Breaking

कांग्रेसमा फेरि भाँडभैलो, देउवापछि खड्का कि शेखर ?, वरिष्ठ नेता को ? (भिडियोसहित)


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र वरियताक्रम विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवापछिको वरियतामा को भन्ने विषयले कांग्रेस प्रदेश अधिवेशनमा लफडा नै भएको छ । वरियताकै विषयलाई लिएर कांग्रेसभित्रका गुट उपगुट फेरि एक पटक सतहमा देखिएको छ ।

देशको विषम परिस्थितिलाई कांग्रेसले मात्रै सामाना गर्न सक्ने र अहिलेको अवस्थामा कांग्रेसले सरकारको नेतृत्व गरे मात्र देशले परिवर्तनको महसुस गर्ने दाबी गरिरहेको कांग्रेस आफैँ आन्तरिक विवादले चुर्लुम्म डुबेको छ । नेपालीमा एउटा भनाइ छ, आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने प्रवृत्ति कांग्रेससँग मेल खान पुगेको छ । देश हाक्नुपर्ने संसदको सबैभन्दा ठूलो दल कांग्रेसका नेताहरू वरियताको भूमरीमा फसेका छन् ।

वरियताकै विषयलाई लिएर कांग्रेसभित्रका गुट उपगुट फेरि एक पटक सतहमा देखिएको छ । संस्थापनइतर पक्षले नेतृत्व गरेको प्रदेशमा उपसभापति पूर्णबहादुर खड्कालाई र इतरपक्षले नेतृत्व गरेको प्रदेशमा वरिष्ठ नेताको हैसियत दिएर शेखर कोइरालालाई सभापति पछिको विशिष्ट अतिथि बनाउने गरिएको छ । कांग्रेसका कतिपय नेताहरू भने वरिष्ठ नेताको स्थानको बारेमा अहिले चिन्ता गर्नुपर्ने विषय नभएको बताइरहेका छन् ।

नेपाली कांग्रेस निर्माणदेखि नै वरीयता विवाद रहँदै आएको छ । पार्टीभित्र गुटहरू हाबी हुँदै जाँदा वरीयताको विषय थप पेचिलो बन्ने गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मर्यादाक्रममा सभापति शेरबहादुर देउवापछि उपसभापति खड्का रहेका छन् । खड्का १४औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका हुन् भने कोइराला, देउवासँग सभापतिमा पराजित नेता हुन् । उनीहरू दुवै एकअर्कालाई नेता मान्न तयार छैनन् ।

कोइराला आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने रणनीतिसहित सक्रिय छन् भने, खड्का पनि देउवाको उत्तराधिकारी बन्न लागिपरेका छन् । पार्टी केन्द्रीय समितिको वेबसाइटमा कोइरालाको नाम पूर्वसहमहामन्त्री सुनिल थापापछि २५औं नम्बरमा छ । कोइरालालाई वरिष्ठ नेतासहितको दोस्रो स्थान दिने कि नदिने भनेर आन्तरिक तहमा बढिरहेको विवाद अहिले प्रदेश सम्मेलनहरूमा छताछुल्ल भएको हो । पूर्वउपसभापति प्रकाशमान सिंह पार्टीभित्रको संघर्ष र योगदानका आधारमा मात्रै वरिष्ठता निर्धारण हुनुपर्ने दाबी गर्छन ।

देउवा पछिको वरियतामा कसलाई राख्ने भन्ने विवादकै कारण शनिबार बागमती प्रदेशको सम्मेलनको उद्घाटन सत्रमा उपसभापति खड्का र नेता कोइराला दुवै अनुपस्थित भए । मधेश सम्मेलनमा कोइरालालाई वरिष्ठ नेता नभई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरिएपछि उनीनिकट स्थानीय नेताहरूले प्रदेश कार्यसमितिमा ‘नोट अफ डिसेन्ट’ नै लेखेका थिए । देउवापछिको वरीयतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन् । पार्टीका अन्य जिल्लामा भएका सम्मेलनहरूमा पनि कोइराला पुगेका कार्यक्रममा खड्का र खड्का पुगेका कार्यक्रममा कोइराला नजाने अवस्था सिर्जना भएको छ । पछिल्लो समय पार्टीको बैठक र औपचारिक छलफलबाहेकमा खड्का र कोइरालाको भेटघाट र संवादसमेत हुन छाडेको छ । नेतृत्व नै खराब भएपछि अरूले नटेर्ने विश्लेषण हुन थालेको छ ।

पार्टी विधानमा ‘वरिष्ठ’ नेताको व्यवस्था छैन । २०६४ मा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेस (प्रजातान्त्रिक) सँग एकीकरण गर्दा शेरबहादुर देउवालाई वरिष्ठ नेताको स्थान दिएका थिए । १२ औं महाधिवेशनबाट सभापति बनेका सुशील कोइरालाले आफ्नो प्रतिस्पर्धी देउवालाई विधानमा नभए पनि वरिष्ठ नेताकै हैसियत दिएका थिए । १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेललाई उसैगरी वरिष्ठ नेताको हैसियत दिइएको थियो । १४ औं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर देउवाका प्रतिस्पर्धी बनेका कोइरालालाई अघिल्ला परम्परा अनुसार नै वरिष्ठ नेताको हैसियत दिनुपर्ने आवाज संस्थापन इतरपक्षीय नेताहरूले उठाउँदै आएका छन् ।