Breaking

अर्थ मन्त्रालयमाथि प्रचण्डको हाईज्याक, प्रचण्ड ओलीको मिलन–झस्किएका देउवा सत्ता समीक्षामा


काठमाडौँ — पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको एक वर्ष पुग्नै लाग्दासमेत कांग्रेस सरकारका काम कारबाहीबारे समीक्षा गर्न तयार छैन । त्यसमाथि पार्टीभित्रै संस्थापन इतर पक्षको दबाब र सत्ता सहयात्राकै लागि कम्युनिस्टहरु फेरि मिल्न सक्ने आधार बन्दा बल्ल कांग्रेसको चेत फुरेको छ । गठबन्धनमा भएको सहमतिअनुसार अबको एक वर्षपछि प्रचण्ड नेतृत्वको सरकार परिवर्तन हुनेछ । कालान्तरमै कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी सरकारको नेतृत्व गर्नेगरि प्रधानमन्त्री बन्नेसम्मको सहमति नै भएको छ । तर, एक बर्षसम्म सरकारका गलत कामहरुमा समेत मौन सर्मथन जनाईरहेको कांग्रेसले सरकारका कामकारवाहीको समीक्षा गर्न सकेको छैन ।

संस्थापन इतर पक्षले सरकारको आलोचना गरिरहँदा पार्टीभित्र भने त्यो आवाज पनि गौण छ । देशका चर्चित र समसामयिक घटनाक्रममा धारणा बनाउन नसक्ने पार्टीको उपमा पनि कांग्रेसलाई नै जान्छ । यहीबिचमा जाजरकोट भूकम्पमा सरकारको उपस्थिति, टिकटक बन्द गर्ने निर्णय, सुन प्रकरण लगायतका बिभिन्न प्रकरणहरुमा कांग्रेसको संस्थागत धारणा बनेन । व्यवस्थामाथि नै खतरा भाष्य निर्माण गरिदा एमाले र माओवादीले सार्वजनिक रुपमै त्यस्ता प्रवृतिलाई निरुत्साहित गर्ने बताईरहेका छन् ।

त्यसमा पनि कांग्रेसको औपचारिक धारणा आईसकेको छैन । तर, एमाले–माओवादी नजिकिएको खबरले पिरोलिएको कांग्रेस अन्ततः समिक्षाको तयारीमा जुटेको हो । त्यसका लागि कांग्रेसले छिट्टै केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने तयारीमा जुटेको छ । पार्टीमा संस्थापन इतर पक्षका नेता शेखर कोईराला त पटक पटक सरकार नै अराजकतातिर गईरहेकोमा सचेत गराउँछन् ।

कम्युनिष्ट र राजावादी भिडिरहेका बेला मध्यमार्गी इतिहास बोकेको कांग्रेस चुप बस्नुलाई धेरैले आशंकाका दृष्टिले हेरेपनि गठबन्धनलाई नै सर्वदलीय संयन्त्रमा रुपान्तरण गरेको देखिन्छ । कांग्रेसको संस्थापन इतर पक्षले सरकारको नेतृत्वमा प्रचण्डलाई देखि नसहँदा देउवाको दाहिने हात मानिएका अर्थमन्त्री प्रकाशशरण महत र रक्षामन्त्री पूर्णबहादुर खड्कामाथि प्रचण्डको प्रहार रोकिएको छैन ।

अर्थतन्त्र सुधारका उपाय खोज्न अर्थमन्त्रीले डाँक्नुपर्ने बैठक प्रधानमन्त्रीले बोलाउनुले पनि प्रचण्डले अर्थमन्त्रीमाथि हाइज्याक गरेको सोझै अनुमान लगाउन सकिन्छ । यसको अर्थ सरासर अर्थमन्त्री असफल भएको सन्देश जान्छ । बाँकी रहेका पूर्णबहादुर खड्कालाई पनि सेनाका सहायक रथी यमबहादुर अधिकारीलाई चलाएर प्रधानमन्त्री प्रचण्डले चिढ्याइरहेका छन् । त्यसले खड्कामाथि नै नैतिक दवाव बढ्यो । देउवालाई गठबन्धन नफुटाउन बाध्य पार्ने महत र खड्का नै प्रचण्डको सिकार बनेपछि सरकारविरुद्धका आवाज कांग्रेसभित्र बलियो बन्दै जाने देखिन्छ । अदालतको बिषय बनेको टिकटक प्रतिबन्धमा पनि प्रचण्डले झुट बोलेको कांग्रेसको बुझाइ देखिन्छ ।

त्यस्तै पेट्रोलियम पदार्थमा आयल निगमले अचाक्ली मुल्यवृद्धि गर्दा उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री कांग्रेसका रमेश रिजाललाई समेत पेलेर प्रधानमन्त्री प्रचण्डले लोकप्रियताका लागि मूल्य घटाएका थिए । यो अपजस पनि कांग्रेसलाई पचेको छैन । त्यसमाथि व्यवस्था जोगाउने नाममा प्रचण्ड–ओली मिल्ने वातावरण बनेको बताइरहँदा अहिलेको गठबन्धन कायम राख्ने वा तोड्ने भन्ने बिषय देउवाकै हातमा रहेको विश्लेषकहरु बताउँछन् ।

कांग्रेसको संस्थापन इतर पक्षले सरकार फेर्नुपर्ने आवाज बलियो बनाईरहेको अवस्थामा संस्थापन पक्षको मौनतामा रहस्य खोज्नेहरु पनि छन् । यति भनिरहँदा आफ्ना बैठकहरु नै सरकारको समीक्षामा केन्द्रित गर्ने मनस्थितिमा रहेको कांग्रेस चाँडै नै सत्ताको नेतृत्व गर्ने गरी बाटो खोजिरहेको बुझ्न कठिन छैन । तर, संसदको अंकगणित र प्रचण्ड सरकार असफल भए ठूलो दलको हैसियतमा सरकार बनाउने सुनौलो मौकामा रहेको कांग्रेसमा सभापति देउवाले कस्तो कदम चाल्छन् त्यसले नै कांग्रेस र राष्ट्रिय राजनीतिको भविष्य निर्धारण गर्नेछ ।