Breaking

सत्ताको देउवाको डर, ओलीको छैन भर, प्रचण्डलाई पन्छाउन मोदीको धर्म बोक्दै देउवा


काठमाडौँ — मन्त्री वा प्रधानमन्त्री नै फेर्ने चर्चाका बिच देउवाको सत्तायात्राबारेको वहशले चर्चा पाएको छ । सत्तामा जानकै लागि हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिएको कतिपयको विश्लेषणका संसदको अंकगणित र गठबन्धनको सकसले तत्काल देउवाको सत्तायात्रा सम्भव देखिदैन । गत पुष १० गतेसम्म तुरुप हातमा लिएर बसेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफँै प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । त्यति छिट्टै माओवादी र एमाले मिल्छन् भन्नेमा विश्वस्त नभएका देउवा जब एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने खबर बाहिरियो तब झस्किए । प्रचण्डले सत्ताको नेतृत्व सम्हालेको एक वर्ष पुग्दा नपुग्दै मन्त्री फेर्ने कि प्रधानमन्त्री नै फेर्ने भन्ने बहस चलेको छ ।

कार्यसम्पादन मूल्यांकन हेर्दा मन्त्रीहरुसँग असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ठूला मन्त्रालयकै मन्त्री फेर्ने तयारीमा रहँदा कांग्रेसभित्र भने प्रचण्डबाटै नेतृत्व खोसेर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ । यही चालले सरकार नचल्ने बुझाइमा दलहरु रहँदा साना दलहरुको असन्तुष्टीले पनि प्रचण्डलाई मन्त्री फेरबदल अपरिहार्यजस्तै भइसकेको छ । कांग्रेस सभापति देउवा एकातर्फ प्रचण्डलाई दुई वर्ष नै प्रधानमन्त्री स्वीकारेर आफू कुर्सीमा पुग्ने सुरक्षित बाटो खोजिरहँदा आफै सत्तामा पुग्न अनेकन तिगडमसमेत गरिरहेका छन् । पछिल्लो समय हिन्दु राज्यको एजेण्डा उठाएर त्यस्ता शक्तिहरुलाई एकत्रित गरी सत्तायात्राको बाटो खोजिरहेको कतिपयको विश्लेषण छ । यसबीचमा देउवासँगै अन्य दलका नेताहरु पनि सत्ताको च्याँखे थापेर बसेको विश्लेषकहरु बताउँछन् ।

जे जस्ता मुद्दा उठाएपनि कांग्रेस सभापति देउवाका लागि तत्काल सत्तायात्रा सम्भव छैन । वर्तमान सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार उनी सत्तामा पुग्न अझै दुई वर्ष पर्खिनु पर्नेछ । त्यसो नभए प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाइ संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा देउवा प्रधानमन्त्री बन्ने छन् । गठबन्धनमा भएको आलोपालोको सहमति तत्काल तोड्ने मनस्थितिमा पनि देउवा छैनन् । सार्वजनिक कार्यक्रममै पाँच वर्ष आफैँ प्रधानमन्त्री बन्ने बताएका प्रचण्ड गठबन्धनमा भएको सहमतिअनुसार अबको एक वर्ष पछि नै सरकारको नेतृत्व छाड्ने पक्षमा देखिँदैनन् ।

त्यसमाथि छेपारोजस्तै रङ फेर्ने प्रवृत्तिको उपमा पाएका प्रचण्ड फेरि ओलीसँग मिल्दैनन् भन्नेमा पनि देउवा ढुक्क छैनन् यसैकारण प्रचण्डलाई पुल्पुल्याएर राख्नु र उनले गरेका निर्णय खुरुखुरु मान्नुको विकल्प देउवासँग छैन । त्यसमाथि प्रचण्डले कहिले कांग्रेसलाई पनि एमालेलाई झैं ठेगान लाईदिने बताइरहेका छन् त कहिले ओलीसँग पटक पटक भेट गरेर देउवालाई चिढ्याईरहेका छन् । संवैधानिक रुपमै उपधारा ३ अनुसार देउवा प्रधानमन्त्री भइहाले पनि ओलीसँग मिलेर कोशीमा जस्तै कांग्रेसको अर्को पक्षले खेल्न सक्ने जोखिमलाई पनि देउवाले बुझेकाले उनी प्रधानमन्त्री बनिहाल्ने पक्षमा तत्काल देखिदैनन् ।

प्रचण्डले धोका दिएपछि देउवालाई एमालेले पटक–पटक सत्ता सहकार्यका लागि प्रस्ताव गरेपनि उनले ओलीलाई पत्याएका छैनन् । यसो गरेमा ओली आफँै सत्ताको नेतृत्वका लागि अघि सर्ने वा अस्थीरत सिर्जना गरेरै भएपनि कांग्रेसकै शेखर कोइराला प्रधानमन्त्री बन्ने डर पनि देउवामा छ । एमालेले भने सत्ता सहकार्यका लागि देउवालाई अझै पनि फकाइरहेकै छ । यद्यपि कांग्रेसले माओवादी बोक्न छाड्नु पर्ने एमालेको सर्त छ ।

ओलीमाथि अझै विश्वास गर्न नसकेका देउवाले प्रचण्डलाई धोका दिए प्रमुख प्रतिपक्षमा बसेर एमालेकै हालत हुने बुझेका छन् । उसो त मन्त्रिमण्डल हेरफेरबारे सत्ता गठबन्धन भित्रका दलहरुबीच औपचारिक छलफल भएको छैन । तर अर्थमा माओवादीकै जर्नादन शर्मालाई फर्काउने चर्चाले हालका मन्त्री प्रकाशशरण महत भने केही शशंकित देखिन्छन् । मन्त्री हेरफेरबारे कुनैपनि तहमा छलफल नभएको बताउने उनी सरकारले राम्रै काम गरिरहेकाले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको दाबी गर्छन् ।

मन्त्री फेर्ने बिषयमै पनि माओवादी र कांग्रेसका आ–आफ्नै बार्गेनिङ चलिरहेका छन् । देउवाले केही दिनअघि बालकृष्ण खाँण निर्दोष रहेको र छिट्टै जेलमुुक्त हुने विश्वास गरेको बताएका थिए । जसलाई सहज बनाउनका लागि कांग्रेसलाई गृह मन्त्रालय चाहिएको बुझ्न कठिन छैन । माओवादीलाई चिढ्याउँदा ओलीको सत्तायात्रा सहज हुने र आफू फेरि प्रतिपक्षको कित्तामा पुग्ने डरले पनि देउवा प्रचण्डले जे गरेपनि सहने मुडमा छन् । प्रधानमन्त्री हुनका लागि मात्रै देउवा प्रधानमन्त्री बन्ने पक्षमा छैनन् । सरकार बनाइसकेपछि स्थिरता दिने प्रयास सबैको हुन्छ । तर मन्त्री वा सरकार नै फेर्ने रस्साकस्सीका बीच तत्काल देउवाको सत्तायात्रा सहज भने देखिँदैन ।