Breaking

महतो–ठाकुर भिडन्तले लोसपा फुटको डिलमा, वार्गेनिङ मिलाँउदै उपेन्द्र (भिडियोसहित)

मधेसवादी दल भिडेरै सकिदै


काठमाडौँ – संसदीय राजनीतिमा माहिर भएकै कारण मधेसवादी दलहरुको खराब हालतका बिच पनि जसपा सत्तामै छ । त्यही भूमिको राजनीति गरेको जनमत र नागरिक उन्मुक्ति पनि अहिले सत्तामै रहँदा लोसपा भिडन्तमै सकिने बाटोमा छ ।

यद्यपि, कुनै बेला संघीयताको आधार भूमि रहेको यो क्षेत्रबाट राजनीति गर्ने सबै दल अहिले भाग माग्नु पर्ने अवस्थामा पुगेका छन् ।

मधेश आन्दोलनपछि २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा चुनावबाट सुरू भएको मधेशवादी शक्तिहरूको ओरालो यात्रा अझै रोकिएको छैन । यो आन्दोलन संघीयताको आधार बन्दा प्रदेशको शसक्त उपस्थिती समेत मधेश प्रदेशले देखाँउदै आएको थियो ।

त्यस्तै पहिचानको हिसावले समेत सिङ्गो मधेश नभए पनि तत्कालीन प्रदेश दुईलाई मधेश नामकरण गराउन मधेशवादी दलहरु सफल नै भए । तर, अहिले मधेशमा बरु पुरानै राजनीतिक दलहरूको पुनरागमन भएको छ भने नयाँ शक्तिको उदय पनि जबरजस्त छ । मधेश केन्द्रित भनिएका दल जनता समाजवादीले बार्गेनिङ कायम राखेर केहि हिस्सा लिए पनि लोकतान्त्रिक समाजवादी पार्टी भिडेर नै सकिने अवस्थामा छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतो भिडन्तले लोसपा फुटकै अवस्थामा पुग्दा महतोले त लोसपासंग कुनै एजेण्डा नै नभएको निष्कर्ष नै निकाली सकेका छन् । लोसपाबाट प्रतिनिधिसभामा हाल रहेका चार जना सदस्यको कार्यकाल नै सकिएपछि अर्थात आउँदो चुनाव २०८४ पछि लोसपा पार्टी नै सिद्धिने महतोले निचोड नै निकालेका छन् । त्यहि क्षेत्रमा उदाएर जनमत पार्टीले सत्तामा रहँदा मधेशकै क्षेत्र तर अहिले लुम्बिनी प्रदेशको हिस्सा बनेको ठाँउबाट जनमुक्ति पार्टी पनि सत्तामै छ ।

तर लोसपाले त्यो समेत प्राप्त गर्न सकेको छैन भने उपेन्द्र यादवले यही गठबन्धनको बलमा उपचुनाव लडेर संसद यात्रा गरे । यता सवै जसो सत्तामा पुग्ने गरेका उपेन्द्र यादव अहिले फेरि सरकार मै बसेर सरकारकै विरोध गरिहेका छन् । दोस्रो पटक भिडेर चुनाव जित्न र मन्त्रालयमा भाग पाउने यही गठबन्धन कै कारण सत्तामा पुगेका हुन् भने उनी पनि अहिले एजेण्डाविहीन छन् । यहि कारण आउँदो राष्ट्रिय सभा चुनावलाई केन्द्रीत गरेर सरकारका काममा विरोध गर्न थालेका उनी सुझावका नाममा आफ्नो पनि उपस्थिति खोजिरहेका छन् ।

जसपा सत्तामा रहे पनि मधेशका मुख्यमन्त्री विभिन्न माग राखेर केन्द्रसँग भिडिरहेका छन् । अध्यक्ष उपेन्द्र यादव त संविधान पुनर्लेखन नै गर्नुपर्ने माग गरेका नेतासमेत हुन् । संविधान जारी भएपछिका सबैजसो सरकारमा उनी नेतृत्वको दल सरकारमा छ । तर त्यही आफ्नो एजेण्डा बिर्सिएका उनी अहिले अन्तिम सत्ता यात्रामै त हैनन् भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।

जसले उनमा पनि खटपटि बढेको पक्का हुदाँ कतिपयले मधेसवादी दलहरु पनि एजेण्डा सिफ्टमा कमजोर सावित भएकै रुपमा यसलाई हेर्दै आएका छन् । तर राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तान भने मधेश आन्दोलनको प्रवृत्तिमाथि नै प्रश्न गर्छन् ।

नेपाल राष्ट्रहरुको राज्य भएको बताउने उनी यसको सिद्धान्त टेकेर अघि नबढेकै कारण पहिचानवादी र मधेश आन्दोलनको यो हालत भएको उनको तर्क छ । फलत : यो आन्दोलनलाई नै आवेगको आन्दोलन भन्न रुचाउने उनी अहिले परिणाम विहीनताको अवस्था मधेशले भोगिरहेको बताउँछन् । अर्थात क्षेत्रीयताको मुद्दा बोकेर आन्दोलन गरेका मधेशवादी दलहरुले त्यही क्षेत्रका सबैलाई समेट्न मोडल तयार गर्न नसकेको हालतको परिणाम व्यहोरिरहेको उनको विश्लेषण छ ।

हुन पनि अहिले मधेसवादी दल एजेण्डाविहीनताकै अवस्थामा छन् । एकातर्फ आफ्ना एजेण्डा स्थापित भइसकेको भन्दै उनीहरुले गर्व गर्दा अर्कातर्फ त्यो क्षेत्रका मानिसको जीवनस्तरमा सुधार आएको छैन । जसले यी दलहरुको सपना र एजेण्डामै आम मधेशका नागरिकको विश्वास घट्दो छ । फलत : अवस्था परिवर्तनको बहस गर्ने केही पार्टीलेहरुले उभार ल्याउँदा पहिचान र अधिकारका लागि लडेको दाबी गरेकाहरुको अस्थित्व संकटमा छ ।