Breaking

के राजीनामा दिन्छन् मन्त्री किराती ? बोली र व्यवहार चिप्लिदा कसको हालत कस्तो ?


काठमाडौ – के बोल्ने ? कहाँ बोल्ने ? कसरी प्रस्तुत हुने जानकारी नहुदाँ तथा कस्तो व्यवहार गर्ने भन्ने थाहा नपाएर आलोचनाको सिकार हुनेको सूची लामै छ । जसबाट उठ्ने नैतिकताको प्रश्नले राजीनामासम्मको अवस्थासमेत कतिले भोगेका छन् । त्यस्तै यस्ता उत्तेजक अभिव्यक्तिले समाजको निश्चित वर्गमा आघात पुग्ने तथा स्वयम वक्तालाई असर गर्ने धेरै घटना छन् । यस्ता थुप्रै घटनाहरुका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धार्मिक द्वन्द्वको बिउ रोप्ने स्तरकै अभिव्यक्ति दिँदा विवादमा तानिएका छन् ।

देशमा यसैपनि धार्मिक द्वन्द्वको खतरा बढिरहेका बेला क्रिश्चियनलाई नमाने हत्कडी लगाएर जेल हाल्ने उत्तेजक भाषण गरेका संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती अहिले चौतर्फी आलोचना खेपिरहेका छन् । काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराती प्रमुख अतिथि बनेर प्रमुख प्रचारकका रूपमा प्रस्तुत भएका हुन् । सम्बोधनका क्रममा उनले प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने दाबी गरे ।

यति मात्र होइन प्रचण्डलाई नै जिसससँग तुलना गर्न भ्याएका उनको अभिव्यक्तिमा मन्त्रीभन्दा पाष्टर बढी झल्किन्थ्यो । जसले धर्मलाई राजनीति बनाउने बाटोमा माओवादी अग्रसर भएको प्रष्ट हुँदा किरातीको अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक र गैरजिम्मेवार भएको भन्दै राजीनामासमेत माग्न सुरु भएको छ । अर्थात पद अनुसारको बोली र व्यवहार नहुदाँ विवादमा परेका उच्च पदस्थहरुको सूचीमा किराती पनि थपिएका छन् । यसअघि नै पनि मन्त्री हेरफेरको सूचीमा परेकै कारण प्रचण्डको गुलामी गर्न थालेको बताएका उनी अहिले भने बोलीकै कारण त्यही बाटोतर्फ अग्रसर भएका छन् ।
अभिव्यक्ति र व्यवहार कै कारण विवादमा परेका पात्र किरातीमात्रै एक्ला भने होइनन् । यसअघि अडियो काण्डकै कारण तत्कालीन सन्चारमन्त्री गोकुल बास्कोटाले मन्त्री पदबाटै हात धुनु परेको थियो । त्यस्तै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ पनि जिव्रो चिप्लिँदा मन्त्री पद त्याग्नु परेको थियो । यस्तै तत्कालीन रक्षामन्त्री तथा हालका श्रममन्त्री शरदसिंह भण्डारीले पनि त्यही नियति भोगेका थिए । गालीगलौचसहितको अडियो बाहिरिएपछि तत्कालीन पर्यटनमन्त्री प्रेम आले विवादित बनेका थिए । केहि बर्ष अघि कृषीमन्त्री हरि पराजुली पनि यस्तै हर्कतका कारण मन्त्री पदबाट बाहिरिएका थिए । बलात्कारको मुद्दा भोगेर जेल यात्रा गरेका तथा अडियो प्रकरणले विवादमा फसेकाको सूची लामै छ ।

जसलाई राजनीतिक विश्लेषकहरु व्यक्तिगत जीवन र सामाजिक जीवनको फरक बुझ्न नसक्नेहरु उच्च ओहोदामा पुग्दाको परिणामको रुपमा अथ्र्याउछन् । अर्कातर्फ मानवीय आचरण विगतको पृष्ठभूमीले पनि निर्धारण गर्ने भएकाले यसलाई अस्वभाविक मान्न नसकिने विश्लेषकहरु बताउँछन् । तर आफूले बोल्दा पार्ने प्रभाव र हैषियतका विषयमा जानकार नरहने तर निर्लज्ज उत्तर दिएर पन्छिनेहरुले नेतृत्व गर्ने आचरण नैतिकताले भरिपूर्ण हुनुपर्ने राजनीतिक सिद्धान्तलाई नै गिज्याईरहेको छ ।

नेपाली समाजमा यसैपनि धार्मिक र साम्प्रदायिक द्धन्द्धको विजारोपण भइसकेको चर्चा छ । जसलाई सरकारी तवरबाटै सम्बोधन र राज्यको उपस्थिति प्रमाणित गर्न खोज्दा यसले खतरा निम्त्याउने चिन्ता बढ्दो छ । जसको सुरुवात राजनीतिका लागि जे पनि बोल्दिने तथा आश्वास दिने माओवादी नेताहरुबाटै भएको आरोप लाग्दै आएको छ । फलत ः विगतमा नेताहरुको चिप्लिएको बोली भन्दा किरातीको बोली बढी नै संवेदनशील छ । यसलाई बुझेर मन्त्री स्वयम वा माओवादीले नै बेलैमा उचित निर्णय लिनु पर्ने बेला भइसकेको छ । साथै बोली चिप्लिएरै नेतृत्वमा बसेकालाई छुट दिन नसकिने नजिरलाई पनि स्थापित गराउन सक्नु पर्नेछ ।