Breaking

बालेनको अर्काे सप्राईज ः अब बटन थिचेर बाटो काटौँ, के हो ‘पेलिकन क्रसिङ’?


काठमाडौँ — बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि पैदल यात्रु आफैंले स्वीच थिचेर ट्राफिक बत्ती बाल्ने प्रविधि राखिएको छ । पटक–पटक अदालत अघिको जेब्रा क्रसिङमा सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि सो स्थानमा काठमाडौँ महानगरपालिकाले ट्राफिक बत्ती जडान गरेको हो । गत शुक्रबारबाट थालनी गरिएको ‘पेलिकन क्रसिङ’ प्रविधि दश लाख रुपैयाँको लगानीमा सम्पन्न हुँदा सोमबारदेखि सञ्चालनमा आएको छ । सडक सुरक्षाका लागि नयाँ प्रविधि जडान गरेसँगै अब सडक दुर्घटना कम हुने विश्वास गरिएको छ ।

पैदल यात्रुहरूले आफँैले बटन थिचेर बाटो काट्ने हुँदा सवारी साधनको ठक्करबाट हुन सक्ने जोखिम कम हुने ट्राफिक प्रहरीको भनाइ छ । बटन थिचेको पाँच सेकेण्डमा हरियो बत्ती बल्ने छ र तोकिएको ३० सेकेण्डभित्र पैदल यात्रुले बाटो काटिसक्नु पर्ने छ । यसरी हेर्दा महानगरको यो कमद उपयुक्त हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए ।

प्रविधिको युगमा पनि काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन ट्राफिक प्रहरीको हातको इसाराको भरमा चल्दै आइरहेको छ । उपत्यका केन्द्रित बसाईसराइ, सहरीकरणलगायतबाट भइरहेको जनसंख्या वृद्धि, सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको प्रयोगको कमी, फुटपाथ अतिक्रमण, सवारी नियम तथा ट्राफिक नियमसम्बन्धी ज्ञानको कमीलगायतका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल एवम् चुनौतीपूर्ण नै छ ।

त्यसैले तत्कालका लागि पेलेकन क्रसिङ भनिने पैदल यात्री आफैँले स्वीच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि फलदायी नै हुने देखिन्छ । तर, अत्यधिक सवारी साधनको आवतजावत हुने यस क्षेत्रमा दीर्घकालीन समाधानबारे सोच्न आवश्यक छ । जसका लागि जनप्रतिनिधिहरू यसै क्षेत्रलाई केन्द्रमा राखेर अण्डर पास वे बनाउने तयारीमा छन् ।

देशभरि ६३ लाख सवारी साधन दर्ता छन् भने काठमाडौं उपत्यकामा मात्रै झन्डै १८ लाख सवारी साधन छन् । झन्डै १४ लाख सवारी दैनिक रुपमा काठमाडौंका सडकमा गुड्ने ट्राफिक प्रहरीको भनाइ छ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको हालको दरबन्दी जम्मा एक हजार तीन सय १३ रहे पनि अहिले दरबन्दीभन्दा पाँच सय बढी ट्राफिक प्रहरीलाई व्यवस्थापनमा खटाइएको छ । उपत्यकामा हाल एक हजार आठ सय २२ ट्राफिक प्रहरीले सवारी व्यवस्थापनलाई सम्हाल्दै आईरहेका छन् । यस्तो अवस्थामा प्रविधिले सहज हुने नै छ । तर यो पेलिकन क्रसिङको प्रयोग गर्न नजानेको अवस्थामा भने दुर्घटना बढ्ने ट्राफिक प्रहरीकै भनाइ छ ।

पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा परि देशभर १२ हजार आठ सय जनाको ज्यान गएको छ भने उपत्यकामा मात्रै एक हजार जनाभन्दा धेरैले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । पाँच वर्षमा सडक दुर्घटनामा परि झन्डै ८० हजार जना घाइते भएका छन् ।

गएको आर्थिक वर्षमा सवारी दुर्घटनाबाट देशभर दुई हजार आठ सय ८३, आ.व २०७८/७९ मा दुई हजार तीन सय ७६, आ.व २०७७/७८ मा दुई हजार पाँच सय, आ.व २०७६/७७ मा दुई हजार दुई सय ५१ र आ.व २०७५/७६ मा दुई हजार सात सय ८९ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । सडक असुरक्षित बन्दै गर्दा प्रविधिको प्रयोगले प्रत्येक वर्ष बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने छ ।