Breaking

मेलम्ची खोज्दै रित्तो गाग्री सडकमा, सरकार भन्छ– तीन वर्ष आस नगरे भो (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ तर अहिले १२ देखि १४ करोड लिटर मात्र पानी आपुर्ति भइरहेको छ ।

अहिले दैनिक वितरण हुने १२ देखि १४ करोड लिटर पानी घरघरमा पुगे पनि सुक्खा वा हिउँदमा त्यो मात्रा घटेर ९ देखि १० करोड लिटरमा झर्ने गर्छ । तर, मेलम्चीको पानी ल्याएर माग पूर्ति गर्ने सरकारको योजना सफल नहुँदा राजधानीबासीको प्यास मेटाउन सकेको छैन ।

सोमबार मध्याह्न काठमाडौंबासी रित्तो गाग्री, बाल्टिन, टुम्लेट, बोटल जस्ता पानी राख्ने भाडो लिएर सडकमा उत्रिए । दैनिक जीवनका लागि आवश्यक पिउने पानीको समस्याबाट वाक्क भएका उनीहरू उपत्यका संघर्ष समितिको नेतृत्वमा कोटेश्वर हुँदै तीनकुनेको एक फन्को लगाएर सांकेतिक तवरले मेलम्चीको पानी आफ्नो घरको धारामा झार्दिन भन्दै सरकारको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलनमा उत्रिए । तर, पानी खान नपाएर ब्याकुल राजधानीबासीलाई प्रहरीले हस्तक्षेप गर्दा कोणसभा गर्दै टुंग्याउने भनिएको कार्यक्रम बिचैमा स्थगित हुन पुग्यो ।

प्रहरीको हस्तक्षेपले पानी माग्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी तितरबितर हुनुपर्‍यो । काकाकुल भएका राजधानीबासी सरकारले आफ्नो लाज ढाक्न गरेको हरकतले आक्रोशित भएका छन् । सरकार कमिसनको चक्करमा लाग्दा आफूहरूलाई सामान्य पानी खुवाउने मागलाई पनि सम्बोधन गर्नुको सट्टा आहत दिन उद्दत रहेको काठमाडौबासीको आरोप छ । दशकौंदेखि निधाएर बसेको सरकारको आखाँ खोल्न उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।


मेलम्चीप्रतिको रूची सरकारको घटेको पनि छैन । पुस एक गते मात्रै सभामुख देवराज घिमिरे स्थलगत निरीक्षण गर्न मेलम्ची नै पुगे । त्यसको दुई साता अघि अर्थात् मंसिर १५ गते तालुकदार मन्त्रालयका खानेपानी मन्त्री महेन्द्रराय यादव लौरोको साहारामै भए पनि बाढीले क्षतिग्रस्त भएको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि पुगेका थिए ।

मेलम्ची आयोजनास्थलको हेडवक्र्स अम्बाथान क्षेत्रमा दुई दिन बिताएका मन्त्री यादवको यात्रा तीर्थाटनभन्दा बढी उपलब्धि हुन सकेन । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल नै मेलम्चीको अवलोकन गर्न पुगिसकेका छन् । तर, समस्या समाधान तर्फ भने खास्सै चासो गएको देखिँदैन । न त आशातित प्रगति नै देखिएको छ ।

नेताको भोट माग्ने अस्त्र मात्रै बनेको मेलम्चीको पानी उपत्यकाबासीको घरको धारामा झार्ने आश्वासन पाएको तीस वर्ष बितिसक्यो । त्यही मेलम्चीको पानी छिटो उपलब्ध गराउनु पर्ने एक सूत्रे माग उपत्यका संघर्ष समितिको छ । तर, खानीपानी मन्त्रालयका सचिवदेखि मन्त्री र अर्थमन्त्रीसम्म नै डिलिगेसन जाँदा पनि आश्वासन भन्दा अरु केही नपाएका उनीहरू सरकारको अनुदारताले नै मेलम्चीको पानी आउन नसकेको बताउँछन् ।

मेलम्चीको पानी पहिलो पटक २०७७ चैत १५ मा राजधानीबासीका धारामा खसालिएको थियो । तर, २०७८ आएको बाढीका कारण आयोजनाको हेडवक्र्स नै पुरिएपछि असार एक गतेबाट पानी वितरण बन्द भयो । त्यसको छ महिनापछि पुस ३० गते अस्थायी रुपमा पानी सञ्चालन गर्ने विषय साविककै निर्माण कम्पनी सिनो हाइड्रोलाई दिने निर्णय भएको थियो ।

सिनोले हेडवक्र्स सफाइको काम थालेपछि त्यही सालको चैत्र २९ मा सुरुङ्गमा पानी पठाइएको थियो । फेरि मनसुन सक्रिय भएपछि २०७९ जेठ १८ देखि बन्द गरियो । छ महिनापछि मंसिर १८ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिएको थियो । सात महिना चलेको वितरण पुनः वर्षायामको जोखिमलाई मध्यनजर गर्दै २०८० असार ८ गते बन्द गरिएको थियो । तर, फेरि साउन २८ र २९ मा आएको बाढीले हेडवक्र्स पुरिँदा वितरण अहिलेसम्म पनि ठप्प छ ।

मेलम्चीको पानी काठमाडौं उपत्यकाको प्रणालीमा पठाउने काम वर्षा सकिएको चार महिना भइसक्यो तर, सफाइ गर्ने काम अझै सुरु हुन सकेको छैन । प्रत्येक वर्षायाममा बाढीका कारण जोखिम हुने हेडवक्र्स केही प्रावधिक र केही नीतिगत समस्याका कारण यथास्थितिमै छ । मेलम्चीको पानी चाहियो भनेर काठमाडौँमा राजधानीबासीले जति नै सडक तताए पनि अस्थायी रूपमा हिउँदमा पानी आउने सम्भावना रहे पनि नियमित रूपमा आउन अझै तीन चार वर्ष कुर्नु पर्ने अवस्था छ ।

मेलम्चीको पानी उपत्यकाबासीलाई पिउन दिने कुरा चलेको तीन दशक र काम सञ्चालन भएको दुई दशक बितिसक्दा पनि उपत्यकाबासीले निर्धक्क भएर अझै मेलम्चीको पानी पिउन पाएका छैनन् । ६० अर्बभन्दा बढी रकम राज्यकोषबाट रित्तिसक्दा पनि उपत्यकाबासीको गाग्री, बाल्टिन अझै पनि रित्तै छन् ।

जनताको समस्या समाधान गर्नकै लागि नीति बनाउने ठाउँ संसद्मा नेतालाई पठाइएको छ । तर, उनीहरूलाई नीति बनाउनु भन्दा पनि पार्टी निकटस्थ संघ संगठन र व्यापारीको समुद्घाट कार्यक्रममा सहभागी हुँदैमा फुर्सद मिलेको छैन । अस्थायी रुपमा भएपनि केही समय मेलम्चीको पानीको स्वाद चाखेका काठमाडौंबासीको प्यास पूर्ण रुपमा कहिले मेटिन्छ भन्ने चाहिँ अनिश्चित नै छ ।