Breaking

टिकटक प्रतिबन्धन विरुद्ध कड्किए गगन–विश्व,पर्दैछ यति धेरै घाटा, के नेपालमा मात्र हो नचल्ने ?


काठमाडौँ — सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयपछि मिश्रित प्रतिक्रिया आइरहेको छ । सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गरेको सरकारको तर्क छ । जुन निर्णयलाई कतिपयले राम्रो र कतिपयले सरकार सामाजिक सन्जालबाट डराएको प्रतिक्रिया जनाएका छन् ।

यो निर्णयपछि राजनीतिक नेतृत्वदेखि समाजसम्म दुईधारमा विभक्त देखिएको छ । यो सन्दर्भमा पक्ष र विपक्षमा तर्क गर्नेहरु के भन्छन त ? कहिले ट्याप ट्याप त कहिले उच्छृंखल गतिविधि, अनि कहिले गिफ्टका नाममा लाईभमै अनधिकृत हर्कत गर्ने विशेषता बनेको टिकटक अन्तत नेपालमा पनि बन्द भएको छ । अर्थात यसको रचात्मक भन्दा नकारात्मक प्रयोग बढेको भन्दै गुनासो बढिरहेका वेला विश्वका धेरै देशहरु झै नेपाल पनि टिकटक नचल्ने देशको सूचिमा समावेश भएको हो । विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताको सङ्ख्या रहेको तथा सामाजिक सन्जालमध्ये लोकप्रियताको शिखर चुमेको टिकटकलाई यसअघि नै छिमेकि मुलुक भारत,अमेरिकासहित कैयौँ देशहरूले प्रतिबन्ध लगाईसकेका छन ।

अहिलेसम्म यी वाहेक अफगानिस्तान, अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, ईयू, फ्रान्स, लाट्भिया, द नेदरल्यान्ड्स, न्यूजील्याण्ड, नर्वे, पाकिस्तान, ताइवान, यूकेले पनि टिकटकमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाईसकेका छन । सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद वैठकले यो निर्णय गर्दा सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन प्रयोग गरिएको तर्क गरिएको छ । यद्यपी साना व्यवसायी र केही व्यक्तिहरुका लागि टिकटक बरदान सावित हुँदा यसैका कारण उनिहरुको व्यवसाय फस्टाएको र जिवन नै परिवर्तन गरेको धेरै उदाहरणहरु छन् ।

त्यस्तै आफूलाई रचनात्मक रुपमा प्रयोग गर्नेहरुले प्रतिभा देखाएर ठुलै फड्को मार्दा समाज र विशेषगरी बच्चाहरु माथी पर्ने नकारात्मक पक्ष भने दर्दानाक बन्न थालेको विश्लेषण हँुदै आएको थियो । जसलाई नियन्त्रण नभई नियमन गर्न जरुरी रहेको आवाज उठिरहँदा लामो समयदेखि टिकटकविरुद्ध गुनासो आइरहेको भन्दै मन्त्रिपरिषद्को बैठकले त्यसबारे निर्णय लिएको सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भनाइ छ ।

तर यसलाई लोकतन्त्र माथिकै प्रश्न भन्दै आलोचना गर्नेहरु पनि छन । सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएपनि बन्द नै गरिनु सरासर गलत भएको दावी गर्नेहरुको तर्कका विच सत्तारुढ दल कांग्रेसकै महामन्त्री गगन थापाले समेत यसमा आपत्ती जनाएका छन् । सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको संज्ञा दिँदै थापाले यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय भएको तर्क गरेका छन ।

यसले अभिव्यक्ति तथा व्ययक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने उनको भनाई छ । त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि यसमा आपत्ती जनाएका छन । टिकटक मनोरञ्जनको साझा स्टेज बनेको, कलाकार जन्माएको, कयौंले कमाएको तथा व्यवसाय प्रवर्द्धन गरेको उदाहरण दिँदै उनले यो निर्णय अविलम्ब फिर्ता गर्न आग्रह गरेका छन । तर उन्नत लोकतन्त्र भएकै र प्रविधिमा नेपाल भन्दा सयौ बर्ष अघि भएका देशहरुले नै टिकटक बन्द गर्नुको विकल्प नदेख्दा नेपालमा नियमन कसरी सम्भव छ भन्ने प्रश्न उठिरहेका छन् । यद्यपि, टिकटकमा आफूलाई सक्रिय राखेर विभिन्न तवरले आम्दानी गर्दै आएका टिकटकरहरु तथा दलका नेताहरुले सरकारको यस निर्णयको आलोचना कायम राखेका छन् ।

हुन त कुनै पनि निर्णयप्रति दोहोरो प्रतिक्रिया आउनु नौलो विषय हैन । तर अधिंकाश व्यक्ति खुसी नै देखिएको टिकटक बन्द गर्ने सरकारी निर्णय सरकारले नै कति दिन टिकाउँछ त्यो हेर्न भने बाँकी छ । यद्यपि, निर्णय फिर्ता नै भएपनि दूव्र्यसन कै हदमा देखिएको टिकटक प्रयोगको चक्र टुटाउन भने यति नै पनि पर्याप्त हुनेछ । जहाँ आफू नसुध्रिने अनि नियमनको काम सरकारको हो भन्दै पन्छिनेहरुका लागि सरकारले गज्जबको सवक समेत सिकाएको छ ।