Breaking

प्रचण्डको ब्राण्ड बनेन, ओलीकै विकल्प खोज्दै एमाले, देउवालाई शेखरकै भर छैन


काठमाडौँ — नयाँ दलको उदय र व्यवस्था परिवर्तनको मागसँगै पुराना दलहरूमा छटपटी सुरु भएको छ । जनतामा निराशा र आक्रोश बढ्दै जाँदा पुराना दलहरू आफ्नो विरासत जोगाउन अनेक हतकन्डा अपनाइरहेका छन् । तर, व्यवहार र कार्यशैलीमा परिवर्तन ल्याउन सकेका छैनन् । गत निर्वाचनमा अकल्पनीय परिणाम आएपछि पुराना दलहरू निर्वाचन सम्पन्न भएको वर्ष दिन नपुग्दै चुनाव केन्द्रित अभियानमा होमिएका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रदेखि साना दलसम्म चुनाव केन्द्रित अभियानमा छन् ।

नयाँ उदाएका रास्वपा र जनमत पार्टी पनि चुनाव केन्द्रित गतिविधिमा सक्रिय छन् । उनीहरूको एउटै नारा छ–मिसन ८४ । एमालेले बिहीबारबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान संचालन गरेको छ । यसअघि निर्वाचन लगत्तै एमालेले देशव्यापी रुपमा मिसन ग्रासरुट अभियान संचालन गरेको थियो । मुलुकको समृद्धि र जनताको खुशीका लागि देशको बागडोर आफ्नो पार्टीले सम्हाल्नुपर्ने एमालेका नेताहरू दाबी गर्छन ।

निर्वाचनपछि सरकारमा रहेकै बेला एमालेले मिसन ग्रासरुट अभियान घोषणा गरेको थियो । लगत्तै एमाले सरकारबाट बाहिरिने र कांग्रेस सरकारमा भित्रिने परिस्थिति बन्यो । मिसन ग्रासरुटकै समयमा भएको उपनिर्वाचनमा एमालेले एक सिट पनि जित्न सकेन । जनताको आक्रोशलाई पार्टीको शक्तिमा बदल्ने एमालेको रणनीति छ । निर्वाचन सकिएको एक वर्ष मात्रै बितेको छ । दलहरूलाई अर्को निर्वाचनमा कसरी विरासत जोगाउने चन्ने चिन्ता छ । जनआक्रोशको विषयलाई नेपाली कांग्रेसले महासमिति बैठकमै एजेण्डा बनाएर छलफल गर्ने भएको छ ।

माओवादी केन्द्रले माओवादी विशेष रुपान्तरण अभियान संचालन गरिरहेको छ भने एकीकृत समाजवादीले मेची–महाकाली समाजवादी जागरण अभियान सम्पन्न गरेको छ । जसपा र लोसपा पनि जनता केन्द्रित अभियानमा छन् । संगठन विस्तारको क्रममा रास्वपा मधेश झरेको छ भने जनमत पार्टी पहाड उक्लिएको छ । राजावादीहरू व्यवस्था नै परिवर्तन गर्ने सपना देख्दै छन् । वैचारिक, राजनीतिक धार स्पष्ट नभएको आरोप खेप्दै आएको रास्वपाले वर्तमान व्यवस्थाभित्रै रहेर नागरिकको अवस्था परिवर्तन गर्ने दाबी गरेको छ ।

सरकारबाटै जनताको अवस्था परिवर्तन गर्न लाग्नुपर्नेमा सत्तारुढ दलहरू पनि सडकमा देखिएका छन् । नेपाल जस्ता विश्वका विकासउन्मुख देशमा सस्तो लोकप्रियताले ठूलो प्रभाव पार्ने गरेको छ । त्यसले नयाँ–पुराना सबै दलहरू सस्तो लोकप्रियताकै साहरा खोजिरहेका छन् । जनताको नाममा अनेक नारा दिइरहेका छन् । तर, दलहरूको प्रवृत्तिले जनतामा चरम निराशा बढेका कारण सडकमा विरोधको स्वर बाक्लिदै गएको विश्लेषकहरू दाबी गर्छन ।

राजनीतिक दलहरूको मुल्य उद्देश्य जनताको सेवा गर्नु हो । तर, सत्ताका लागि अनेक हतकन्डा गर्ने र सत्तामा पुगेपछि कमाउ धन्दामा लाग्ने राजनीतिक रोग फैलिदो छ । यही कारण जनतामा चरम निराशा छ । जनआक्रोश पनि सडकमा पोखिन थालेको छ । यही कारण नयाँ÷पुराना दलमा छटपटी देखिन थालेपनि कार्यशैलीमा सुधार आउन सकेको छैन ।