Breaking

सामाजिक सञ्जाल हाबी हुँदा टेलिभिजनमाथि प्रश्न, लोकतन्त्रमाथि प्रहार, राज्यको ध्यानै गएन


काठमाडौँ — मंगलबार विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसंघीय महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । विश्व जगत्मा रेडियोको माध्यमबाट सूचना सम्प्रेषण भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि मानिन्छ, टेलिभिजन ।

सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । जसले गर्दा छोटो समयमा नै सशक्त सञ्चार माध्यमको पहिचान बनाउन सफल टेलिभिजनलाई सन् १९९६ को डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले प्रत्येक वर्ष २१ नोभेम्बरमा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो । सन् १९३६ मा पहिलोपटक बेलायतबाट प्रशारण भएको टेलिभिजन त्यसपछि भने १९३९ मा अमेरिकाबाट टेलिभिजनको नियमित प्रशारण सुरु भएको थियो । तर, यसअघि नै अमेरिकामा थुप्रै टेलिभिजन च्यानलले परीक्षण प्रशारण तथा भिडियो प्रशारण गरिसकेका थिए । नेपालमा भने सन् १९७० ताका टेलिभिजन सेटहरु भित्रिएको पाइन्छ ।

२०४१ माघ १७ गते नेपालमै पहिलो नेपाल टेलिभिजनको सुरुवात भएको थियो । करिब सत्र वर्षसम सरकारी टिभीको एकाधिकार रहेको नेपालमा २०५८ सालबाट निजी क्षेत्रबाट टेलिभिजन प्रशारण सुरु भएको इतिहास छ । विश्व टेलिभिजन दिवसको सन्दर्भमा सञ्चारको प्रभावकारी माध्यम हुनुको कारणले पनि राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकता कायम गर्न टेलिभिजनको महत्व अझ बढी छ । तर नेपाली टेलिभिजनमा प्रशारण हुने विषयवस्तुको स्तर खस्केको जानकारहरू बताउँछन् ।

टेलिभिजनकै कारण विश्वका एक कुनामा भएको घटना अर्काे कुनामा बस्ने मानिसले हेर्न सक्ने अवस्थाको सिर्जना भएको छ । भलै अहिले प्रविधिको विकासले सञ्चार माध्यमका दायराहरु फराकिला भएका छन् । जसका कारण सामाजिक सञ्जालले टेलिभिजनलाई दबाबमा राखेको हो कि भन्ने आशंका पनि उब्जिएको छ । सामाजिक सञ्जाल व्यक्तिगत सूचना र नेटवर्क प्रवाह गर्ने माध्यम मात्रै भए पनि यसको प्रभाव विश्वभरका सञ्चामाध्यममा परेको छ । सामाजिक सञ्जाल भनेर नियमनको पार्टोलाई ढाकछोप गर्ने काम भइरहेको र यो समस्या बढ्दै जाने हो भने लोकतन्त्रमाथि नै प्रहार हुन सक्ने डर समेत पैदा भएको छ ।

पछिल्लो समय टेलिभिजनको प्रभावकारीता नहुँदा दर्शकहरु माझ यसको लोकप्रियता घट्दै गएको पाइन्छ । कमजोर लगानीमा योजना बिना टेलिभिजन स्थापना हुँदा टेलिभिजनको अवस्था निराशाजनक रहेको छ । सरकारले टेलिभिजन खोल्न आवश्यक वार्षिक कार्ययोजना र कार्यक्रमको ढाँचाको विषयका गाइड लाइन बनाउन नसक्दा टेलिभिजनमा समस्या आएको जानकारहरू दाबी गर्छन् । सरकारले कुनै योजना बिना टेलिभिजन अगाडि बढाउँदा गम्भीर कन्टेन्ट भन्दा पनि सस्ता उत्पादन सामाग्रीमा र टेलिभिजनहरू केन्द्रीत हुने गरेका छन् ।

अधिकांश टेलिभिजनले भवन, स्टुडियो सामग्री, क्यामरा र अन्य भौतिक सामग्रीमा पर्याप्त लगानी गरेपनि जनशक्तिको वृत्ति विकासमा ध्यान दिएको पाइदैन । अनुभवको तुलनामा कम पैसामा नयाँ र कमजोर जनशक्तिमा काम चलाउने प्रवृत्ति बढ्दा आचारसंहिता उल्लंघन हुने र पत्रकारिता क्षेत्र नै बदनाम हुने गरेका छन् । विश्व टेलिभिजन दिवस मनाईरहँदा सूचना र प्रविधिले मारेको फड्कोसँगै प्रभावशाली सञ्चारमाध्यमका रुपमा निरन्तरता पाउन टेलिभिजनहरूले पनि आफूलाई परिस्किृत गर्नु जरुरी छ ।