Breaking

एमाले तिर्खादै ओली, बुढेसकालमा युवा जोस, माधवकालाई फकाउने अरु दलकालाई देखाउने


काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावको झल्को दिने गरी देशव्यापी अभियान चलाउदै छ । राष्ट्रिय सन्देश निर्माणका लागि भन्दै एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म अभियान चलाउँदै छ । अघिल्लो निर्वाचनमा एक्लै लडेर भएपनि बहुमत ल्याउने उद्घोष गरेको एमाले दोस्रो स्थानमा खुम्चिएपछि निर्वाचनलगत्तै चुनाव केन्द्रित अभियानमा केन्द्रित छ । यसअघि मिसन ग्रासरुट अभियान चलाएको एमालेले बिहीबारबाट मेची महाकाली अभियान चलाएको एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म अभियान चलाउँदै छ ।

उमेरले झण्डै ७४ वर्ष पुगेका केपी ओली हरेक क्षेत्र र कार्यमा १६ वर्षीय तन्नेरीको जोश जागर प्रस्तुत गरिरहेका छन् । आम चुनाव आउन अझै चार वर्ष बाँकी छ । तर, नेकपा एमाले चुनावकै तयारीको झल्को दिने गरी देश दौडाहामा होमिँदै छ । सुदूरपश्चिमको झुलाघाट, बैतडीदेखि पूर्वको चिवाभञ्ज्याङ, पाँचथरसम्म झण्डै १९ सय किलोमिटर सडकमा शीर्ष तहका नेतासहित यात्रा गर्दैछन् । एमालेले यस यात्रालाई ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ । जनतामा देखिएको अन्योल र निराशा हटाउँदै समृद्धिको यात्रा तय गर्न अभियान सफल हुने एमालेको विश्वास छ ।

एकपछि अर्को अभियानमा एमाले निस्किनुको कारण भने गत चुनावमा दाबी गरे बमोजिम नतिजा नआउनु नै हो । पार्टी विभाजनको चोटसहित आमचुनावमा सहभागी एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेको थियो । तर, दोस्रो स्थानमा खुम्चिएपछि गत १० फागुनदेखि दुई महिने ‘मिसन ग्रासरूट’ अभियान चलायो ।

गएको निर्वाचनमा ७० वर्ष वा त्यो भन्दा माथिका बृद्ध नेताहरूले नेतृत्व गरिरहेको नेपाली कांग्रेस, एमाले र माओवादीलाई शहरी क्षेत्रमा ठूलो धक्का दिएर युवा मत नयाँ पार्टीतिर गएको बुझेका ओलीले सार्वजनिक मञ्चमा दिने अभिव्यक्ति होस् या सञ्जालमार्फत प्रस्तुत हुने कार्यशैलीले पनि यूवाको ध्यान आफूतिर केन्द्रित गर्न चाहिरहेको प्रष्ट देखाउँछ । ओली यूवाको ध्यान आफूतिर केन्द्रित गर्न मध्यरातमा एलओडीमा नाच्न पुग्नेदेखि ¥यापमा चुनावी गीत निकाल्नसम्म पछि परेनन् । तर युवा पंक्तिले ओलीलाई विश्वास गरेको देखिएन । मनभित्र अमिलोपन भएपनि एमाले नेताहरु ओलीलाई रूझाउन मुखले ओली नै सर्वश्रेष्ठ नेता भएको र ओलीले नै देशको मुहार फेर्ने दाबी गरिरहेका छन् ।

युवालाई आकर्षित नगरी पार्टी शक्तिशाली हुँदैन भन्ने ज्ञान एमाले नेताहरूलाई छ । तर, मिसन ग्रासरूटमा समेत युवाको उपस्थिती कमजोर देखिएको थियो । अघिल्लो निर्वाचनमा युवा जमातको ध्यान नयाँ पार्टी तिर केन्द्रित देखेपछि आफूहरू नेतृत्वमा पुग्न युवाबिना असम्भव नरहेको भेउ ओलीले पाएका छन् । व्यतिथि र भ्रष्टाचारविरुद्ध नारा बुलन्द गरेर जनताको ध्यान आकर्षित गर्ने रणनीति एमालेको छ ।

आफू नेतृत्व र शक्तिमा पुग्न यूवाको साथ चाहिने तर, पार्टीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस भने नारामै सिमित राख्ने प्रवृत्तिमा एमालेमा देखिएको छ । नेतृत्व पुस्तान्तरणको नारा लिएर एमालेको नेतृत्वमा पुगेका ओली अझै एमालेको अध्यक्षमा दोहोरिन चाहन्छन । त्यसका लागि पार्टीको विधान नै परिवर्तन गर्ने तयारी एमालेको छ । व्यवहारमा परिवर्तन नल्याइ गरिने जस्ता सुकै अभियानले पनि सकारात्मक परिणाम नदिने निश्चित छ । नेताहरू एकथरी बोल्छन र अर्कै गर्छन भन्ने आम बुझाइलाई व्यवहारले नै खण्डन गरेर अगाडि बढ्न जरुरी छ ।