Breaking

फुटबल खेल्ने रंगशालामा विश्वविद्यालयको विश्व रेकर्ड, आफैँ थला परेको त्रिवि, न समयमा परीक्षा, न नतिजा


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा विभिन्न संकाय र तहमा उपाधि प्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट विद्यार्थीहरू दीक्षित भएका हुन् । जसमा स्नातक तहतर्फ आठ हजार ९८, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भए ।
यो भिड देशले गर्व गर्न लायक युवा शिक्षित जनशक्तिको हो । किनभने एकैदिन सर्वाधिक १२ हजार विद्यार्थीको भौतिक उपस्थितिमार्फत दीक्षान्त समारोह गरेर त्रिविले विश्वकीर्तिमान बनाएको छ । तर यो भिडलाई शिक्षित बेरोजगारका रुपमा चरितार्थ गर्न थालिएको छ । वा सबैभन्दा बढी बेरोजगार उत्पादन गर्ने रेकर्डका लागि पनि नेपालले आवेदन दिनुपर्ने भन्दै देशको शिक्षा नीतिको यथार्थ चित्रसमेत पस्किन थालिएको छ ।

त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा दीक्षित हुने १२ हजार चार सय १५ विद्यार्थी सोमबार निकै हर्षित थिए । यो कीर्तिमानी अझै ठूलो संख्यामा रहन सक्थ्यो । किनभने दीक्षित हुन ७३ हजार विद्यार्थी योग्य थिए । तर अव्यवहारिक शिक्षाबाट ग्राजुएट गरेका विद्यार्थीलाई प्रधानमन्त्रीका हातबाट कालो टोपी लगाउन खासै मन लागेन ।



सोमबार दीक्षित हुँदाको खुशी केही दिनपछि नै विद्यार्थीहरुमा रहने छैन । किनभने नेपालका विद्यालय तथा विश्वविद्यालयहरुले प्राविधिक र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको जनशक्ति उत्पादन गर्न नसकिरहेको आरोप लाग्दै आएको छ । उत्तीर्ण विद्यार्थीलाई अब भविश्यको चिन्ता छ । सरकारलाई यो जनशक्तिलाई रोजगारीसहित स्वदेशमै टिकाउने चुनौती छ । विश्वविद्यालयमा विद्यार्थी दिनदिनै घटिरहेका छन् ।

विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ । राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र बन्दै गएपछि देशकै जेठो त्रिभुवन विश्वविद्यालयको साख खस्किदो छ । यो सबै बिषयमा सरकारका नेतृत्वकर्ताहरु जानकार पनि छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले पनि राजनीतिक भागबण्डाको दाउपेचमा अल्झिनेहरूको चपेटामा त्रिभुवन विश्वविद्यालय परेको स्वीकारेका छन् । आफ्नो मन्त्रिमण्डलका शिक्षामन्त्रीलाई गर्नु पर्ने प्रश्न उनले सभामा गरे । विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौं ? उनको प्रश्न थियो । प्रचण्डले विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर्दै मेरिटको आधारमा उपकुलपतिलगायतका पदाधिकारी नियुक्ति गर्ने घोषणा गरे ।

विगतमा शिक्षक नै रहेका प्रचण्ड अहिले देशको प्रधानमन्त्री छन् । तर पनि शिक्षामा तात्विक सुधारका काम भएका छैनन् । हुँदाहुँदा त्रिवि आफ्नै ५ सय २५ रोपनी जग्गा जोगाउन पनि नसक्ने अवस्थामा पुगेको छ । सबै सरकारी निकायको आँखा लागेका ती जग्गा एक दर्जनभन्दा बढी निकायले भोगचलन गरिरहेका छन् । चार वर्षे कोर्ष सक्नका लागि एक विद्यार्थीले ६ वर्षसम्म कुर्नु पर्ने अवस्था छ । समयमा परीक्षा हुँदैन परीक्षा भईहाले नतिजा प्रकाशन गर्नै १/२ वर्ष लाग्छ । थेसिस चोर्ने भीसीदेखि प्राध्यापक कुट्ने र गुण्डागर्दी गर्ने विद्यार्थी राजनीतिको चेपुवामा परेको त्रिवि शिक्षाका लागि उपयुक्त ठाउँ नै नभएको आलोचना पनि हुन थालेको छ ।

शिक्षा नीतिमा व्यापक परिवर्तन र राजनीतिबाट टाढा राख्न नसके विश्वविद्यालयहरु नै बन्द गर्नुपर्ने अवस्थामा पुग्दैछन् । पछिल्लो समय सेमेस्टर प्रणालीले पनि धेरै विद्यार्थीहरु पलायन हुँदैछन् । पढाईसँगै जागिर गरेर जीवन चलाउन चाहनेहरु मर्कामा छन् । यस्तै समय सापेक्ष पाठ्यक्रममा परिमार्जन नहुनुले पनि विद्यार्थीको आकर्षण घट्दो छ । त्यसमाथि अनावश्यक अवधी बढाईंदा बिचैमा पढाई छाड्नेहरु बढ्दैछन् । वैदेशिक शिक्षा र रोजगारीका कारण पनि पढाईप्रतिको आकर्षण घट्दो छ । विदेश गएर गुणस्तरीय जीवनशैली जिउन सकिने तर नेपालमा सरकारी जागिर नै गरेपनि समस्या हुने कारण वैदेशिक रोजगारीमा आकर्षण बढ्दो छ । हाम्रा विश्वविद्यालयहरुले दिने शिक्षा नै प्राविधिक र समयसापेक्ष छैन ।

कसैले पढिहाले नेपालमा केही गर्ने वातावरण छैन भन्ने गुनासो धेरै सुनिन थालेको छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैन । त्यसकारण कुन वर्ष कति विद्यार्थी दीक्षित भए वा रेकर्ड राख्यौँ भन्दापनि दीक्षित भएका कति विद्यार्थीले देशमै वा विदेशी बजारमा बिक्न सके त्यसको मूल्यांकन गर्दै समग्र शिक्षा प्रणाली परिमार्जन गर्नु आजको आवश्यकता हो ।