Breaking

बिसौलीको जिब्रो चलाउनु भन्दा धार्नीको मुन्टो हल्लाउने रणनीतिमा देउवा (भिडियोसहित)

बोलेरमात्रै गगनलाई के फाइदा ?


काठमाडौँ – संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आन्तरिक विवादको भुमरीमा फसेको छ । सभापति शेरबहादुर देउवाको आलोचना विपक्ष दलका नेताभन्दा कांग्रेसकै नेताले बढी गर्छन । पार्टीदेखि सत्ता संचालनसम्मको विषयमा कांग्रेस नेताहरू पक्ष–विपक्षमा विभाजित छन् । आन्तरिक शक्ति संघर्ष सतहमै स्पष्ट देख्न सकिन्छ ।

संसदो सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्र्टीभित्रको आन्तरिक विवादमा चुलुम्र्म डुबेको छ । कांग्रेसभित्रको विवाद सत्तापक्ष र प्रतिपक्षको भन्दा कम छैन । बाहिरै देखिने गरी कांग्रेस नेताहरू पक्ष–विपक्षमा विभाजित छन् । हुन त कांग्रेसभित्रको आन्तरिक राजनीतिको विवाद नौलो भने होइन । कुनै समय हालका सभापति शेरबहादुर देउवा र तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच तिक्ततापूर्ण अवस्थाले पार्टी नै विभाजित भएको थियो । एकले अर्कालाई स्वीकार्ने अवस्था नै थिएन ।

पार्टी नेतृत्वसँग मुकाबिला गरेरै देउवा कांग्रेसमा स्थापित भएका थिए । अहिले पनि कांग्रेस नेताहरूले त्यही शिक्षा लिएको विश्लेषण हुने गरेको छ । डा. शेखर कोइराला–गगन थापा पक्ष संस्थापनविरुद्ध खरो रुपमा उत्रिएको पनि यही कारण हुन सक्छ । विवाद र पार्टीभित्र द्वन्द गरेर नै आफू नेतृत्वमा पुगेका कारण पनि अहिले देउवासँग द्वन्द गर्नेहरूको कमी छैन । तर, जति नै दबाब आएपछि देउवाले सहजै पचाउने गरेका छन् । कांग्रेसमा हिजो गिरिजाप्रसाद कोइरालाले जे चाहन्थे, त्यही हुन्थ्यो । आज देउवाले जे चाहन्छन् त्यही हुन्छ । कोइराला–थापा पक्षले निर्णयमा हस्तक्षेप गर्न सकेको छैन । देउवाकै कारण पार्टी गतिशील हुन नसकेको आरोप संस्थापन पक्ष मान्न तयार छैन ।

नेपालीमा एउटा भनाइ छ बिसौलीको जिब्रो चलाउनु भन्दा धार्नीको मुन्टो हलाउनु बेस । कांग्रेस सभापति देउवाले यही नीति लिएको देखिन्छ । देउवा थोरै बोल्छन, व्यवहारबाटै विपक्षको भनाइ खण्डन गर्छन । पार्टीको बैठकमा मात्र नभएर हरेक सार्वजनिक कार्यक्रममा पार्टी नेतृत्व परिवर्तन गरे मात्र कांग्रेस परिवर्तन हुने र कांग्रेस परिवर्तन भए मात्र देश परिवर्तन हुने दाबी गरिरहे पनि देउवाले यी सब कुरालाई साइड लगाइरहेका छन् । कांग्रेसको महासमिति बैठकबाट नयाँ सन्देश आउने र महाधिवेशनबाट नयाँ उर्जाका साथ नयाँ नेतृत्व आउने दाबी नेताहरू गर्छन ।

कोइराला–थापा पक्ष महासमिति बैठक निर्धारित समयमै गर्ने मात्र होइन, संसदीय दलको नेता नै परिवर्तन गर्न चाहन्थ्यो । तर, संसदीय राजनीतिमा देउवा निकै अगाडि छन् । दलको नेता परिवर्तन त परैको कुरा भयो, देउवाले महासमिति बैठकसमेत पर धकेलिदिए । देउवाले नचाहेसम्म सरकार परिवर्तनको पनि सम्भावना नरहेको विश्लेषकहरू दाबी गर्छन ।

सभापति र संसदीय दलका नेता परिवर्तन गर्ने भाषणलाई कांग्रेसीले गुटगत रुपमा बुझेको देखिन्छ । कांग्रेसमा गुटगत राजनीति झांगिदै गएको छ । कोइराला–थापा पक्षले गुटको भेला गरेर सभापति देउवा गुटको नेता बनेको आरोप लगाएका छन् । कांग्रेस गुट र उपगुटबाट कहिले माथि उठ्छ भन्ने प्रश्न कांग्रेसीहरूले गर्न थालेका छन् । नेताहरू भने शक्तिका लागि गुट राजनीतिमा मस्त छन् ।