Breaking

ओलीको सत्ता यात्राले विद्यालाई सकस, प्रचण्ड सत्ता जोखिम, नयाँ बन्ने समीकरण कस्तो ?


काठमाडौँ — कोशीमा कांग्रेसको विद्रोही पक्षलाई मुख्यमन्त्रीमा सर्मथन गरेर केन्द्रीय सत्ता राजनीतिमै उलटफेरको अवस्था ल्याउने रणनीतिमा रहेको एमाले आफैँ सरकारबाट बाहिरिएको छ । तर सर्मथन कायम राख्नुले कोशीमा अर्को ढोक्सा थापिएको विश्लेषण पनि भइरहेको छ । त्यसमाथि सर्वदलीय बैठकमा देखिएको दलहरुको एकतालाई पनि नयाँ सत्ता समीकरणका रुपमा हेर्न थालिएको छ । महाभारतमा शकुनीले कम्तीमात्रै कुटिल चाल चाल्छन् होलान्, जति नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चाल्नछन् । गत पुस १० मा देउवा बसेको बालुवाटारबाट पुष्पकमल दाहाल प्रचण्डलाई बालकोटमा बास बसाउन सफल भएका ओलीले एक महिना पनि गठबन्धन टिकाउन सकेनन् ।

देउवाले प्रचण्ड कब्जा गरेपछि ओली प्रचण्डविरुद्ध सतोश्राप गर्दै मैदानमा मात्रै उत्रिएनन् कि प्रचण्डलाई वर्ग दुश्मन देख्नेदेखि प्रचण्ड छउञ्जेल देश उबोँ नलाग्नेसम्मका अभिव्यक्ति दिए । अर्को निर्वाचनसम्म प्रतिपक्षमा बसेर मात्रै राजनीति नचल्ने बुझेका ओलीले कोशीका विद्रोही कांग्रेसलाई साथ लिएर सत्तायात्राको थालनी गर्ने रणनीति बनाएका थिए । तर पूर्वसहमति विपरीत मुख्यमन्त्री केदार कार्कीले कांग्रेस र माओवादीका सांसदहरुलाईसमेत मन्त्री बनाएपछि एमाले चिढियो ।

कात्तिक २० गते कोशी सरकारबाट एमाले बाहिरिएर पनि मुख्यमन्त्रीलाई दिएको सर्मथन भने कायम राख्नुले एमालेले फेरि अर्को ढोक्सा थापेको आकलन भइरहेको छ । अस्थीरता निम्त्याउने अंकगणितका कारण सरकारमा विभिन्न पार्टी आउने र जाने क्रम कोशीमा पनि चलिरहने छ । कांग्रेसको विद्रोही पक्षलाई एमालेले त्यसै साथ नदिएको अड्कल भइरहँदा उनीहरुबीच भएको सहमति भने बाहिरिएको छैन ।

त्यसैले उनीहरूबीच पुनः हुनसक्ने साझेदारीको सम्भावनालाई कायमै राखेर मौका मिल्दा सरकारमा मन्त्री पठाउने गरी एमालेले बाटो खुला राखेको छ । अर्कोतर्फ मध्यावधि निर्वाचनमा गए प्रदेशको नामकरणलाई नै मुद्दा बनाएर पहिचानवादीको पल्ला भारी हुने र चुनावमा पत्तासाफ हुने एमालेलाई चिन्ता छ । यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिए अस्थीरताको दाग आफूमाथि लाग्नेमा पनि एमाले सचेत देखिन्छ । प्रदेशमा सभामुख पद खाली रहेका बेला त्यसका लागि पनि एमालेले सर्मथन कायम राख्ने ढोक्सा थापेको विश्लेषण छ ।

पुष १० को सहमति नै प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध फायर नै खोलेका थिए । तर आफ्नै पार्टीका नेता तस्करको सूचीमा आउन थालेपछि त्यो अभियान पनि तुहिएको छ । त्यस क्रममा प्रचण्डले पशुपतिमा जलहरी राख्ने घोटाला भएकोदेखि गिरिबन्धुमा ओलीलाई नै डाम्नेसम्मका चेतावनी समेत दिए । त्यसमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुुर देउवाले आफ्नी श्रीमतीलाई जोगाउन प्रहरी सरुवासम्मका चाल चल्दा टोपबहादुर रायमाझीलाई जेल कोचेकोमा ओली रुष्ट छन् ।

प्रचण्डलाई सत्ताबाट हटाउन कांग्रेस सभापति देउवालाई पटक–पटक प्रधानमन्त्रीका लागि प्रस्ताव गरेपनि देउवा टसमससम्म भएनन् । त्यसमाथि आफ्नै नाती दुर्गा प्रसाईं बैगुनी बनेपछि उनलाई पक्राउ गराउन उनै प्रधानमन्त्री प्रचण्डसँग हारगुहार गर्नप¥यो । प्रचण्ड जति दिन प्रधानमन्त्री रहन्छन् देश त्यति पछाडी धकेलिने अभिव्यक्ति बारम्बार आईरहेका छन् । त्यसकै प्रतिक्रियास्वरुप ब्यबस्थामाथि नै प्रश्न उठ्न थालेको विश्लेषण एमालेले गर्न थालेको छ ।

देशी र विदेशी शक्तिहरुबाट चौतर्फी घेराबन्दीमा रहेको अभिव्यक्ति पनि पटक–पटक एमालेको शीर्ष नेतृत्व तहबाटै आईरहेको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १० महिना पुग्न नपाउदै ओलीकै कित्तामा रहेका रवि लामिछाने र राजेन्द्र पनि अहिले उनको कित्तामा छैनन् । त्यसमाथि संगठन सुदृढीकरण अभियानमा मिलेको असफलतादेखि पार्टीका प्रदेश अधिवेशनमा ओलीकै विकल्प खोजिन थालेपछि पनि ओली झस्किएका छन् ।

पार्टीमा विद्यादेवि भण्डारी पक्षधरले ओलीमाथि दवाव बढाएको बुभेपछि उनी थप झस्किएका छन् । सबैतिरबाट पेलिएको महसुस हुन थालेपछि ओली अब आन्तरिक र वाह्य रुपमा कसरी मजवुद बन्ने भन्ने रणनीतिमा लागेको देखिन्छ । कार्यकर्ताको पंक्ति आफूतिर एकीकृत गर्नका लागि पनि ओलीलाई सत्ता अपरिहार्य भइसकेको विश्लेषण हुन थालेको छ ।

एमाले, माओवादीको नेतृत्वबाट सत्ता खोस्न खोजिरहेको छ भने कांग्रेस पनि आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयासरत छ । यस्तोमा स्वार्थ मिलेमा केही समयमै सरकार परिवर्तन र राजनीतिमा उलटफेरको अवस्था बन्नसक्ने विश्लेषण भईरहेको छ । यस बिषयमा ठूला दलहरुलाई एक ठाउँमा ल्याएको सर्वदलीय बैठक नै नयाँ राजनीतिक कोर्षका रुपमा हेरिदा एमाले अध्यक्ष ओलीले पनि भिडेर नभई मिलेरै प्रचण्ड गलाउने रणनीतिमा लागेको बुझ्न समस्या छैन । त्यसमाथि सर्वदलीय सहमति बनाएर सरकार बनाउने रणनीति सफल हुन्छ वा हुँदैन त्यो भने भविश्यले देखाउला ।