Breaking

सामान्य प्रतिशोधमै हत्या, आफन्त नै मतियार, प्रमिका, भीसा र मोबाईल मृत्युका कारण ?


काठमाडौँ — सामान्य विषयमा विवाद हुँदासमेत कसैको ज्यानै लिनेसम्मको घटनाले प्रसय पाउँदै गएको छ । सामान्य झै–झगडा एवं रिसिईबी सहन गर्न नसक्दा समाजमा आपराधिक घटना बढ्दो क्रममा छ । अपराध गरेको ठहर भएकाहरुले राजनीतिक छत्रछायाँ पाउनु र खुला सीमानाका कारण सहज रुपमा हात–हतियार उपलब्ध हुँदै जानुले पनि आपराधिक गतिविधि बढ्दै गएको देखिन्छ । कार्तिक ८ गते मुगुको मुन्दु गाउँमा एकै परिवारका चार जनाको सामूहिक हत्या भयो ।

दशैंकै रात २८ वर्षीया श्रीदेवी बोहोरा सहित उनका ८ महिनाका छोरा रहर बोहोरा, ८ वर्षीया छोरी अप्सरा बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोरा आफन्तबाटै मारिए । कार्तिक १० गते घटना सार्वजनिक भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले दुई जना अभियुक्तलाई सार्वजनिक गरिसकेको छ । श्रीदेवीले लगाएको कानको सुन लुटन पुगेका गोपाल बोहोरा र उनका साथी काले भनिने गोर्खराज शाह ठकुरीेले बोहोरा परिवार सिध्याईदिए ।

कार्तिक १३ गते कलैयामा प्रधानध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भयो । त्रिपक्षीय प्रेमले उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको दाबी छ । यहि साता नै आर्घखाँचीमा २० रुपैया नतिरेको निहुँमा विवाद हुँदा ७२ वर्षिय वृद्धाको हत्या भयो । अर्घखाँची मालारानी गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको भूमिकास्थान रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले हत्या गरेका प्रहरीको अनुसन्धानले देखाएको छ । कार्तिक महिनामै महोत्तरी हर्दियामा ५० रुपैयाँको सिक्रीमा भएको विवादले १९ वर्षीय वसन्त पासवानको हत्या भयो ।

मेलाबाट किनेर ल्याएको ५० रुपैयाको सिक्री लगाएर फोटो खिच्ने विषयमा विवाद हुँदा पासवानको आफ्नै दुई जना साथीबाट छुरा हानेर हत्या भएको हो । झापामा घरायसी विवाद हुँदा आफ्नै सालोले भिनाजुको खुकुरी र बाँस प्रहार गरी हत्या गरेको अभियोगमा रोशन अधिकारी पक्राउ परेका छन् । भदौ २९ गते शुक्रवार राति काठमाडौको तिनकुने गैह्रीगाउँको मिलमा एकै परिवारका तीन जना सहित चार जनाको हत्या प्रकरण पनि ताजै छ । मोटरसाइकलले सामान्य ठक्कर दिएको रिसिइबीले सिंगो परिवारकै हत्या गरियो ।

सामान्य विषयमा सुरु भएको विवादले ठूलो रुप लिँदा हत्याका शृङ्खला बढ्दो क्रममा छ । घटनाहरु जति बाहिरिने क्रममा छन्, त्यति नै एकपछि अर्को अपराधका शृङ्खलाहरु पनि भईरहेकै छन् । आर्थिक वर्ष २०७९÷८० मा मात्रै पाँच सय बढीको हत्या भएको प्रहरीको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८÷७९ मा झन्डै ६ सय जनाको हत्या भएको तथ्यांकमा उल्लेख छ । यी सबै घटनामा न त ठुलो गिरोह संलग्न देखियो, न त ठुलो आर्थिक लाभकै उदेश्य । सामान्य विषयमा विवाद र प्रतिकारले हत्याको शृङखला निम्तिएको सुरक्षा क्षेत्रका जानकारहरु बताउँछन् । हत्याका शृङ्खलाले निरन्तरता पाउनुमा मनोसामाजिक तनावको उपज भएको कतिपयको बुझाई छ ।

आर्थिक या सामाजिक हिसावले मानिसहरुमा नैराष्यता बढ्दो छ । सामान्य विषयमासमेत चित्त दुखाउने, निहुँ खोज्ने र त्यो विषयलाई पहाड बनाउँदा हत्याजस्ता जघन्य अपराधका घटनाहरु बढिरहेको देखिन्छ । अर्कोतर्फ समाजमा भईरहेका यस्ता घटनामा दोषी ठहर भएकाहरुले पनि राजनीतिक छत्रछायाँमा उन्मुक्ति पाउँदा अपराधले प्रशय पाईरहेको कतिपयको विश्लेषण छ । राजनीतिक दबाब र आर्थिक चलखेलले सजायबाट उन्मुक्ति पाउने भएपछि अपराध गर्नेहरुको मनोबल बढिरहेको सुरक्षा क्षेत्रका जानकारहरुको तर्क छ ।

राजनीतिक आड र पैसाको खेलोकै कारण अपराध गर्नेहरुको मनोबल बढ्दो क्रममा छ । उनीहरुलाई निरुत्साहित गर्नुपर्ने ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिने आममार्फीलेसमेत अपराध कर्ममा लागेकाहरु उत्साहित देखिन्छन् । समाजमा बढ्दै गईरहेको असन्तुष्टि, पारिवारिक बेमेल र अनेक नैराश्य पैदा हुने खालका गतिविधिले यस्ता घटनाहरु भईरहेका छन् । सामान्य झैझगडामासमेत हत्याकै शृङ्खला हुनु दुःखद् छ ।