Breaking

पीडितका घर बनाउँदै विश्व–गगन, तोसिमाको उपचार, जनार्दन भन्छन्– घोटाला गरेको छैन


काठमाडौँ — जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले प्रभावित क्षेत्रमा राजनीतिक दलहरुको उल्लेख्य सक्रियता देखिन्छ । पार्टीका नेतादेखि कार्यकर्तासम्म उद्धारदेखि राहत व्यवस्थापनमा खटिईरहेका छन् । अस्थायी टहरा बनाउनसमेत नेता तथा कार्यकर्ता संलग्न रहँदा प्रभावित क्षेत्रका पीडितले थोरै भएपनि आफ्नोपन महसुस गर्न पाएका छन् । यो दृश्य जाजरकोटको भेरी नगरपालिका ३, माथिल्लो थाप्लेको हो ।

नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापा अस्थायी टहरा निर्माणमा भूकम्प पीडितसँगै जुटेका छन् । उनीहरु प्रभावित क्षेत्रमा पुगेका मात्रै छैनन्, प्रभावित सँगसँगै ढुंगा बोक्ने र गाह्रो लगाउने काम पनि गरिरहेका छन् । संसदको सबैभन्दा ठूलो दल कांग्रेसले महामन्त्रीद्धय शर्मा र थापालाई प्रभावित क्षेत्रमा खटाएको हो । उनीहरु प्रभावित क्षेत्रका जनतासँग यसैगरी हातेमालो गर्दै त्यहाँको बस्तुस्थिति पत्ता लगाएर आवश्यक व्यवस्थापनका लागि केन्द्रीय सरकारसँग समन्वयसमेत गर्नेछन् ।

नेपाली कांग्रेसले जस्तै अरु राजनीतिक दलहरु पनि प्रभावित क्षेत्रमा खटिएका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि आफ्ना नेता, कार्यकर्तालाई प्रभावित क्षेत्रमा खटाएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प गएकै दिन देखाएको सक्रियताले नेता तथा कार्यकर्तामा काम गर्ने जाँगर चलेको छ । रुकुम पश्चिम र जाजरकोटका जनताको दुःखमा हातोमालो गर्न माओवादीका नेतादेखि कार्यकर्ताहरु सक्रिय भईरहेका छन् । रुकुम पश्चिममा पूर्वअर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्माको खटाई प्रशंसा योग्य छ ।

नेकपा एमालेले पनि सबै जनसङ्गठनलाई भूकम्पपीडितको सेवामा जुट्न भनेको छ । भूकम्प गएकै दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता खटिरहेका छन् । सभापति रवि लामिछाने स्वयं केही दिन प्रभावितसँग बिताएर काठमाडौं फर्किएकोमा रास्वपा सांसद तोसिमा कार्की नेतृत्वको टोलीले घाईतेको उपचार गरेको छ ।

नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलेसमेत प्रभावित क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउन खोजिरहेका छन् । राप्रपाले प्रवक्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा टोली खटाउँदा नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीले पनि आफ्ना कार्यकर्ता परिचालित गरेका छन् । तर, उद्दारपछिको राहत वितरणका क्रममा राजनीतिक पहुँच देखाउन खोजिएको भन्दै नेताहरु आलोचनाको सिकार हुनबाट जोगिएनन् । मरेर जनताका लागि काम गर्दागर्दै पनि आफ्नो आलोचना भएको भन्दै प्रभावित क्षेत्रमा खटिएका नेताहरु असन्तुष्ट बनेका छन् ।

उसो त नीतिगत निर्णय गर्नुपर्ने तहमा रहेका केही नेताहरु प्रभावित क्षेत्रमा पुगेर ढुंगा बोक्ने र गाहे लगाएजस्तो गरेर चर्चा कमाउन खोजेको भन्ने आरोप नलागेको होइन । प्रभावित क्षेत्रमा पुग्ने होडबाजीकै कारण राष्ट्रपति रामचन्द्र पौडेललेसमेत चर्को आलोचना खेप्नुप¥यो । चुनावका लागि भोट सुरक्षित गर्नकै लागि नेताहरुको दौडधुप देखिएको भन्ने आरोपसमेत नेताहरुले बेहोर्नुपरिरहेका छन् । चर्चाकै लागि मात्रै पीडितका दुःखसँग खेल्ने काम भएको हो भने त्यो त्यति व्यवहारिक र न्यायोचित कदम होइन ।