Breaking

बोले देउवा : ‘राजतन्त्र आउन्न यार ! सडक काँ तात्या छ ?’, सत्ताबारे बोलेनन्


काठमाडौँ — राजसंस्था फर्काउने अभियानमा स्वयं पूर्वराजा ज्ञानेन्द्र शाह नै सक्रिय बन्दा सर्वसाधारणले ठूला पार्टीको धारणा जान्न खोजिरहेका छन् । माओवादी र एमालेले त्यस्ता प्रवृत्तिका विरुद्ध लड्ने भनिरहँदा नेपाली कांग्रेस मौन छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिक्रिया लिने अवसर भरतपुरमा जुटेपनि हक्की स्वभावका उनी केही थाहा नभएजसरी प्रस्तुत भए । चट्ट बसेर हसिलो मुद्रामा प्रस्तुति । घाँटीमा सयपत्रीको माला । निधारमा चन्दन । सामान्यतः झोंक्की र हक्की स्वभावमा देखिने कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार चितवनमा भने प्रशन्न मुद्रामा थिए ।

अरुबेला बिरलै सुन्न पाइने देउवासँग समसायिक बिषयमा उनको मौनता तोड्ने प्रयास सोमबार पत्रकारहरुले गरे । देउवालाई पत्रकारहरुले राजावादीहरुको आन्दोलनले उथलपुथल ल्यायो भन्ने छ नि? भन्दै प्रश्न गरे । प्रश्न सोधिएको केही सेकेण्डमै देउवाले फ्याट्ट जवाफ दिए–‘मलाई त्यो थाहा छैन, गणतन्त्र उल्टिने कुरा छैन ।’ थोरै अरु बोलिदिनुस् न भन्दा देउवाले भने– ‘भइहाल्यो यार पुग्यो सुन्नु भएन तपाईंले ।’

थप स्पष्ट हुन पत्रकारले सोधे–यसबारे कांग्रेस सभापति मौन रहनुभयो भन्ने कुरा छ नि? देउवाको सिधा जवाफ थियो– ‘तपाईंले के लेख्नुहुन्छ मलाई के थाहा यार ?’ देशमा जस्तोसुकै समस्या होस् ‘चिल’ देखिने देउवाको परिचय नै बनिसकेको छ । लाग्छ उनलाई यो देशमा के भईरहेको छ नै थाहा छैन । उनी कतै नजरबन्दमा परेका छन् । उनी स्वयंका अभिव्यक्तिले देखाउँछ– संसदको सबैभन्दा ठूलो दलको सभापति तथा पाँच पटक प्रधानमन्त्री भईसकेका देउवालाई यो देशको मतलब छैन । आफूमाथि उठेका प्रश्नको सामना गर्नु त परै जाओस् ।

आफूलाई लोकतान्त्रिक गणतन्त्रको हिमायती मान्ने नेकपा माओवादी केन्द्र राजावादीहरु सल्बलाएको भन्दै त्यसलाई व्यवस्थामाथिकै प्रहार भएको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै हिँडेको छ । प्रचण्ड र ओलीका लागि त राजावादी ठूलै समस्या बनिरहेका छन् । अराजकता बढेको चिन्ता पनि प्रधानमन्त्रीलाई नै छ । सामाजिक सञ्जालमा नियन्त्रण गरिँदा लोकतन्त्रको उपहास भएको भन्दै टिकटक बन्द गर्ने निर्णय विरुद्ध अदालतमा मुद्दा छ । तर हरेक राष्ट्रिय चासोका मुद्दामा मौन रहने कांग्रेस कहाँ छ भन्ने प्रश्न पनि बारम्बार उब्जिरहन्छ ।

एमालेले त व्यवस्था विरोधीहरुका विरुद्ध डटेर लड्ने उद्घोष नै गरेको छ । यद्यपी राजावादी एजेण्डा बोकेकाहरुलाई नै संसदको यात्रा गराउने र मन्त्री बनाउनेसम्ममका गतिविधिामासमेत एमाले नै लागेको विगतलाई बिर्सन सकिँदैन । त्यसलाई कतिपयले शंकास्पद कदमका रुपमा लिएका छन् भने कतिपयले त पार्टी अध्यक्ष ओलीलाई नै राजावादीको ट्यागसमेत लगाईरहेका छन् । गद्दीमा फर्किन पूर्वराजा नै सडकमा निस्किदा पनि कांग्रेसको आधिकारिक धारणा आएको छैन । यति भनिरहदा महामन्त्री गगन थापाले भने पूर्वराजामाथि निर्मम आरोप लगाउँदै नारायणहिटी नफर्किन चेतावनी नै दिएका छन् ।

सत्तामै पुग्ने भूत चढेको भए चुनाव लड्न चुनौती समेत दिएका थिए । यहिबेला आफूलाई असली लोकतान्त्रिक पार्टी दावी गर्ने कांग्रेसका सभापतिको टिप्पणी धेरैले सुन्न चाहेका थिए । तर नेताहरुमाथि उठेका प्रश्नको सामना गर्न उनी तयार छैनन् भन्ने कुरा उनकै अभिव्यक्तिले स्पष्ट हुन्छ । कांग्रेसमै पनि अहिले धर्म निरपेक्षता र संघीयताबारे समीक्षा गर्नुपर्ने आवाज बलियो बनिरहेको छ । आगामी पुसमा बस्ने महासमिति बैठकमा यीनै विषय मुख्य एजेण्डा बन्ने नेताहरु बताउँछन् ।

कांग्रेसकै संस्थापन इतर पक्ष प्रचण्ड नेतृत्वको सरकारसँग असन्तुष्ट रहेका बेला समीकरण फेरबदल तथा ओलीले दिएको प्रधानमन्त्री अफरबारेसमेत देउवाले हलुका जवाफ दिएका छन् । ‘जे हुन्छ, देखिहाल्नु हुन्छ नि’ भन्दै उनी पन्छिए । जे होस् राष्ट्रिय राजनीतिमा पहिलो दल कांग्रेसको हरेक मुद्दामा रहस्यमयी मौनताले सकारात्मक सन्देश भने दिंदैन । यसरी कतिञ्जेल चल्छ, त्यो भविश्यले देखाउला ।