Breaking

दुर्गा प्रसाईंलाई मात खुवाउने ओली–प्रचण्ड–देउवाको बोली, मुखमा आएको बोल्न छुट छ ?, रवि पनि उस्तै


काठमाडौँ — व्यवसायी दुर्गा प्रसाईं अराजकहरुको समूह बोकेर व्यवस्था विरोधी अभियानमै आउँदा ठूला भनिएका दलहरुको पनि अराजकता कम्ती छैन । काम गर्न छाडेर मिसन ८४ को नाममा देश दौडाहमा रहेका उनीहरु जनता जोड्नेभन्दा बढी नितान्त व्यक्तिगत आलोचना र टिकाटिप्पणीमा केन्द्रित छन् । व्यवसायी दुर्गा प्रसाईंको एउटा अभियानको अराजकता तुइहे पनि राजनीतिक दलहरुको अराजकता बढ्दो छ । देश र जनताका समस्याको मतलब छैन, कुशासनले डाँडै ढाकिसक्यो, नेताको बोलीमा ठेगान छैन, प्रतिपक्ष भनिएको पार्टी पनि गालीगलौज र आलोचनाभन्दा माथि उठ्न सकेको छैन ।

मध्यपहाडी लोकमार्गमा समृद्धिका लागि सङ्कल्प यात्रा नाम लिएर विपक्षी नेताहरुलाई गाली गर्ने अभियान चलाइरहेको नेकपा एमालेको अभियान जनतासँग जोड्नमा केन्द्रित छैन । हिजो सत्तामा हुँदा ईश्वरका नाममा शपथ लिन नमान्ने केपी शर्मा ओली आज तीनै ईश्वरका मन्दिरमा पुगेर आध्यामिक बन्न खोजिरहेका छन् । जब कि कम्युनिस्टहरु नास्तिक हुन्छन् । यो आफैँमा आश्चर्यको विषय हो । अभियानको दोस्रो दिन डडेल्धुरा पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले होटेलको बेडबाटै कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर भाइचाराको व्यवहार देखाए ।

तर लगत्तै आमसभामा उनै देउवालाई ओलीले गाली गर्न भ्याए । हिजो नेकपाकालमा प्रचण्डसँगै रहेकाले देउवालाई अराजक देख्ने ओली अहिले सत्ताबाहिर हुँदा उनै प्रचण्डलाई अराजक देख्न थालेका छन् । खासमा ओलीको असली अनुहार कुन हो चिन्नै गाह्रो छ । केही दिनअघि मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुल्मी पुगेर पूर्वराजा ज्ञनेन्द्र शाहको आलोचना मात्रै गरेनन् मूर्ति बेचेको आरोपसम्म लगाए । यद्यपि पूर्वराजामाथि लाग्दै आएको आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

हुन त शाहमाथी गैंडा चोरेको आरोप पनि नलागेको होइन, तर आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको जुम्रा पनि देख्ने भनेझैं गगनको हकमा पनि त्यही भयो । कांग्रेसकै मुख्यमन्त्री रहेका बेला कर्णाली प्रदेशमा कांग्रेस–माओवादी गठबन्धनले अदालतले नै मुर्तीचोर ठहर गरिसकेका गैरसांसद कार्चेन लामालाई मन्त्री बनायो । धर्म निरपेक्षताका नाममा धमाधम धर्म परिवर्तन गराउनेहरुलाई संरक्षण गरेको बिर्सिएर गगन थापा जनता रिझाउन भाषण गरिरहेका छन् ।

सरकारको नेतृत्वसमेत गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अराजकताको त कुरै बेग्लै छ । जनता सडकमा उतार्नेदेखि इटको जवाफ पत्थरले दिनेजस्ता अराजक अभिव्यक्तिमा उनी रमाइरहेका छन् । हुँदाहुँदा नयाँ उदाएका दलहरुमाथि जनताले केही आश गरेका थिए । हिजो केपी ‘बा’, नानीका ‘बा’ र देउबाजस्तो आफू हुनेछैन भनेर कसम खाएका रवि लामिछाने उनीहरुभन्दा फरक देखिन सकेका छैनन् । ‘

मिनी कांग्रेस’ को उपमा पाएको राष्ट्रिय स्वतन्त्र पार्टी त्यही बुढो कांग्रेसजति पनि लोकतान्त्रिक देखिएन । कांग्रेसका नेताहरुले कम्तीमा आफ्नै पार्टीका सभापतिलाई गाली गर्न त पाएका छन् । रास्वपामा त्यो पनि पाइँदैन । पार्टीमा बोल्न नपाएकै कारण केही नेता विद्रोहको अवस्थामा पुगेको देखिन्छ । पार्टी सभापति रविले त २०८४ को चुनावमा बहुमत आए देश कायापलट गर्ने आवश्वसन दिँदै हिँडेका छन् । जब कि २०८४ अघिसम्म सांसदको भूमिकामा भने आफूले केही नगर्ने सन्देश दिने गरेका छन् । लाग्छ, उनी सत्तामा पुगे र मन्त्री भए भने मात्रै सबैथोक गर्न सक्नेछन् ।

सत्तारुढ दलहरु आफ्नै संगठनको विश्वास नभएर होला काम गरेरै जनमत तान्न सकिन्छ भन्नेमा ढुक्क छैनन् । त्यसैले आम निर्वाचन भएको वर्ष दिनमै अर्को चुनावको तयारीका लागि मिसन ८४ भन्दै बेमौसमी बाजा बजाइरहेका छन् । त्यसमाथि जनतामा जाने भनिएका बिभिन्न अभियानहरु पनि आलोचना गर्ने टोल सभाभन्दा माथि उठ्न सकेका छैनन् । यता सरकारले संसदमा आवाज उठाउने सांसदको कुरै सुन्दैन ।

केही सांसदहरुले उठाइदिएका जनगुनासाका सम्बोधन गर्न सरकारलाई फुर्सद छैन । तर केही व्यक्तिको समूहले व्यवस्था विरोधी अभियान चलाउँदा भने ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’ भने जस्तै झस्किरहेको छ । आफू सुध्रिने र परिपक्वता देखाउनेतर्फ राजनीतिका खेलाडी हुँ भन्ने पाका नेताहरुमा देखिएको छैन । अर्थात राजनीतिक अराजकता र बदमासी बढ्दो छ । विशेष गरी ठूला दलका नेताहरुका पछिल्ला अभिव्यक्तिमा सैद्धान्तिक आधार छ न जनजीविकाका सवाल । छ त साँझपख पंधेरीमा गरिने रोइलो जस्तै हर्कत ।

नितान्त व्यक्तिगत आलोचना र टिप्पणीमा उत्रिने उनीहरु स्वार्थका लागि भने सधैँ कुम जोड्न तयार हुन्छन् । जनताको अगाडि वर्गीय शत्रु करार गर्ने अनि स्वार्थ मिल्दा तिनैसँग भागबन्डा गर्दै तैचुप मैचुप गर्ने प्रवृत्ति झनै झांगिँदै गएको छ । राजनीतिक नेतृत्वको यो द्वध चरित्रले अब भने जनता वाक्कदिक्क भइसकेका छन् । तर अझै पनि उनीहरु भ्रमको बिउ छर्न पछि परेका छैनन् ।