Breaking

तिहारमा पटका पड्काउनेलाई हुन्छ यस्ता कारवाही


काठमाडौँ– तिहारमा पटका पड्काउने आम चलनजस्तै बनिसकेको छ । तर पटका पड्काउँदा हुने ध्वनि र वायु प्रदूषणले स्वास्थ्यमा असर पुर्‍याउन सक्छ । पटाका जति धेरै ठूलो पड्किने हुन्छ, उति नै बढी मानव स्वास्थ्यका लागि हानिकारक मानिएका रसायन र धातुहरू मिलाइएको हुन्छ । जसले वतावरणीय प्रदूषण बढाउँछ । पटकामा मानव शरीरका लागि अति खतरनाक मानिएका लिड, सल्फरडाइअक्साइड, नाइट्रस अक्साइड र बारुद आदि पदार्थ र रसायनको प्रयोग असीमित मात्रामा गरिएको हुन्छ । यसरी बनाइएका पटाका पड्काएपछि धुवाँको माध्यमबाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्छ । पछि हामीले लिएको श्वासबाट ती खतरनाक धातु मिश्रित रसायन शरीरमा प्रवेश भई फोक्सोसम्म पुग्ने गर्छ । यसबाट दम, एलर्जी मात्रै नभएर क्यान्सर जस्ता प्राणघातक रोगसमेत लाग्न सक्छ ।

उज्यालको पर्व तिहारमा पटकाकै कारण प्रदूषणका साथै धनजनको समेत ठूलो क्षति हुने भएकाले प्रहरीले पटका नपड्काउन अनुरोध गर्छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले पटका पड्काउन निषेध गरेको छ । प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० दिनेशराज मैनालीले तिहारमा पटका पड्काउन निषेध गरेको र जबर्जस्ती पड्काउनेलाई तत्काल पक्राउ गरी कारवाही गर्ने बताए । पटका भित्रिन नियन्त्रण गर्न प्रत्येक नाकामा प्रहरी परिचालित छन्, पटका नेपाल भित्रिनै पाएन भने पटकाको कारण हुन सक्ने क्षति रोक्न सकिन्छ ।

पटका बेच्ने र पड्काउनेलाई हुन्छ यस्ता कारवाही

पटका पड्काउने वा बिक्री वितरण गरेको पाइएमा प्रहरीले पक्राउ गरी कारवाही गर्ने एसपी मैनाली बताउँछन् । कडा विस्फोटक पदार्थ भेटिए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । नरम विस्फोटक पदार्थ भेटिए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन्छ, उनी भन्छन्, सामान्य प्रकारको विस्फोटक पदार्थ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसैगरी विस्फोटक पदार्थ उत्पादन वा निर्माण गर्ने र कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।