Breaking

रुसी सैनिक बनेका नेपाली ढले, बाँचेकाको छटपटी, परिवारमा रुवाबासी, घटना किन लुकाउँदैछ सरकार ?


रुसी सेनामा भर्ना भएका चार नेपालीको मृत्यु भएको खबरसँगै यस घटनालाई लिएर विभिन्न कोणबाट बहस सुरु भएको छ । रुसी सेनामा नेपाली नागरिक सिधै भर्ती हुने कुनै प्रावधान नभएपनि आकर्षक तलबको प्रलोभनमा रुस पुगेका नेपालीहरु पछिल्लो समय भर्ती भइरहेका छन् । रुस–युक्रेन युद्ध सुरु भएपछि नेपालीहरु रुसी सेनामा भर्ती हुन थालेका हुन् । तर यस विषयमा नेपाल सरकार बेखबर रहेकै बेला चार नेपालीको मृत्यु खबरले भने सरकारको कूटनीतिक क्षमतामाथि प्रश्न उठिरहेको छ । गत कात्तिक २९ गते नेपालमा भाइटीकाको रौनक थियो । नेपाली चेलीहरु दाजुभाइको दीर्घायुका लागि कामना गर्दै थिए । तर रुसी फौंजमा भर्ती भएका नवजवान तीन नेपालीले त्यही दिन ज्यान गुमाएको पत्तै भएन ।

इलामका गंगाराज मोक्तान, स्याङ्जाका प्रितम कार्की र दोलखाका राजकुमार रोक्काले प्राण त्यागेको खबर दुई सातापछि मंगलबार मात्रै सार्वजनिक भयो । गोरखाका सन्दीप थपलियाले भने ११ महिना अघि नै रुस–युक्रेन युद्धमा ज्यान गुमाएका रहेछन् । चार वीर गोर्खालीले ज्यान गुमाएको दुःखद् खबर मस्कोस्थित नेपाली राजदूतावासले सार्वजनिक गरेपछि उनीहरुका परिवारमा ठूलो बज्रपात भयो । आफ्ना छोरा शकुशल देख्न नपाएका उनीहरु अव शव देख्न पाउने झिनो आशमा छन् । यो घटनासँगै विभिन्न कामको सिलसिलामा रुसमा छोराछोरी रहेका नेपाली अभिभावक पनि थप शशंकित बनेका छन् । विद्यार्थी भिसा र भिजिट भिसामा रुस पुगेका उनीहरुले सरकारको लाचारी र कूटनीतिक असक्षमताका कारण ज्यान गुमाएका छन् । इजरायल–हमास युद्धले ओझेलमा परेको रुस–युक्रेन युद्धले अब नेपाललाई पनि पोल्न थालेको छ ।

गत साउन १९ गते नै योहो टेलिभिजनले परराष्ट्र मन्त्रालयलाई नेपालीहरु रुसी सैनिकमा भर्ना भएकोबारे जवाफ खोजेका थियौं । नेपालीहरु रुसी सेनामा नरहेको जवाफ फर्काएको सरकारले यसबारे जानकारी नरहेको र आफ्ना नागरिकको खोजतलास गर्ने बताएको थियो । तर त्यस्तो देशमा नजान सार्वजनिक आह्वान गर्नुबाहेक कुनै प्रयत्न नै गरेन । अहिले नेपाली नागरिकले ज्यान गुमाउँदासमेत त्यहाँ रहेका अरु नेपालीहरुको अवस्था बुझ्न सरकारले ढिला गरिरहेको छ । युक्रेनमाथि रुसी आक्रमणको विपक्षमा मतदान गरेको नेपाल सरकारले आफ्ना नागरिक मारिएको खबर पाउँदासमेत उल्टै ढाकछोप गर्ने प्रयास गरेको पाइएको छ । घटनाबारे सरकार पहिले नै जानकार थियो ।

