Breaking

रोकिएन इजरायल-हमास युद्ध, लुकेका हमासका नेताको खोजी, विपीनको अवस्था अझै अज्ञात

फेरि होला युद्धविराम ?


काठमाडौँ – भनिन्छ, युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । अहिले इजरायल र हमासले त्यही नीति लिएका छन् । जसका कारण ठूलो संख्यामा निर्दोष सर्वसाधारण ज्यान गुमाउन बाध्य छन् । इजरायल र हमास युद्धमा साँढेको जुधाई बाच्छाको मिचाई जस्तो भएको छ । गत असोज २० गते हमास समूहले इजरायललाई युद्धको निम्तो दिएको थियो । तर, हमासले प्रहार गरेको बमबारी इजरायल भूमिमा खस्दा कुनै दोष नै नभएका १० नेपालीले ज्यान गुमाउन पुर्‍यो । करिब दुई महिनादेखि बेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ । अल्पकालीन युद्धविरामको क्रममा केहीलाई इजरायल र हमालले मुक्त गरे पनि जोशीको अवस्था अझै अज्ञात छ ।

इजरायलले फेरि हमला सुरू गरेको छ । इजरायल र हमालको ज्यादतीले हद नाघेको छ । गाजा क्षेत्रका नागरिक शोक, रोग र भोकसँग लडिरहेका छन् । त्यस क्षेत्रको दृश्यले विश्व मानव जगतकै मन छियाछिया परेको छ । यो युद्धमा दुई पक्षमध्ये एकले जित्ला तर, मानवताले भने हारिरहेको छ । हजारौँ मानिस विना कारण ज्यान गुमाउन बाध्य छन् । पीडाबोध बाहेक अन्य केही पनि गर्न नसक्ने अवस्थामा अन्तर्राष्ट्रिय समुदाय रहेको छ ।

एक साता लामो युद्धविरामपछि इजरायली सेनाले गाजाको दक्षिणी भागमा धेरै हमास नेताहरू लुकेको आकलन गर्दै पुनः बमबारी बर्साएको छ । यस क्षेत्रमा करिब २३ लाख मानिस फसेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टहरू अनुसार इजरायली सेनाले गाजाको दोस्रो ठूलो सहर खान युनिस वरपरका क्षेत्रहरू खाली गर्न आदेश जारी गरेको छ । इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सेनाहरू आफ्नो भूमि विस्तार अभियानलाई अगाडि बढाइरहेको दाबी गरेका छन् ।

हमास शाशित गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा युद्ध सुरू भएदेखि गाजा पट्टीमा मृत्यु हुनेको संख्या १५ हजार २ सयभन्दा बढी पुगेको जनाएको छ । मृत्यु हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् भने युद्धमा परी ४० हजारभन्दा बढी मानिस घाइते भएका छन् । इजरायली सेनाको तुलनामा हमासलाई कमजोर संगठनका रूपमा आकलन गर्दै आइएको छ । तर, उक्त संगठनलाई बेवास्ता भने गर्न सकिन्न । हमासले आफूलाई मोटार, ड्रोन र रकेट आक्रमणका लागि प्रविधिमा विकास गरेको छ ।

हमासले युद्धमा आधुनिक एन्टी-ट्यांक मिसाइलहरू प्रयोग गरेको देखिन्छ । यो संंगठनले गाजा क्षेत्रमा ठूलो मात्रामा हतियार कारखानाहरू पनि सञ्चालन गरिरहेको छ । इरानबाट अत्याधुनिक हतियार बनाउने प्रविधि हमासले भित्रएको बताइएको छ भने इस्लामिक देशहरूले हमासलाई सहायता गरिरहेका छन् । हमास संगठनमा कति लडाकु छन् भन्ने यकिन तथ्यांक बाहिरिएको छैन । तर, केही रिपोर्टमा हमास लडाकुको संख्या ५० हजारभन्दा बढी रहेको बताइएको छ । जसमा ठूलो संख्यामा युवा लडाकुहरू रहेको बताइन्छ । इजरायल आफ्नो शक्ति प्रदर्शनमा निरन्तर लागिरहेको छन् । दुबै पक्षको दम्भ र घमण्डका कारण अझै कति निर्दोष सर्वसाधारणले ज्यान गुमाउनुपर्ने हो, एकीन छैन ।