विदेश

इजरायल–हमास युद्ध: अस्पताल नै चिहान बने, कुकुरको आहार बन्दै शव


काठमाडौँ — अत्यन्तै जटिल र संवेदनशील प्रक्रिया हुने ठाँउ अस्पतालमा कुनैपनि किसिमको हिंसा बर्जित छ । तर, इजरायल र हमासबीचको युद्धमा अस्पतालसमेत रणभूमिमा परिणत हुँदा अस्पताल चिहान जस्तै बन्न पुगेको छ । अस्पतालमाथि भइरहेको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाका राष्ट्रपति जो बाइडेनलेइजरायललाई गाजाको ठूलो अस्पताल अल शिफाको रक्षा गर्न आग्रह गरेका छन् ।

अस्पताल स्वास्थ्य उपचारका लागि बिरामी मानिसहरु जाने ठाँउ हो।कुनै पनि बेला आइपर्ने विपद् तथा महामारी व्यवस्थापनको लागि सधैँ तयारी अवस्थामा हुनु पर्ने अस्पतालजतिसुकै जटिल परिस्थितिमा पनि चुस्त दुरुस्त हुनुपर्छ । तर,अहिले मध्यपूर्वमा इजरायल र हमासबीच भइरहेकोयुद्धले गाजा क्षेत्रमा रहेका अस्पतालको हालत भने दर्दनाक छ । हाल इजरायल र हमासबीचको लडाईको चपेटामा अस्पताल परेको छ । विश्व स्वास्थ्य संगठनकै भनाइलाई लिने हो भने गाजाकोसबैभन्दा ठूलो सात सय शैय्याको अलशिफा अस्पताल चिहान जस्तै बनेको छ ।

जहाँ अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो लागेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले कम्तिमा २ हजार ३०० व्यक्ति अझै अस्पताल भित्र रहेको बताएको छ । जसमा छ सय ५० बिरामी, दुई सयदेखि पाँचसय कर्मचारी र लगभग १५०० जना आश्रय खोजिरहेका छन् । अल–शिफाका प्रबन्धक डाक्टर मोहम्मद अबू सेलमियाका अनुसार पछिल्लो केही दिनमा अक्सिजनको अभावका कारण भर्खरै जन्मिएका तीन शिशुसहित ३२ जनाको मृत्यु भएको छ ।

बिजुली कटौतीका कारण इन्क्यूबेटरमा राख्न नसक्दा दर्जनौंबच्चाहरू र ४५ मिर्गाैला रोगीलाई डायलासिस सुविधा उपलब्ध गराउन नसक्दा उनीहरुको भाग्यबारे चिन्ता बढेको छ । अस्पताल प्रबन्धक सेलमियाका अनुसार करिब एक सय ५० शव सडिएको अवस्थामाछ ।

अस्पताल वरपर अलपत्र शवलाई व्यवस्थापन गर्न सकिएको छैन भने गाड्न वा कुनै किसिमको शवगृहमा लैजान पनि नदिँदाअस्पतालमा रहेका शवहरू कुकुरहरुले खानसमेत थालेको प्रबन्धक सेलमियाले बीबीसीलाई बताएका छन् । त्यस्तै शवहरूको व्यवस्थापन गर्न सकस भएको डब्ल्यूूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले जनाएका छन् ।


अस्पतालमा फसेका बिरामी तथा बच्चाहरूलाई बाहिर निकाल्न व्यावहारिक समाधानको प्रस्ताव गरिरहेको भनिए पनि हमासले सेनाको प्रस्ताव स्वीकार नगरेको इजरायली अधिकारीहरुको दाबी छ । अस्पताललाई जेनेरेटर र इन्धन उपलब्ध गराउने तथा अस्पतालमा अलपत्र बिरामी तथा शिशुहरुलाई एम्बुलेन्समार्फत बाहिर निकाल्ने प्रस्ताव गरे पनि हमासले अस्वीकार गरेको इजरायलको आरोप छ । अस्पतालमा अहिले देखिएको दृश्यलाई देखाएर हमासले इजरायलप्रतिको भावना भड्काउन चाहिरहेको पनि इजरायली पक्षको दाबी छ ।

यस्तै हमासले अस्पताल मुनि सुरुङहरूमा कमाण्ड एन्डकन्ट्रोल सेन्टर सञ्चालन गरेको पनि इजरायलको आरोप छ । जसलाई हमास र अस्पताल दुवैले अस्वीकार गरेका छन् ।इजरायलले अस्पतालहरूलाई प्रत्यक्ष रूपमा लक्षित नगरेको तर अल–शिफा वरिपरि द्वन्द्व भएको भने स्वीकार गरेको छ।अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा ११ हजारभन्दा बढी मानिस मारिएको बताएको छ । जसमध्ये चार हजार पाँच सयभन्दा बढी बालबालिका छन् ।

त्यस्तै डब्लुएचओका अनुसार युद्ध सुरु भएयता २२ अस्पतालसहित ३६ स्वास्थ्य संस्थाहरू क्षतिग्रस्त भएको र अहिले केही आँैलामा गन्न सकिने अस्पताल मात्र सञ्चालनमा रहेका छन्।बीबीसीकाअनुसार कामदारहरूसँग सम्पर्क गर्ने प्रयास प्रायः असफल हुँदा त्यहाँ सञ्चारसमेत ब्ल्याकआउट भएको छ । कुनै घटना घटेमा र त्यसको प्रभावकारी तथा उचित व्यवस्थापन हुन नसकेमा स्थिति बिग्रिन गई त्यसको असर अरुलाई पनि पर्न जान्छ ।

अन्य बिरामीलाई क्षति हुने परिस्थितिलाई समेत मध्यनजर गर्दै अस्पताल सधै शान्त र सुरक्षित रहनुपर्छ ।मानिसको जीवन मरणसँग जोडिएको व्यवस्थित र संवेदनशील संरचना कुनै पनि बाहनामा रणभूमि बन्ने कल्पनासमेत गर्न सकिँदैन । तर, अहिले एम्बुलेन्स हुनु पर्ने अस्पतालमा गेटभित्र ट्यांक र बख्तरबन्द जस्ता सवारी साधन हुँदा यसले सीमा त नाघेको छ नै जस्तै मानव जीवनको सुरुवात हुने र अन्त्य हुने ठाँउ अस्पताल डब्ल्यूएचओले भने जस्तै चिहान बन्दै जानु प्रेम, स्नेह भावना र मानवताविपरीतको पराकाष्ठा हो ।