Breaking

दुर्गासँगको अन्तिम ब्याटलमा चुके महेश, तिनकुने सुनसान, बल्खुमा दिनभर हानाहान


काठमाडौँ — बिहीबार सडक प्रर्दशनमा उत्रिएका युवा संघ र दुर्गा प्रसाईं समूहले आ–आफ्नो दलबलसहित शक्ति प्रदर्शन गरेका छन् । एजेण्डामा कुनैपनि समूह सफल नभएपनि शक्ति तौलिने सवालमा भने उनीहरुले दरिलो उपस्थिति देखाएका छन् । आन्दोलनकारीदेखि आन्दोलन हेर्नेहरु सबैको मन–मनमा एउटै प्रश्न छ ः बिहीबारको भिडन्त कसले जित्यो । एकले अर्कालाई सिध्याने धम्की दिएपनि एमालेका महेश बस्नेत र व्यवसायी दुर्गा प्रसाईं सडक कब्जा गर्न सफल भए । विगतमा सामाजिक सञ्जाल हुँदै वाक युद्धमा उत्रिएका उनीहरु बिहीबार आमनेसामने जस्तै भए ।

दुबै समूहले माइतीघरमा अराजकता मच्चाउने डरले गृह प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा लगाउँदै युवा संघलाई तीनकुने र दुर्गा प्रसाईंलाई बल्खु क्षेत्र आन्दोलनका लागि भाग लगाइदिएको थियो । बिहान हेर्दा सबै सामान्य थियो । तर मध्याह्नतिर भने एक्कासी बल्खु क्षेत्र तनावग्रस्त बन्यो । दुर्गा प्रसाईंका सर्मथक निषेधित क्षेत्र कालीमाटीतर्फ अगाडि बढ्न खोजेपछि प्रहरी अश्रुग्याँस नै चलाउन बाध्य बनेको थियो । त्यसक्रममा प्रहरी र प्रर्दशनकारीसहित दुई दर्जन बढी घाइते भएका छन् ।

यद्यपि बिहीबारको भीडन्त कसले जित्यो ? सबैको आ–आफ्नै विश्लेषण र तर्क छ । तीनुकुनेबाट बस्नेतले दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी दिए । प्रसाईँलाई पूर्व राजाको भूतको संज्ञा दिएका उनले आजैदेखि दुर्गा प्रसाईँ समाप्त भएको घोषणासमेत गरेका छन् ।

गत मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बिच छलफल भएको थियो । जसमा प्रचण्डले ओलीलाई बिहीबारको आन्दोलन रोक्न आग्रह गरेका थिए । ओलीले प्रर्दशन रोक्न नसकिने तर, प्रशासनको आज्ञालाई पालना गर्ने बताएका थिए । केही घण्टा आक्रामक रुपमा प्रस्तुत भएको युवा संघले सुरक्षा थ्रेट हुने गतिविधि भने गरेन । उनीहरुले संयमता अपनाए ।

तर, दुर्गा प्रसाईंका सर्मथकहरुले भने प्रहरीमाथि ढुंगामुढा गर्नेदेखि निषेधित क्षेत्र तोड्नेसम्मका अराजक हर्कत गर्न भ्याए । स्वयं प्रसाई नै पनि भीडको सर्मथन पाएकाले होला झनै अराजक अभिव्यक्ति दिँदै हिंडिरहेका थिए । प्रर्दशन शान्तिपूर्ण बनाउने उद्घोष गरेका प्रसाईं आफैँले सिंहदरवारदेखि काठमाडौंसम्मै कब्जा गर्ने धम्की दिए । श्रीलंकाको मोडल अपनाउने भन्दै देशभरबाट समर्थक भेला गरेर नेतालाई जहाँ भेट्यो त्यही ठोक्नेसम्मका अराजक अभिव्यक्तिमा दुर्गा रमाएका थिए ।

देशमा गणतन्त्र उल्टिने प्रपञ्च भएको भन्दै जस्तोसुकै मुल्य चुकाएर भएपनि प्रतिरोध गर्ने निर्णय गरेको सत्तारुढ दल नेपाली कांग्रेस भने दुई समूह सडकमा भिड्दा चूई बोलेको छैन । लोकतन्त्रको सबैभन्दा ठूलो हिमायती आफूहरु भएको तर्क गर्ने कांग्रेसले पछिल्ला राजनीतिक घटनाक्रममा भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । हिजो राजतन्त्र विरुद्धको मुद्दामा माओवादीसँग मिलेको कांग्रेस अहिले पनि एजेण्डा नहेरी जो बलियो छ त्यसैको पछि लागिरहेको छ । राजावादी सलबलाएको भन्दै माओवादीले त्यस्ता शक्तिविरुद्ध लड्ने बताइरहँदा कांग्रेस भने मध्यमार्गी अभिब्यक्तिमै सीमित छ ।

जसले जति ठूलो हुंकार गरेपनि नागरिक स्तरबाट हेर्दा यी दुबै समूहका आन्दोलन टाईटाई फिस भयो । एजेण्डागत जित कसैले पनि हात पारेनन् । युवासंघले आन्दोलन गर्दैमा महंगी नियन्त्रणमा आईहाल्ने अवस्था छैन । न त दुर्गा प्रसाईंको अभियानले राजतन्त्र फर्कियो । न त २० लाख मुनिको ऋण मिनाहा भयो । भविष्यमा प्रसाईंको राजा फर्काउने र ऋण मिनाहको एजेन्डा नै सायद तुहिने पो हो कि ? दुई व्यक्तिको एजेण्डालाई पार्टीको बिषय बनाउन सफल भएका महेश बस्नेतलाई राजनीतिक फाईदा भयो । दुर्गा प्रसाईंसँग पनि कति सर्मथक रहेछन् भन्ने पुष्टि भयो ।

हजारौँको संख्यामा सडकमा समर्थक उतार्न सफल भएका प्रसाईं आफूलाई नेता ठान्न थालेका छन् । व्यवसायबाट टाट पल्टिएपछि गर या मरको अवस्थामा पुगेका दुर्गा प्रसाईं राजनीतिमा होमिएका छन् । अब आन्दोलनको निरन्तरताको धम्कीले उनी सफल नभए सक्किने निश्चित छ । साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जनता सडक ओराल्न सफल भएपनि नीति, विचार र सिद्दान्तबिना फगत निजी र दलीय स्वार्थमा सीमित छ भन्ने बुझ्न कठिन छैन ।