Breaking

बालेनका कारण सकसमा रवि, रास्वपा फुटाएर पार्टी जन्माउँदै, रविको पेलान, बालेनको ढाडस


काठमाडौँ — वैकल्पिक शक्ति भनेर राजनीतिमा आएका व्यक्ति वा दलबाट जनताले ठूलो अपेक्षा गर्नु उनीहरूलाई प्राप्त मतपरिणामले दर्शाउँछ । तर, अहिले परम्परागत तथा पुराना दलबाट आजित बनेर राजनीतिमा आएका र जनअपेक्षा रहेका तिनै नयाँ अनुहारहरु नै प्रतिष्पर्धी बनेका छन् । सामाजिक सञ्जालबाट चर्चा बटुल्दै राजनीतिमा उदाएका नयाँ अनुहार अहिले सामाजिक सञ्जालमा नै प्रतिष्पर्धी बनेका छन् । परम्परागत दलबाट आजित भएर विकल्पको रूपमा राजनीतिमा उदाएका स्वतन्त्र र वैकल्पिक शक्तिहरूमा पनि उही पुरानै राजनीतिक दलहरूको झल्को देखिन थालेको छ ।

भर्खरै पार्टीको राजनैतिक कित्ता क्लियर गरेर सैद्धान्तिक वैतर्णी तरेको राष्ट्रिय स्वतन्त्र पार्टी र देशकै संघीय राजधानीमा स्वतन्त्रबाट मेयर बनेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीचको सम्बन्ध सधै चर्चामा हुने गर्छ । बेलाबखत रास्वपा सभापति रवि लामिछानेलक्षित बालेनको आलोचनात्मक टिप्पणीले यी दुईबीचको सम्बन्ध प्रष्ट हुन्छ । रविप्रति बालेनको कटाक्ष बारम्बार आईरहन्छ । भुटानी शरणार्थी प्रकरणपछि सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलनमा लामिछाने सडकमा ओर्लिएको बालेनलाई मन परेन ।

त्यसैमा विमती जनाएका बालेनले सडकमा नाटक गर्दै आन्दोलन गर्न कसैलाई नेता नबनाएको भन्दै प्रहार गरे । त्यस्तै त्यसअघि पनि कसैलाई देशको माया नै नभएको भन्दै नयाँ पुराना सबै नेतालाई चोरको संज्ञा दिन भ्याएका थिए । मिसन ०८४ लाई नै गन्तव्य बनाएको रास्वापाले डेढ वर्ष लगाएर बुधबार बल्ल पार्टीको राजनीतिक विचार सार्वजनिक गर्दा पहिलो पटक टिप्पणी गर्ने अरु कोही नभएर उनै स्वतन्त्र बालेन भए । बालेनले बुधबार राति मिसन ०८४ ले देश नबन्ने भन्दै राजनीतिक दललाई सकाएपछि मात्र देश बन्ने भन्दै आक्रोश पोखेका थिए । रविले पनि बालेनलाई व्यवस्था विरोधीको ट्याग लगाउने गरेका छन् । तर यसरी नायकत्वबाट उदाएकाहरूबाट देश विकासमा ठूलो आश गर्न नसकिने जानकारहरु बताउँछन् ।

नेपाली राजनीतिमा आफूलाई वैकल्पिक शक्ति भनेर प्रवेश गर्नेहरूको विगत उपलब्धी मुलक देखिँदैन । बाबुराम भट्टराई, रविन्द्र मिश्र जस्ता वैकल्पिकको ट्याग भिर्नेहरू पश्चगमनतिरै फर्किएको नजिर राजनीतिमा छ । वैकल्पिक भनिएकाहरू एक ढिक्का बन्न नसक्दा विवेकशील साझाको जगसमेत तहसनहस भएको छ ।

वैकल्पिक भनेर आएका उनै मिश्र अहिले राजा बोकेर हिडिँरहेका छन् । यद्यपि, राजा पनि एउटा विकल्प भएको उनको बुझाई छ । दश वर्ष सशस्त्र द्वन्द्व गरेको माओवादी पार्टी छोडेर नयाँ शक्ति भन्दै विकल्पको राजनीतिमा होमिएका भट्टराई माओवादीकै दोस्रो वरीयतामा फर्कने निश्चित नै भईसकेको छ । नेताहरूमा दूरदर्शिता अभावका कारण देखिने यस्ता क्षणिक विचार अपरिपक्वताको द्योतक मात्र भएको राजनीतिक विश्लेषकको टिप्पणी छ ।

स्वतन्त्र उम्मेदवार बालेन र हर्क साम्पाङको जितले देशको विभिन्न स्थानमा घण्टी बज्दा रविको क्रेजले पुराना पार्टीलाई झट्का दिएको यथार्थ हो । विश्लेषक र सामाजिक सञ्जालमा रवि, बालेन विभिन्न ढंगले विभाजित गरिरहे पनि यिनीहरूलाई एकै ठाउँमा भएको हेर्न चाहने जमात पनि ठूलै छ । यता, दुर्गा प्रसाईंको अभियानलाई जनताले साथ दिए पनि नेतृत्वका कारण तुहिएको छ । रवि र बालेनभन्दा अघि आएकाहरूले विकल्पको आहुती दिइसकेको र ठूलो जनअपेक्षा बोकेका रवि–बालेनमा देखिएको तिक्तताले पनि त्यतैतिरको संकेत गरेको छ ।

आश गरिएकाहरूको मनमुटावमा पुराना दलहरूले खेल्ने मौका पाउँदा पटक पटक नयाँ विकल्प भनेर आएका शक्तिहरू अपत्यारिला ठहरिने गरेका छन् । यसबाट भोलि जनताले वैकल्पिक शक्तिको असफलताको लामै फेहरिस्तको मूल्यांकन गर्दै अरु आउने वैकल्पिकहरुबाट पनि आश मार्ने अवस्था सिर्जना हुने देखिन्छ ।