Breaking

भेटियो १०० किलो सुन : भरिया जेलमा, नाइके फरार (भिडियोसहित)

सुनको नाइके खोई ?


काठमाडौँ – प्रहरीले संगठित रूपमा हुने सुन तस्करीको अनुसन्धान जारी राखे पनि नेपालमा अवैध तवरबाट सुन भित्रने क्रम रोकिएको छैन । बरू तस्करहरू सरकारभन्दा एक कदम अघि देखिएका छन् ।

सरकारले सुन तस्करका मालिकभन्दा पनि भरिया पक्रेर नै उपलब्धिको हौवा पिटिरहेका बेला यही मौकामा राजधानी जोड्ने नाका र अन्तरर्राष्ट्रिय विमानस्थलबाट धमाधम तस्करीको सुन भित्रिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले तीन दिनको अन्तरालमा साढे २० किलो सुन बरामद गरेको छ । गत बिहीबार राति ११ ः ४० मा फ्लाई दुबईको उडान नम्बर एफ जेट ५७३ विमानबाट काठमाडौं आएका गोरखाका चन्द्र घलेलाई १४ किलो अवैध सुनसहित पक्राउ गरेको भन्सार कार्यालयले शनिबार राति पनि फ्लाई दुबईकै विमानबाट साढे छ किलो सुनसहित ईजिप्सियन नागरिक सरिफ मोहमद लासिमलाई पक्राउ गरेको हो ।

अचम्मको कुरो ज्याकेटभित्र एउटा कपडामा बनाइएका खल्तीमा लुकाईएर ल्याएको दुवैजनाको तस्करी गर्ने शैली एउटै थियो । यसअघि शुक्रबार पनि राजधानी जोड्ने काठमाडौँ नाकाबाट दुई किलो सुनसहित रसुवाबाट आएका तीनजना नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने आईतबार थप एक चिनियाँलाई हिरासतमा लिएको छ ।

गत साउनमा हङकङबाट मोटरसाईकलमा प्रयोग हुने ब्रेक शुमा जडान गरेर ल्याइएको ६१ किलो अवैध सुन प्रकरण सेलाउन नपाउँदै फेरि तस्करहरुले नेपाललाई सुनको ट्रान्जिट बनाउन थालेका छन् । यसअघि पनि असोज महिनामा दोलखा र रसुवाबाट १४ किलो अवैध सुन बरामद गर्दा फ्लाई दुबईबाटै त्रिभुवन विमानस्थल झरेकी फिलिस्पिनकी महिलालाई २।७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । त्यसबाहेक प्रहरीबाट फुत्किएको सुन कति होला त्यसको कुनै लेखा जोखा छैन । यसरी यो आर्थिक वर्षको पाँच महिनाभित्रै करिब एक क्विन्टल सुन अवैध तरिकाबाट नेपाल भित्रिएको तथ्यांकले देखाउँछ ।

तस्करहरुले प्रशासनको कमजोर उपस्थितिको फाइदा उठाउँदै विभित्र नाकाबाट नयाँ नयाँ रुटको प्रयोग गर्दै सनु तस्करी गरिरहेका छन् । अन्तरराष्ट्रिय विमानस्थललाई नै तस्करीको हब बनाईरहँदा चीनसँग सीमाना जोडिएका दोखला, रसुवा जस्ता उत्तरी नाकाबाट पनि सुन नेपाल भित्रने गरेका छन् ।

विद्युतीय चुरोट भेप र ब्रेक शुमा सुन भेटिएपछि यो संगठित अपराध मात्रै होइन राष्ट्रिय राजनीतिको प्रमुख मुद्धा नै बन्ने गरेको छ । पटक पटक सुन तस्करी भई मुलुकभित्र आईरहेको विषयलाई स्वतन्त्र र निष्पक्ष छानविन गर्न आयोग र समितिहरू बन्ने गरे पनि अबैध रुपमा सुन आउने क्रम रोकेको छैन ।

राजनीतिक नेतृत्वबीच तस्करी नियन्त्रणका लागि सहमति जुटेपनि सुन तस्करीको उकालो लाग्दो तथ्यांकले भने जो कोही नागरिक त्रसिद हुने अवस्थामा छन् । सुन तस्करीलाई तत्काल नियन्त्रण गर्ने उपाय अवलम्बन गर्नेभन्दा पनि आयोग बनाएर प्रतिवेदन कुर्ने र आवश्यक परे ऐन नै संशोधन गर्ने लामो व्यवस्थाले अझै कति किलो अवैध सुन भित्रने हो अनिश्चित छ ।
सुन तस्करी नियन्त्रणका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर काम गर्नु पर्ने अवस्थामा सत्ता र प्रतिपक्षका राजनीतिक नेतृत्वहरु दन्तबजानमा नै व्यस्त छन् । नेताहरूले एकले अर्कालाई दोषारोपण गरिरहँदा उता तस्करहरु भने रुट फेरि फेरि सरकारको लाचारीपनमा खेलिरहेका छन् । राजनीतिक नेतृत्व नै एकअर्कालाई हिलो छ्यापाछ्याप गर्दा तस्करहरुले भने नाकाबाट धमाधम सुन भित्र्याउने सुनौलो अवसर पाइरहेको देखिन्छ ।

प्रत्येक वर्ष देशभरबाट सुन तस्करीमा औसत ७५ जनाभन्दा बढी मानिस पक्राउ पर्ने गरेका छन् । यसरी समातिनेमा नेपालीसँगै विदेशी नागरिक पनि छन् । हवाई र स्थलमार्गको प्रयोगबाट हुने गरेको सुन तस्करीका क्रममा गएको पाँच वर्षमा १ सय ८४ किलो सुन बरामद भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ३१ किलो ३८३ ग्राम सुनसहित प्रहरीले ८८ जनालाई पक्राउ गरेको थियो ।

यस्तै २०७७/०७८ मा ५५ तस्कर समातिँदा उनीहरूको साथबाट ३८ किलो सुन फेला परेको थियो । २०७६/०७७ मा ३४ किलो ३०० ग्राम तस्करीको सुन फेला परेको थियो । यसरी वर्षौदेखि परम्परा झै सुन तस्करी भईरहेको नेपालमा पछिल्लो समय भने चीनसँग सीमाना जोडिएका रसुवा, सिन्धुपाल्चोक, दोलखाका तस्करीको केन्द्र बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली पटक पटक छलफलमा जुट्छन् तर, सत्ता र स्वार्थ बहसको केन्द्र बाहेकका मुद्दामा गम्भीर नबन्दा देशलाई ठूलो नोक्सान पुगिरहेको छ । सार्वजनिक मञ्चहरूमा सरकार सुशासन कायम गर्न प्रतिबद्ध छ भन्दै जंगिने गरे पनि नतिजाका हिसाबले फिक्का सावित हुँदैछ ।