Breaking

प्रचण्ड छोड्न कांग्रेसलाई एमालेको ‘गोल्डेन अफर’, राष्ट्रियसभा निर्वाचनले गठबन्धन भाँडिएला ?



काठमाडौँ – आगामी फागुन २० पछि रिक्त हुने राष्ट्रिय सभाका २० मध्ये १९ पदका लागि माघ ११ मा निर्वाचन हुँदैछ ।

जसको तयारीका लागि दलहरू अहिलेदेखि नै लागिपरेका छन् । एमालेविरुद्ध गठबन्धनको चुनाव जस्तो देखिएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनभित्रकै दलबीच र एमालेले नै पनि आफ्नो रणनीति बुनिरहेको छ ।

अहिलेकै सत्ता गठबन्धन यथास्थितिमा रहिरहेर मतभार झर्ने हो भने २० मध्ये १९ सिट गठबन्धनले लाने निश्चित छ । एमालेको भागमा रहेको ८ सिटलाई भागबन्डा गरेर अहिलेको गठबन्धन सबै हत्याउने दाउमा छ । एमालेलाई एक्ल्याएर उसको भागमा रहेको सिट बाँडफाँट गरी राष्ट्रियसभाबाट बाहिर निकाल्ने रणनीति गठबन्धनको छ भने गठबन्धनभित्रैका पार्टीबीच पनि आफ्नै स्वार्थको चलखेल भइरहेको छ ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस राष्ट्रियसभा अध्यक्षमा आफ्नै पार्टीको मान्छे राख्न चाहन्छ । माओवादीबाट प्रधानमन्त्री, एमालेको सभामुख र उपसभामुख पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुँदा माथिल्लो सदनमा आफ्नै नेतृत्व चाहेको संकेत गरिरहेको छ । जसका लागि कांग्रेसले अध्यक्षमा आफ्नो सिट सुरक्षित गर्ने उद्देश्यले कोशीबाट कृष्ण सिटौलालाई उम्मेदवारको रूपमा अघि सारिसकेको छ । सिटौला जत्तिको राजनीतिक नेतालाई अघि सारिसके पछि अन्य दललाई पनि ब्यालेन्समा ल्याउन सकिने र अध्यक्ष पनि हात पार्ने कांग्रेसको दाउ छ ।



प्रदेशदेखि मन्त्रिमण्डल हुँदै संसदीय समितिमा पनि त्याग गर्दै आइरहेको माओवादी केन्द्र, एमाले कमजोर देखिएको बेलामा गठबन्धनको साहारामा मौकाको फाइदा छोप्ने रणनीतिमा छ । सभामुख पनि आफ्नो पार्टीको नभएको र भएकै प्रधानमन्त्रीबाट पनि गठबन्धनको सम्झौता अनुसार अबको एक वर्षमा नै हात धुनु पर्ने परिस्थितिलाई बुझेर सधैँ त्याग गर्दै आएको माओवादी पनि अध्यक्ष उम्काउने दाउमा छ ।

राष्ट्रपति कांग्रेसलाई उपहार दिनु पर्दा एमालेसँगको सहयात्रा टुंग्याएको माओवादी असन्तुष्ट हुँदै प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा दिएका हरिबोल गजुरेललाई राष्ट्रियसभाको द्वार खोल्न चाहन्छ भने रामनारायण बिडारी, पम्फा भुसाल जस्ता नेता पनि लाइनमै छन् । तर, पार्टी महासचिवसमेत रहेका देवप्रसाद गुरूङ गत निर्वाचनमा हारेकालाई उम्मेदवार बनाउन हुत्र भन्ने पक्षमा छन् ।

प्रचण्डकै भाइसमेत इच्छुक देखिँदा एक सयभन्दा बढी आकांक्षीका साथै, निष्कृय भएकालाई सक्रिय बनाउने रूपमा समेत माओवादीले राष्ट्रिय सभाको निर्वाचनलाई लिएको छ ।

यता एमाले भने गठबन्धन फुटाउन हरसम्भव कोसिसमा छ । चार सिट कांग्रेसको खाली हुँदै गर्दा एमालेबाट रिक्त हुने आठ सिटमध्ये पाँचमा दावी गर्दा कांग्रेसले गठबन्धनभित्र नौ सिट पाउने सम्भावना छ । तर, एमालेले गठबन्धन तोड्न गठबन्धनबाट प्राप्त हुने सिटभन्दा आकर्षक र लाभदायक सम्झौताको प्रस्ताव गरेको छ ।

राष्ट्रपतिबाट मनोनीत हुनेसहित रिक्त २० राष्ट्रियसभा सिटमध्ये एमालेले सात सिट आफूले राखेर बाँकी १३ सिट कांग्रेसलाई लिन प्रस्ताव गरेको छ । एमालेको प्रस्ताव मान्दा कांग्रेसलाई कम्तीमा चार सिट फाइदा हुने छ । सके गठबन्धन फुटाउने नसके राप्रपा र जसपाको साथमा नै भए पनि गठबन्धनलाई टक्कर दिने रणनीतिमा एमाले छ ।

एकीकृत समाजवादीबाट दुई जनाको निर्वाचन हुँदै गर्दा थप दुई जनालाई राष्ट्रियसभामा भित्र्याउन खोज्दै छ । गंगालाल तुलाधर, सावित्री भुसालजस्ता नेताहरू लाइनमा देखिँदा समाजवादीले उपनिर्वाचनलाई पनि केन्द्रमा राखेको छ । समाजवादीले राष्ट्रिय सभाको अध्यक्ष दाबी नगर्ने तर इलाममा हुने उपनिर्वाचनमा गठबन्धनको साझा उम्मेदावरको रुपमा पार्टीका सम्मानित नेता झलनाथ खनाललाई अघि सारेर बागबन्डा मिलाउने एकीकृत समाजवादीको रणनीति छ ।

जनता समाजवादी पार्टी गठबन्धनसँग रुष्ट छ । त्यसैले एक सिटमा मात्रै निर्वाचन हुने जसपा आफ्नो फाइदा अनुसार जता पनि लच्किन सक्ने सम्भावना छ ।