Breaking

भावनाले जोडेको भाइटीका: आफ्ना नहुनेको कम छैन पीडा, दृश्यमा यस्तो देखियो


काठमाडौँ — वर्षको एकदिन भाइटीकामा मात्रै खुल्ने रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा आज दिनभर सर्वसाधारणको घुँइचो लाग्यो । आफ्नो दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वरमा गई भाइटीका लगाउने परम्परा रहेको छ । हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन, भाइटीका लगाउने वा लगाईदिने मन कसलाई नहोला र ? दाजुभाइ तथा दिदीबहिनी हुनेहरुले त एकआपसमा टीका लगाउँछन् ।

विदेशिएकाहरु समेत भाइटीका थाप्नकै लागि स्वदेश फर्किन्छन् । टाढिएका दिदिबहिनी–दाजुभाईहरुको मिलन गराउने चाड पनि भाइटीका हो । तर दिदीबहिनी–दाजुभाई नहुनेहरुलाई तिहार खल्लो महशुस हुनु स्वभाविक हो । उनीहरुका लागि वर्षको एक दिन मात्रै खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यसबर्ष पनि खुला रह्यो । बिहानैदेख मन्दिरमा गई दर्शन गरेपछि मन्दिर परिसरमा रहेका दिदीबहिनी एवं दाजुभाइसँग टीका लगाउँनेहरुको भीड देखिन्थ्यो ।

खेम ढकालकी एक दिदी थिइन् । झापा जान आफूले पनि नभ्याएको र दिदीको घरमा शुतक परेकाले उनले टीका लगाउन पाएनन् । त्यसपछि उनी बालगोपालेश्वर पुगे । भेटघाट र छुट्टै पारिवारिक जमघट हुने भएकालै आफ्नै दिदीको हातबाट टीका लगाउँदा माहौल नै छुट्टै हुन्छ । तर, यहा आएर पनि आफ्नै दिदीबहिनीले टीका लगाईदिएजस्तो अनुभूति भएको उनी सुनाउँछन् । सञ्जु मर्हजनलाई बालगोपालेश्वरमा आएर टीका लगाईदिँदै आएको १० बर्ष भयो ।

दिदीबहिनी नभएर वालगोपालेश्वर पुग्ने दाजुभाईबाट आशिष पाउँदा खुशी लाग्ने उनी सुनाउँछिन् । धनमाया श्रेष्ठले टीका लगाइदिन वालगोपालेश्वर पुग्न थालेको तीन वर्ष भयो । उनका आफ्नै दाजुभाई छैनन् । काकाका छोराहरु त छन् तर वालगोपालेश्वर पुगेपछि मात्रै उनलाई आनन्द लाग्छ । भाइ यँही भएको महशुस हुने उनी सुनाउँछिन् । दाजुभाईहरुलाई टीका लगाइदिन पाउँदा खुशी लाग्ने गरेको उनी बताउँछिन् ।

राजेन्द्र खड्गी आफ्ना दुई दिदीको मृत्यु भईसकेकाले टीका लगाउन बालगोपालेश्वर पुगेको सुनाउँछन् । नेपालको चिनारी नै संस्कृति भएको बताउँदै आफ्नो संस्कृति र परम्परा बचाउनुपर्ने र यसरी टीका लगाउन पाउँदा खुशी लागेको सुनाउँछन् ।घरमा दाजुभाइ दिदीबहिनीसँगै बसेर टीका लगाउन पाउनेहरुले त खुशी महशुस गरे होलान् ।

तर, चाडबाड तब खल्लो महशुस हुन्छ, जब चाडबाडमै नातेदारहरु साथमा हुँदैनन् । अर्थात चाडबाडमा हुर्ने सम्मिलन र पुनर्मिलनले त्यस्ता पर्वको महत्व उनीहरुलाई नै बढि थाहा हुन्छ । बालगोपालेश्वरमा यसबर्ष पनि आफ्ना दिदीबिहनी तथा दाजुभाई नभएका तथा बाध्यताले टाढा भएकाहरुले मन्दिर परिसरमै दिदीबहिनी पाउँदा हर्षित देखिन्थे ।