Breaking

नेपाल प्रहरी विश्वकै उत्कृष्ट: नेतादेखि साधुसम्मको धम्की, भ्रष्टाचारी छुटाउनेको लर्को, जनताको झर्को र फर्को


काठमाडौँ — सत्य र निष्पक्ष ढंगले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु नेपाल प्रहरीको कर्तव्य हो । तर देशमा शान्ति, सुरक्षा कायम राख्ने प्रहरी आफँै भने असुरक्षित र राजनीतिक दबाबको सिकार हुने गरेको छ । नेता कार्यकर्तादेखि जनताको जिउधनको सुरक्षाका लागि अहोरात्र खटिने तिनै प्रहरीहरू चौताराका मादल जस्तै दोहोरो मारमा परेका छन् । एकातिरको प्वालमा सर्प र अर्काे तिरमा बिरालो हुँदा बीचमा फसेको मुसाको कस्तो हालत होला ? ठ्याक्कै यस्तै हालतमा छ अहिले नेपाल प्रहरी । कानून कार्यान्वयन र शान्ति सुरक्षाका लागि खटिँदा राज्यको एउटा प्रमुख संगठन प्रहरी प्रशासन जे गरे पनि अपजसको भागिदार हुने गरेको छ ।

देशमा दैनिक रूपमा भईरहेको अराजक गतिविधिलाई नियन्त्रणमा लिन आन्दोलनकारीलाई धरपकड गरे जनआक्रोश उनीहरूमाथि नै पोखिन्छ, नगरे कानुनी कसुरदार ठहरी विभागीय कारवाही भोग्नु पर्ने हुुन्छ । कुनै घटनाको निष्पक्ष छानविन गर्नु पर्दा राजनीतिक दवाव र प्रभाव उत्तिकै हुनेगर्छ । जसले गर्दा प्रहरी न त जनताको हुन सकेको छ न त आफ्नै संगठनको । देशमा जे घटना घटे पनि दवाव प्रहरीमाथि नै आउँछ ।

दैनिक जसो शान्ति सुरक्षामा आँच आउने गतिविधि बढ्दै जाँदा नेतादेखि तिनका कार्यकर्ता सबैको जिम्मा प्रहरीकै काँधमा छ । तर, जनताको जिउधनको सुरक्षाका लागि अहोरात्र खटिरहने प्रहरी आफै भने असुरक्षित छन् । नेता, कार्यकर्तासँगै आन्दोलनकारीको निशानामा प्रहरी नै पछनर्् । देशैभरका कारागारमा योग शिविर सञ्चालन गर्ने गृहमन्त्रालयले निर्णय गरिरहँदा साधुसन्त र योगी पनि तिनैलाई धम्क्याउने गरेका छन् ।

प्रहरीको कामकारबाही नै निष्पक्ष र न्यायको सिद्धान्तअनुसार नभएका कयौं उदाहरणहरु पनि छन् । तर, यसलाई प्रहरीको क्षमताको कमजोरी भन्दा पनि राजनीतिक दवावको प्रभाव भएको जनाकारहरू बताउँछन् । जिल्लाको नेतृत्व सम्हाल्न सक्ने एसएसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई छ ।

तर गृहमन्त्री, सचिव र उनका निजी सचिवालयका व्यक्तिहरुको दवावका भरमा पठाइएका अधिकृतहरुले गरेको गलत कामको अपजस भने सिंगो प्रहरी संगठनले खप्दै आएको छ । यदि संगठन प्रमुखले नै सक्षमलाई भन्दा खराबलाई जिम्मेवारी दिएको कारण सुरक्षा व्यवस्था खलबलिने गरेको विषयमा गृहमन्त्रीले चासो राख्नु पर्छ । तर संगठन प्रमुखलाई स्वतन्त्र रुपमा आफनो अधिकार प्रयोग गर्न नदिने हो भने सुरक्षा संगठनमा पर्ने राजनीतिक छायाँ नै असुरक्षा र जनतासँग प्रहरीको दूरी बढ्नुको मुख्य कारण बन्नेछ ।

जब मान्छे अप्ठयारोमा पर्छ त्यसबेला कि त भगवान पुर्काछ, कि त प्रहरीलाई सम्झिन्छ । समाजमा हुने अपराध नियन्त्रणका लागि होस् अथवा विभिन्न समयमा आउने प्राकृतिक प्रकोपका घटनाहरु होस् प्रहरीको उपस्थिति अनिवार्य नै पाइन्छ । एउटा पीडितले न्याय पाउँदा वा कुनै विपद्मा परेको व्यक्तिले उद्धार र सहयोग पाउँदा पीडित व्यक्तिको मुहारमा देखिने मुस्कान प्रहरीका लागि मूल्यवान हुनेगर्छ । त्यसलाई नै आफ्नो कर्तव्य सम्झेर गौरव गर्ने प्रहरीहरू यही आशका साथ काम गरिरहेका हुन्छन् । तर, राजनीतिक दल तथा नेताहरुको प्रभाव र राजनीतिक हस्तक्षेपका कारण शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको देशको सान नेपाल प्रहरी बदनाम पनि भइरहेको छ ।