जब युद्धमा मारिएकाहरुका परिवारसम्म यो खबर पुग्यो त्यसपछि भने सबै जानकारी बाहिर आएका हुन् । राज्यलाई सबै थाहा भएर पनि घटना ढाकछोप गर्न खोज्नुलाई भने सरकारको भूमिकाप्रति शंका पैदा गरिदिएको छ । सन् १९४७ नोभेम्बर ९ मा नेपाल–भारत र बेलायतबीच गोर्खा भर्तीबारे भएको त्रिपक्षीय सन्धिअनुसार नेपाली नागरिक बेलायत र भारतीय सेनामा मात्रै भर्ती हुन पाउने प्रवाधान छ । बेलायतको उपनिवेशबाट भारत स्वतन्त्र भएपछि भएको उक्त सन्धि पुनरावलोकन गर्नु पर्ने चर्चा बेलाबेला हुँदै आएको छ । सोही त्रिपक्षीय सन्धिका कारण भारत र बेलायतबाहेक विदेशी सेनामा गोर्खा भर्ती बन्देज छ । तर रुसी सेनामा भर्ती हुनु गैरकानुनी भएपनि नेपाली युवाहरुको आकर्षण भने बढिरहेको छ ।

अनौपचारिक स्रोतहरूले रुसी सेनामा करिब दुई सय नेपाली नागरिक भर्ती भएको देखाउँछन् । त्यसमध्ये स्याङ्जा, नेपालगञ्ज, जुम्ला, गुल्मी र अर्घाखाँचीका धेरै छन् । रुसले सेनालाई ग्रीन, एल्लो र रेड गरी तीन जोनमा विभाजन गरेको छ । त्यसमध्ये रेड जोनमा परेका सैनिकहरु मोबाइलको पहुँचमा हुँदैनन् । वा युद्धभूमीमा सक्रिय हुुन्छन् । नेपालबाट रुसमा सैनिक पठाउनेबारे कुनैपनि कानुन छैन । तर विद्यार्थी भिसा र भिजिट भिसामा रुस पुगेका युवाहरु आर्थिक प्रलोभनमा परी ज्यान दाउमा राख्न पुगेका छन् । रुसले विदेशी नागरिकलाई सेनामा भर्ती गराउन गत वर्ष कानुन नै संशोधन गरेको थियो ।

जसमा भिसा र रुसको नागरिकता दिनेसम्मकै प्रावधानहरु राखिएका छन् । भविश्य सुरक्षित गर्ने आशाले पनि नेपालीहरु जोखिम मोलेरै युद्धमा होमिएका छन् । रुसी सेनामा भर्ती भएका कतिपय नेपाली युवा बेलाबेला परिवारको सम्पर्कमा आउने गरेका छन् । विदा पाउँदा घर फर्कने उनीहरुको आकांक्षा भएपनि उनीहरुलाई नेपाल आउने अनुमति छैन । जसका कारण परिवारजनले उनीहरुलाई स्वदेश फर्केर आउन् भन्दै भगवानसँग प्रार्थना गर्नु बाहेक केही गर्न सक्दैनन् । रुसी सेनामा नेपाली भर्तीबारे बेखबर सरकारले उनीहरुलाई स्वदेश फर्काउला भन्ने आशा गर्नु झनै व्यर्थ हुनेछ ।

अध्ययनका लागि रुस पुगेका नेपाली विद्यार्थीहरु आर्थिक प्रलोभनमा पर्ने गरेका छन् । रुसी सेनामा भर्ती भए राम्रो आम्दानी हुने भएपछि विद्यार्थीका साथै भिजिट भिसामार्फत रुस पुग्ने नेपालीको संख्या बढ्दै गएको छ । सैनिक बने ४ देखि पाँच लाख रुपैयाँ मासिक कमाइ हुने प्रलोभनले नेपालीहरु अवैधानिक बाटोबाट रुसी सैनिकमा भर्ती हुने गरेको खुलेको छ । नेपाली युवालाई रुसी सेनामा भर्ती गराउने कार्यमा काठमाडौंमा गिरोह नै सक्रिय रहेको नेपाल प्रहरीको स्रोतको भनाइ छ ।

यसविषयमा प्रहरीले समेत आन्तरिक अनुसन्धान गरिरहेको बुझिएको छ । तर युक्रेनमाथि आक्रमण गर्ने रुसको विपक्षमा मतदान गरेको नेपालले शान्तिको सन्देश दिन खोज्दा आफ्नै नागरिक युद्धमा होमिनुले कमजोर कुटनीतिको अर्को पाटो पर्दाफास गरेको छ । कमजोर कुटनीतिकै कारण सरकारले न रुसी सेनामा रहेका नेपालीको उद्धार गर्न सकिरहेको छ न त हमासले बन्धक बनाएका विपिन जोशीको अवस्थाबारे नै सत्यतथ्य पत्ता लगाउन सकिरहेको छ ।