देश

बालेन र प्रचण्डको आश्वासनले डुबे सिसडोलबासी, ज्यान जोखिममा, तरकारीसमेत फल्न छाड्यो


काठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर बिर्सजन हुँदै आएको नुवाकोट र धादिङ सिमाना क्षेत्रका स्थानीयले स्वास्थ्यमा गम्भीर लापरबाही भएको भन्दै पटकपटक गुनासो गर्दै आइरहेका छन् । आफूहरु दिनहुँ फोहोरको डंगुर र दुर्गन्धले घेरिएर बस्न बाध्य भएको भन्दै सडक संर्घषमा पनि उत्रिने गरेका छन् । यसरी संघर्षमा उत्रिदा उनीहरुसँग सरकारले पटक पटक सहमति गर्ने गरेको छ । तर त्यसरी गरिएको सहमति कार्यान्वयन नहुँदा उनीहरु थप आक्रोशित भएका छन् ।

२०६२ सालमा बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा काठमाडौंको फोहोर विसर्जन गर्न सहमति जनाएका स्थानीय विगतमा गरिएको तीनै सहमति कार्यान्वयन नहुँदा पीडित बनेका छन् । आफूहरु फोहोरको डंगुर र दुर्गन्धको पीडा भोग्न बाध्य भएको उनीहरुको गुनासो छ । १८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमतिमा पुगेका स्थानीय सहमति कार्यान्वयन नभएपछि आक्रोशित भएका छन् ।

फोहोरले घेरिएको ककनी गाउँपालिका १, सिसडोल २ ओखरपौवा र वडा ३ चाउथे क्षेत्रका बासिन्दाहरुमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ । सो क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीमा अनाज उब्जनी हुन छाडेको स्थानीयो गुनासो छ । ककनी गाउँपालिका चाउथेका स्थानीय कृषक कृष्णहरी ढुङ्गानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा १ सिसडोल र २, ओखरपौवाका साथै वडा ३ चाउथे क्षेत्रमा कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गरे । उनले फोहोरको दुर्गन्धले किसानहरुले उत्पादन गरेको कृषिबाली र फलफूलहरुमा पनि किरा लाग्ने गरेको जनाए ।

अर्का कृषक विश्वनाथ बजगाईंको दुखेसो पनि उस्तै छ । कृषक बजगाईंले पनि राज्यले काठमाडौं उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानविय मात्रै नभएर कृषि उत्पादनमा समेत असर पर्न थालेको बताए । उनले उत्पादन भएको फलफूल बाहिरबाट हेर्दा राम्रो देखिने तर भित्र किरा लागेर खानै नसकिने भएकाले किसानको महेनतसमेत खेर गएको गुनासो गरे ।

उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडामा जथाभावी फालिदिँदा ल्याण्डफिल साइट नजिक मात्र नभएर ककनी गाउँपालिकाको वडा न. १, २, ३ र धुनीबेंसी नगरपालिका (धादिङ) को केही वडा बढी प्रभावित भएका छन् । यो क्षेत्रका मानिसहरु बाह्रैमास रुघाखोकी, झाडापखाला र क्यान्सर जस्ता प्राणघातक रोगको शिकार बन्न थालेका छन् । उनीहरुले भोग्नु परिरहेको पीडादायी अवस्थालाई राज्यले बेवास्ता गरिरहेको उनीहरुको आरोप छ । माग पूरा नभएको भन्दै स्थानीय आन्दोलित हुँदा काठमाडौंमा फोहोर थुप्रिने, उनीहरुले फोहोर विर्सजन गर्न दिँदा आफैँ पीडित हुनु पर्ने अवस्थालाई चाँडोभन्दा चाँडो सम्बन्धित निकायले बुझ्न जरुरी छ । साथै यी समस्यालाई दीर्घकालीन रुपमा समाधान गरिनु पर्ने आवश्यकता छ ।