Breaking

राष्ट्रवादी भीम रावललाई ओलीको उपेक्षा, राजावादी भएको आरोप, एमाले एक ढिक्का किन भएन ?


काठमाडौँ — गत निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनसँग आफू एक्लै लडेर बहुमत ल्याउने दाबी गरे पनि एमाले दोस्रो स्थानमा खुम्चियो । असन्तुष्ट पक्षलाई मिलाउन नसकेकै कारण एमालेले ठूलो क्षति ब्यहोरेको थियो । जारी अभियानमा पनि पार्टीभित्रैको असन्तुष्ट पक्षलाई समेट्न एमाले चुकेको छ । पार्टी फुट र भीम रावल जस्ता असन्तुष्ट पक्षलाई समेट्न नसक्दा गत निर्वाचनमा एमाले दोस्रो स्थानमा खुम्चिन बाध्य भयो ।

केन्द्रदेखि स्थानीय तहसम्मै पार्टी संगठन बलियो रहेको दाबी गर्ने एमाले दोस्रो शक्तिमा खुम्चिएपछि निर्वाचन आउन ४ वर्ष बाँकी रहँदा एमालेले विभिन्न अभियानसहित जनतामा गइरहेको छ । एमालेले यो अभियान सुखी नेपाली समृद्ध नेपालको लागि भएको दाबी गरेको छ । मूलतः एमाले फेरि सत्तामा फर्कने रणनीतिसहति अभियानमा होमिएको छ । चुनावदेखि चुनावसम्म केन्द्रित हुँदा पार्टीभित्रैको शक्तिलाई भने एमालेले समेट्न सकेको छैन । बरु, संसदको सबैभन्दा ठूलो दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको गृहजिल्ला डडेल्धुरा पुगेर विस्ताराबाटै सम्झिए ।

डडेलधुरा पुगेर देउवालाई सम्झिएका ओलीले आफुसँगै अध्यक्षमा प्रतिष्पर्धा गरेका पूर्वउपाध्यक्ष भीम रावललाई अछाम पुगेर सम्झिएनन् । भनिन्छ राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन । देउवाको हकमा ओलीले यही भनाइ व्यवहारमा उतारे पनि रावलको हकमा उतार्न सकेनन् । समृद्धिको लागि संकल्प यात्रा नारा दिएकको यो अभियानको नेतृत्व ओलीले सम्हालिरहेका छन् । तर, यो अभियानमा रावललाई देख्न सकिन्छ, नत ओलीले सम्झेका नै छन् ।

यसले ओली र रावलबीचको अमिलोपन अझै नसकिएको प्रष्ट देखिन्छ । ओलीले रावललाई अन्य पार्टीका नेतालाई जति पनि स्थान दिएका छैनन् । रावल पनि के कम, हरेक कार्यक्रम र अभिव्यक्तिमा अध्यक्ष ओलीको उछितो काट्न पछि पर्दैनन् ।जनतासँगको सम्बन्ध सुधारका लागि भन्दै गरिएको अभियानमा आफ्नै पार्टीका असन्तुष्ट पक्षलाई सामेल गर्न नसक्दा ओलीको सम्बन्ध यात्रा उल्टो गतिमा चलिरहेको देखिन्छ ।

गत निर्वाचनमा पनि रावललाई वास्ता नगर्दा एमालेले ठूलै झट्का ब्यहोर्नु परेको थियो । २०८४ को निर्वाचनमा आफूलाई सत्तामा पु¥याउने लक्ष्यसहित जनतासँग जोडिन निस्केका ओलीको व्यवहारले भुइँको टिप्न खोज्दा पोल्टाको खस्ने प्रष्ट देखिन्छ । आफ्नै पार्टीभित्रको असन्तुष्ट पक्षलाई समेट्न नसक्ने ओलीले आम जनताको भावना कसरी समेट्छन भन्ने प्रश्न खडा भएको छ ।