Breaking

संकटलाई अवसरमा बदल्दै ओली, सत्तादेखि पार्टीभित्रै नयाँ समिकरण (भिडियोसहित)

सत्ता ढाल्दै एमाले


काठमाडौँ – संगठन सुदृढीकरण र नागरिकका समस्या सुन्ने भनिएको कार्यक्रमले आशातित प्रतिफल प्राप्त गर्न नसकेको एमाले अब के गर्छ भन्ने चासो व्याप्त छ ।

जोसँग पनि भिड्ने र भागमा आएको सत्तासमेत बचाउन नसकेको उसले गठबन्धनसमेत फुटाउन सकेको छैन । प्रतिपक्षमा पनि जबरजस्त बन्न नसकेको एमाले उल्टै सत्तारुढले गरेको काण्डकै मतियार भएको आरोप छ । मिसन ग्रासरुढको हालत उपनिर्वाचनमा देखिएपछि विरक्तिएको एमालेले अहिले सत्ता ताक्ने र संगठन सुदृढीकरण एकै साथ अघि बढाइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीकै कारण हातमा आएको सत्ता गुमाएको उसको छटपटाहट कम छैन । फलत : कहिले कोशीमा डा.शेखर कोइराला फकाउने त शेरबहादुर देउवा नै उचाल्ने बाटोमा एमाले थियो ।

देउवाको मौनताले यी दुवै प्रयास परिणाम शून्य भएपछि एमालेले यो बीचमा जबरजस्त प्रतिपक्षको भूमिकासमेत देखाउन सकेको छैन । बरू एमालेकै हठले गठन भएको छानविन समितिकै कारण सुन तस्करी प्रकरण फास्सफुस्स भएको छ । पछिल्लो समय उल्टै बालकृष्ण खाण धरौटीमा रिहा हुने विषयमा लक्ष्मी कोइरीको रिहाई साटेको आक्षेप खेप्दा जनताका मुद्दामासमेत एमाले मुखरित बन्न सकेको छैन ।

धर्मका विषयमा संस्कृति मन्त्रीले दिएको उत्तेजक अभिव्यक्तिप्रतिको मौनता होस् या एनसेलका विषयमा मुखमा लागेको बुझो, एमालेभन्दा प्रतिपक्षी त बरु कांग्रेसकै ईतर गुट देखिएको छ । यो बीचमा दुर्गा प्रसाईसँग जोरी खोजेर चर्चामा आउने रणनीतिमा सफल नभएको एमालेले मध्य पहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्रा सकाएको छ । त्यसको निष्कर्षसमेत आम रुपमा सबैमा जानकार भएकै कुरा ‘पहाडमा बसाइँसराई बढेको मै केन्द्रीत हुदाँ स्थानीयँंग अन्तरक्रिया भन्दा पनि आफैँले लगेकाहरुलाई होटेलमा राखेर मनको बह पोख्ने मोडेल पनि फ्लप भएको छ ।

यद्यपि कोशी प्रदेशको नामकरणपछि देखिएको विवादमाझ उक्त प्रदेशमा ठूला कार्यक्रम गर्न नसकेको उसले लामो समयपछि हालै पूर्वी पहाडमा आफ्नो उपस्थिति देखाएको छ । तर पहिचानवादीले गर्ने अवरोधलाई सरकारविरुद्ध प्रयोग गर्न सकिने एमालेको आशासमेत धुमिल भएको छ । बरु ओलीले हातपातको सामान गर्नुपर्दा आफ्नो पार्टी सत्तामा नभएकै कारण देशमा अराजकता बढेको भन्ने अभिव्यक्ति दोहोर्याउन भन्दामाथि एमाले नेताहरु उठ्न सकेनन् ।

बैतडीबाट मध्यपहाडी यात्रा आरम्भ गरेर पाँचथरसम्म पुगेपछि एमालेले आफ्नो जनाधार कमजोर नभएको दाबी गरेको छ । त्यस्तै व्यवस्था विरोधी र नयाँ भनिएकाहरुको आवाज खासै ठूलो नभएको निष्कर्ष यो यात्राले दिएको एमाले नेताहरुको भनाइ छ । तर आफू हिँड्दैमा र आफ्ना गाडी कुद्दैमा मध्यपहाडका समस्या समाधान नहुने उनीहरुको भनाइले एमालेको संकल्प यात्राबाट नागरिकले पाउन सक्ने फाइदाको यर्थाथता बाहिर आइसकेको छ । त्यस्तै ओली कै भाषण केन्द्रीत भएको यो अभियानले भ्यालुलेस भइसकेको ब्राण्ड बिकाउने नै बाटोमा एमाले देखियो । साथै मध्यपहाडमा एकमात्र कम्युनिस्ट पार्टी हुने एमालेको उद्घोषले भने ओलीले आफ्नो ईगोमा कही नपुगिने महसुस गरेकै हुन् त ? भन्ने प्रश्न उठेको छ । जसले एमालेको आगामी यात्राको एक कोणको सतही संकेत गरेको छ भने उसले बहसमा ल्याएको मध्यावधि निर्वाचनको विषय उसैका लागि समेत घातक छ । यही बीचमा हार्ने निश्चित भएकै कारण राष्ट्रिय सभा उम्मेद्वारबारे छलफलसमेत गर्न एमालेले जाँगर चलाएको छैन ।

हुन त यो बिचमा मध्यपहाडी जस्तै हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्न जनताको माग आएको एमाले नेताहरुले दाबी गरेका छन् । जसबारे पुस ८ गते हुने विशेष सम्मेलनमार्फत केही घोषणा हुन सक्ने चर्चा छ । जुन एमालेको नियमित कार्यक्रमभन्दा माथिको कार्यक्रम नहुदाँ सत्ता नेतृत्वको पालो परिवर्तनसम्म कम्तिमा एमालेले पर्खिनै पर्ने छ । प्रचण्डको अस्थिर चरित्र र त्यतिबेला उत्पन्न हुन सक्ने रापतापले केही परिर्वनको आशा गर्न सकिए पनि यही अवस्थामा गठबन्धन अघि बढे भने एमाले पाँचै वर्ष प्रतिपक्षमै नथन्किएला भन्न सकिँदैन ।