Breaking

कहाँ चुक्यो प्रचण्ड सरकार, गठबन्धन भित्रैबाट उठ्यो प्रश्न, पीडितले राज्य पाएनन्


काठमाडौँ– लोकतान्त्रिक संसदीय व्यवस्थामा गुण र दोषको आधारमा सरकारको समर्थन र आलोचना हुन्छ । विषेशगरी, प्रतिपक्ष दलले आलोचना गर्ने र सत्तारुढ दलले समर्थन गर्ने संसदीय अभ्यास हो । तर, सत्तारुढ दलबाटै सरकारको कार्यशैलीको आलोचना हुन थालेको छ । गठबन्धनमार्फत प्रधानमन्त्रीको कुर्सीमा बसेकै दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दैनिकजसो सत्तापक्षलाई रूझाउने हैरानी परेको छ ।

गत १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि उद्धारमा तदरूकता देखाएका प्रधानमन्त्री प्रचण्डले राहत वितरण कार्यमा ढिलासुस्ती भएको भन्दै सत्तारुढ दलहरुबाटै आलोचना हुन थालेको छ । प्रतिपक्ष दलहरूलाई समेत पछि पार्दै सत्तारुढ दलका नेताहरुले सरकारको आलोचना गरेका छन् । राहत वितरणमा भएको ढिलासुस्तीप्रति नेताहरूले आपत्ति जनाएका छन् ।

प्रमुख सत्तारुढ दलका कांग्रेसका नेताहरू पनि सरकारी कार्यशैलीप्रति आक्रोशित छन् । जबकि, कांग्रेसकै उपसभापति रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापनमा निरन्तर खटिरहेका छन् । कांग्रेसकै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई ११बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । महामन्त्रीद्धयले मंसिर महिनाभित्र सरकारले ५० देखि ६० हजार अस्थायी आवास बनाउन नसके त्रिपालले मात्र पुसको जाडो छेक्न नसक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

भूकम्पपीडितको लागि भन्दै राज्यले खडा गरिएको कोषमा अर्बौ रकम थुप्रे पनि पीडितहरू भने जाडोको समयमा त्रिपालमुनि रात कटाउन बाध्य छन् । केही भूकम्पपीडितको त चिसोकै कारण मृत्युसमेत भइसकेको छ । नयाँ दलको रुपमा उदाएको रास्वपा भने हरसम्भव जनताको मन जित्ने कोसिसमा छ । भूकम्पपीडितलाई राहत र पुनस्र्थापनामा पनि पुराना दलहरू दलीय स्वार्थभन्दा माथि उठ्न नसकेको आरोप रास्वपाको छ ।

भूकम्पले जर्जर बनेको जाजरकोट र रूकुम पश्चिममा पुननिर्माणको नेतृत्व रास्वपालाई दिन नेताहरुले माग गरेका छन् । भूकम्पले थिलथिलो भनेको मनहरूलाई सबै मिलेर राहत र पुनःस्र्थापना गर्नुपर्ने समयमा दलगत स्वार्थमा रुमलिदा पीडितलाई थप पीडा भएको छ । पुराना दलप्रति प्रश्न उठाउने नयाँ दलमाथि पनि अनेक प्रश्न खडा भएका छन् । भूकम्पपीडित राहत आउने आशामा भोको पेट र खुल्ला आकाश मुनि बस्न विवस छन् । संकटको यस घडीमा दलीय स्वार्थ त्यागेर पीडितको घाउमा मलमपट्टी लगाउनतर्फ ध्यान केन्द्रित गर्न जरूरी छ ।