Breaking

दुर्गा प्रसाईंलाई छाडा छोड्दै प्रचण्ड, राष्ट्रिय गान फेर्दा नारायणकाजी किन चुप ? अराजकको भिड बढ्दै


काठमाडौँ — आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईं झनै अराजक बन्दा पनि सरकार चुपचाप छ । हुँदाहुँदा प्रसाईं देशको राष्ट्रियगान नै फेरेर सार्वजनिक स्थानमै बजाउनेसम्मको गतिविधिमा पुगेका छन् । तर सरकार भने छलफलकै क्रममा रहेको भन्दै जवाफ दिनबाटै पन्छिरहेको छ । यो दृश्यभन्दा पनि तपाईंको ध्यान यहाँ बजाइएको गीतले तान्यो होला । २०६४ साल पछाडि जन्मिएकाहरुका लागि त यो झनै अनौठो धुन हुनसक्छ ।

तर गणतन्त्रका लागि संघर्ष गरेकाहरुलाई यो दृश्य र धुन आश्चर्यको बिषय हुुनसक्छ । राजसंस्था भएको समयको राष्ट्रिय गीत अहिलेको संविधान र व्यवस्था कुनैले पनि चिन्दैन । तर गणतन्त्रवादीहरुको आर्शिवादले ब्यापार गर्ने सपना चकनाचुर भएपछि राजाको गीत गाउन थालेका दुर्गा प्रसाईंले राजतन्त्रको बेलाको राष्ट्रियगान सार्वजनिक कार्यक्रममै बजाएका छन् । मंसिर ७ गतेको भेलाको पूर्वसन्ध्यामा जनकपुर पुगेका प्रसाईंले विद्रोहको बिरुवा रोपिदिएको र त्यो बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

सार्वजनिक कार्यक्रममै वर्तमान राष्ट्रियगानको अपमान गर्दासमेत सरकार चुपचाप छ । यसको अपमान गरे के सजाय हुन्छ भन्नेबारे ऐन कानुनमा समेत उल्लेख छैन । राष्ट्रिय झण्डा तथा राष्ट्रिय गानको प्रयोग सम्बन्धि कार्यविधिमा राष्ट्रिय गानको प्रयोग भए–नभएकोबारे प्रमुख जिल्ला अधिकारीले अनुगमन गर्ने उल्लेख छ । तर गृह मन्त्रालय भने छलफलमै रहेको भन्दै पन्छिएको छ ।

पछिल्लो १ हप्ताको अवधिमा मात्रै प्रसाईंका थुप्रै अराजकता छरपष्ट भईसकेका छन् । वैंक तथा वित्तिय संस्थाका कारण जनता रुनु परेको भन्दै २० लाखभन्दा तलको ऋण मिनाहा गर्नुपर्ने माग राखिरहेका प्रसाईं आफैँ जनतालाई सास्ती दिनमा ब्यस्त छन् । झापास्थित बीएण्डसी अस्पतालले गम्भीर अवस्थामा जलनको उपचार गराइरहेका बिरामीलाई प्रसाईंले उपचार खर्च बुझाएरमात्र रिफर गर्न भनेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग विवाद नै भयो ।

प्रसाईंले ‘सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने’ भनेपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँबायाँ भए प्रहरी लगाएर थुनाइदिने’ चेतावनी समेत दिए । यसले प्रसाईं व्यवस्था र जनताका लागि नभई आफ्ना लागि अराजतकको हुल जम्मा गर्दैछन् भन्ने प्रष्ट हुन्छ । ऋण कहिले तिर्ने भन्ने बैंक म्यानेजरहरुको जवाफमा प्रसाईंले ‘मंसिर ७ गतेको आन्दोलनले के माहौल बन्छ त्यसपछि हेरौंला’ भन्ने जवाफ दिनेगरेको हाउगुजी पनि छ । अर्थात प्रसाईंको आन्दोलनको चपेटामा बैंकहरु पनि परेका छन् । सार्वजनिक मञ्चमा गर्जिने प्रसाईं जब प्रहरीकहाँ पुग्छन् तब, कर्कलो गलेजसरी फतक्कै गल्छन् र उनको बोली बन्द हुन्छ ।

अनेक बाहना खोज्न थाल्छन् । नेपाल प्रहरीको साइबर व्युरोले उनीविरुद्ध परेको जाहेरीका आधारमा सोधपुछ गर्न बोलायो तर गएनन् । प्रहरीले घरमै पुगेर पक्राउ गरेर बयान लिन खोज्दा थरथर काँप्न थालेका थिए । अर्थात प्रसाईं सार्वजनिक खपतका लागि आधारहीन बिषयसमेत बोल्न पछि पर्दैनन् भन्ने प्रष्ट छ । प्रसाईंका यस्ता गतिविधिबारे कतिपयले परिवर्तनको आधारै प्रसाईं हुन् कि भन्ने भाष्य निर्माण गरेर राजनीतिक फाईदा लिन खोज्दा विश्लेषक सरोज मिश्र भने अराजकताको जरो समयमै उखेल्न नसके समाज झनै भाँडिने जिकिर गर्छन् ।

मंसिर ७ गते बृहत नागरिक मुक्ति आन्दोलनको आयोजना गरेका प्रसाईंलाई काउन्टर दिन तम्सिएको एमाले सम्बद्ध युवासंघसमेत हरामदेखि राम पनि डराए भनेझैं अब जाईलाग्नु भन्दा परै बस्ने मनस्थितिमा पुगेको देखिन्छ । महंगीका विरुद्ध भन्दै प्रसाईंकै कार्यक्रमका लागि कार्यक्रम जुधाएको युुवासंघ सामान्य तरिकाको कार्यक्रमा मात्रै गर्ने मनस्थितिमा पुगेको देखिन्छ । अराजकताको कारक मान्दै टिकटक बन्द गर्ने निर्णयमा पुगेको सरकार अराजकता बढाउने र देशको वर्तमान राष्ट्रिय गान नै अस्वीकार गर्ने प्रसाईंसामु दह्रो उभिन डराइरहेको देखिन्छ । यद्यपि, प्रधानमन्त्री प्रचण्डले व्यवस्थाविरुद्ध आवाज उठाउनेहरुलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

अराजकता नियन्त्रण गर्ने भन्दै हौसिएको सरकार अराजकहरुकै नियन्त्रणबारे दोधरामा छ । सरकार आफैँ अराजक रहेकाले अराजकहरुमाथि नियन्त्रण गर्न नसक्ने भाष्यसमेत निर्माण हुन थालेका छन् । एकातिर प्रसाईंलाई नपक्रिए आफ्नै धोती खुस्किने डरमा रहेका दलहरु अर्कोतर्फ उनलाई पक्राउ गरि हाले नेता बन्ने डरमा पनि देखिन्छ ।