडा भएको थियो । रविप्रतिको आशा, भरोसा पूरा हुन नपाउँदै उनीमाथि लागेका नागरिकता विवाद, सहकर्मीको आत्महत्या दुरुत्साहन प्रकरण, बहुविवाह प्रकरणले उनको छविमाथि शंका उत्पन्न गराएको इतिहास पुरानो हुन पाएकै छैन । विगतका विवादको सामना गर्दै स्वच्छ र स्वस्थ छवि बनाउँदै देश विकासको अभियानमा लागि रहेका बेला उनीमाथि सहकारी ठगीको आरोप लाग्नु पक्कै पनि शुभ संकेत होइन । उनले भाषण र फेसबुकमार्फत वक्तव्य दिँदैमा उनीमाथिको आरोप निराधार हुन् भनेर पत्याइ हाल्ने र झूठ ठहर हुने आधार पक्कै होइनन् ।

यसका लागि उनी आफैँले कानुनी प्रक्रियामार्फत यो विषयलाई समाधान गर्न पनि सहयोग गर्नु पर्ने देखिन्छ । सप्रमाण सञ्चारमाध्यमहरुमा आएका समाचारहरुलाई आधार मानेर सम्बन्धित निकायले छानबिन प्रक्रिया अगाडि बढाइ पीडितलाई न्याय दिने र रवि दोषी हुन् भने सजायको भागिदार बनाउनु पर्छ । यदि उनको संलग्नता निराधार र नियोजित हो भने उनलाई निर्दोष ठहर गरी लागेको दाग मेटाउनु आवश्यक छ । उनीमाथि गलत आरोप लगाउनेलाई कानुनी कठघरामा उभ्याउनु पनि उत्तिकै जरूरी छ ।