Breaking

बालेन र हर्कलाई स्वर्णिमले फर्काए जवाफ, पेलेरै अघि बढ्ने रविको नीति (भिडियोसहित)


काठमाडौँ – अहिले परम्परागत तथा पुराना दलबाट आजित बनेर राजनीतिमा आएका र जनअपेक्षा रहेका नयाँ अनुहारहरु नै प्रतिष्पर्धी बनेका छन् । जनताले बालेन र हर्कलाई जस्तै रविलाई विश्वास त गरेका छन्, तर बालेन–हर्कको रोजाईमा रवि पर्दैनन् । रास्वपाको आलोचना गर्नेले नीतिदेखि नेतृत्वसम्म सबैमा प्रश्न उठाएर हायलकायल बनाउँदा रास्वपाले भने उनीहरु सबैलाई जवाफ दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेलाई निरन्तर प्रहार गर्ने पात्रमा पर्छन्, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ । कहिले सडक आन्दोलनको नाटक त कहिले चोरको संज्ञा र कहिले पार्टीलाई नै सक्काउने रवि लक्षित उनको आलोचनात्मक टिप्पणी आइरहन्छ । त्यस्तै उनैको लाइनमा अहिले अर्का स्वतन्त्रबाट धरानको मेयर बनेका हर्क साम्पाङ राई पनि थपिएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कले पनि रास्वपा र रविको नाम नै किटान गर्दै खरो आलोचना गर्दै आएका छन् । सोमबार एक घण्टाको अन्तरालमा लगातार दुईवटा पोष्ट गर्दै रविप्रति कटाक्ष गरेका हर्कले कुनै भिजन नभएको र कान चिरेका चिम्टा र कमण्डलु भिरेकाहरूबाट केही आश नै गर्न नसकिने भन्दै रोष प्रकट गरे ।

पार्टी स्थापनाको ६ महिनाको छोटो अवधिमा नै राष्ट्रिय दल बन्न सफल रास्वपाले डेढ वर्षपछि बल्ल तल्ल नीति र सिद्धान्त तय गर्दा पनि पार्टीविरुद्ध खेदो गर्ने क्रम रोकिएको छैन । हिजो विचार, सिद्धान्तविहीन भनेर आरोप लगाउनेहरू अहिले कांग्रेसकै नीति पछ्याएको भन्दै ‘भाई कांग्रेस’को ट्याग भिराई रहेका छन् । तर, आफूहरूले गरेको कार्यबाट भयभीत भएकाहरू रास्वपाले जे गर्दा पनि पूर्वाग्रह साँधेको अन्य दलको धारणा छ । सधैँ पूर्वाग्रही भएर अरुले खेदेकै कारण पार्टीले सफलता हात पारेको र अब पनि तिनलाई चिरेरै जाने रणनीति रास्वपाले बुनेको छ ।

रास्वपा आफूजस्तै विकल्प मानिएको नयाँ अनुहार र पुराना दल दुवैसँग भिडिरहेको छ । जे गर्दा पनि आलोचना खेपिरहेको रास्वपा अहिले पार्टीभित्र आफ्नासँग पनि भिडिरहेको छ । नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्यमा रहेकी लिमा अधिकारी पार्टी पदाधिकारीमा अटाउँदा डा।तोसिमा कार्की, सोविता गौतमजस्ता सम्भावना बोकेकाहरू बाहिर पर्दा पार्टीभित्र पनि असन्तुष्टि बढेको छ । शक्ति संघर्ष चलिरहेको पार्टीभित्र सांसद् भएकाहरू प्रचण्डसँग सहकार्य गरेर पुनः सत्तामा जान इच्छुक देखिन्छन् । सांसद्हरूलाई मन्त्री बन्न सत्ताको हतारो हुँदा अरु भने संगठन तिखार्नतर्फ जोड दिनु पर्ने मनस्थितिमा छन् । तर, यस्ता विवादलाई चिरेर मधेशमा भएको तीन दिने बैठकको निचोड नै नीति, नेतृत्व र संगठन सुधार भएको उल्लेख गर्दै आफ्नो कित्ता स्पष्ट गर्न सफल भएको छ ।

कांग्रेस, कम्युनिष्ट दुवै समेटेर मध्यमार्गी जस्तो देखिएको रास्वपालाई पुराना दलले खेदो खन्नु स्वभाविक नै भए पनि बालेन, हर्क जस्ता स्वतन्त्रको मन पनि जित्न सकेको छैन । केही गरेका नयाँ अनुहारले नै विकल्प भनिएको रास्वपाबाट देशको भविष्य नदेख्नु दुःखद् पक्ष हो । देश विकास र जनहितकै लागि राजनीतिमा प्रवेश गरेका आश गरिएका यस्ता विकल्पका नयाँ अनुहारबीचको द्वन्द्वले पनि जनताको समस्यालाई गहिरोसँग सम्बोधन गर्ने तागत नराखेको विश्लेषकको बुझाइ छ ।

पटक पटक चौतर्फी घेरबन्दी तोड्दै चुनौतीलाई नै अवसरमा बदल्न सफल भएको रास्वपाको पछि स्वतन्त्रदेखि रैथाने सबै दल र नेताहरू हात धोएर लागि परेका छन् । तर, पार्टी नेतृत्व भने राष्ट्रिय हुँदै अन्तरर्राष्ट्रिय स्तरमा नै संगठन तिखार्न तर्फ जोड दिईरहेको छ । नेताहरूको आलोचना र पार्टीले लिएको नीतिदेखि छानेको नेतृत्वसम्म विवादमा परेको रास्वपाको आगामी राजनीतिक भविष्य भने पार्टीले लिने मार्गले नै निर्धारण गर्ने छ ।