Breaking

नेतादेखि प्रहरीसम्मै मानवमा तस्कर संलग्न, यसरी फस्दै छन् भिजिट भिसामा (भिडियोसहित)

३२ जना प्रहरीको फन्दामा


काठमाडौँ – मानव र सुन तस्करीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चर्चामा छ । कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेझै आजभोलि विमानस्थलमा जात्रा देखिन थालेको छ । जसका कारण सरकारी संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ भने नेपालको अन्तर्राष्ट्रिय स्तरमै बेइजजती भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनदेखि नुनसम्म तस्करी हुँदै आएको छ । निर्जिव बस्तु मात्रै होइन, मानव तस्करी पनि भइरहेको छ । विमानस्थलमा सेटिङ अचम्मको छ, सर्वसाधारणले थप एक थान मोवाइल पनि ल्याउन सक्दैनन् । तर, तस्कर समूहले क्विटल सुनदेखि मानवसम्म सहजै ओहोरदोहोर गराउन सक्छ । मानव तस्करहरूको चिप्ला कुरामा सोझासिधा नेपालीहरू विदेशको सपना देख्छन ।

नक्कली कागजातमा लाखौँ खर्च गरेर विदेश जान तयार हुन्छन । तर, उनीहरूले ठगिएको महसुस धेरै पछि मात्रै गर्छन । जब, दलदलबाट उम्कनै नसकिने स्थिति आउँछ । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेपछि नयाँ तथ्य बाहिर आएको छ । गिरोहमा ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी नै संलग्न रहेको पाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्स्का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् । धन देखेपछि महादेवका पनि त्रिनेत्र भनेजस्तै पैसा देखेपछि आफ्नो जिम्मेवारी भुलेर मानव तस्करीमा संलग्न छन् केही सरकारी कर्मचारी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृत नरवीर खड्का र वायुसेवामा कार्यरत अधिकृत अरविन्द यादव र होम पोखरेलले सरकारी कर्मचारीकै बेइज्जत गरेका छन् ।

विदेश भनेपछि सबथोक त्यागेर दौडिन खोज्ने नेपालीहरूलाई तस्करहरुले सुन्दर भविष्यको अधुरो सपना देखाएर युद्ध भूमिमा समेत पु¥याएको तथ्य खुलेको छ । देशमा रोजगारी सिर्जना गर्नुपर्ने र गैरकानुनी कार्य गर्नेहरूलाई कानुनी कठघरामा ल्याउनुको सट्टो देशको कार्यभार सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशमा केही छैन विदेश जानुपर्छ भन्ने भाष्य निर्माण हुँदा नेपाली युवाहरू विदेश गएर हन्डर खाइरहेको टिप्पणी गर्छन ।

प्रहरीले मानव तस्करमा संगठित गिरोहहरु मध्ये ९ जनामाथि संगठित अपराधको कसुरमा र १२ जनामाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । ८ जना धरौटीमा छुटिसकेका छन् भने प्रहरीले बिहीबार थप ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रूपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीले नयाँको हकमा ५५ हजार र पहिला विदेश पुगेर फर्किएकाबाट ४० हजार रूपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

मानवतस्कर समूहले प्रहरी रिपोर्ट, श्रमस्वीकृति, प्लस टुको प्रमाणपत्र, नाता प्रमाणित लगायतका कागजात नक्कली बनाएर विदेश पठाउने गरेको पाइएको छ । देश र जनताको मुहर फेर्छु भन्दै भाषण गर्ने नेताहरू नै नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलको चिसो कोठामा छिरेपछि राज्य र सत्ता सञ्चालन गर्नेमाथि नै प्रश्न खडा हुँदै आएको छ । अहिले पुनः मानव तस्करीमा अध्यगमन र नेपाल प्रहरीका कर्मचारी नै संलग्न भएपछि देशको अवस्था कस्तो छ भन्ने छर्लंग भएको छ । लोकतन्त्र हो कि लुटतन्त्र भन्ने गम्भीर प्रश्न खडा भएको छ ।