Breaking

भूकम्पमा भारत–चीन भिडन्त, सेनाका जहाज नेपालमा, भारतले पूर्णबहादुर रोज्दा नारायणकाजी चीनतिर


काठमाडौँ — भुकम्पपीडितको उद्धार, राहत वितरण र व्यवस्थापनमा सिंगो मुलुकसँगै अन्तर्राष्ट्रिय समुदायकोसमेत सहयोग जुटिरहेको छ । तर विडम्बना विभिन्न क्षेत्रबाट जुटिरहेको राहत वितरणमै समस्या देखिएको छ । साथै छिमेकी मुलुकहरुले उपलब्ध गराएको राहत ग्रहणमा पनि शीर्ष नेतृत्वले राजनीतिक रंग देखाएका छन् । जाजरकोट भूकम्पबाट प्रभावितका लागि दुई छिमकी मुलुक भारत र चीनले आफ्नै सैन्य विमानमार्फत नेपालमा राहत सामग्री ल्याएर हस्तान्तरण गरेका छन् । यो दृश्य सामान्य लागेपनि केहीले भने दुई छिमेकीको राहत सहयोगमा देखिएको होडबाजीलाई शंकाको दृष्टिले हेरेका छन् ।


केरुङ–रसुवागढी हुँदै झन्डै १० करोड बराबरको राहत सामाग्री पठाइरहेको चीनले बुधबार एकाएक चिनियाँ सेनाको दुईवटा हवाई जहाजमार्फत पोखरा विमानस्थलमा २८ करोड रुपैयाँ बराबरको राहत सामग्री झा¥यो । त्यो पनि आफैँले निमार्ण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । चीन सरकारले पठाएको राहत सामग्रीे बुझ्न उपप्रधान एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा पुगेका थिए । गृहमन्त्री श्रेष्ठलाई नेपालका लागि चिनियाँ राजदूत सोङले राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

चीन निकट गृहमन्त्री श्रेष्ठले राहत सामाग्री बुझ्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सम्झिँदै चीन सरकारप्रति कृतज्ञाता ज्ञापन गरे । साथै भूराजनीतिक प्रतिस्पर्धाको संकेतप्रति उनले शंका नगर्न आग्रह गर्न पनि भ्याए । नेपालमा भूकम्प जानसाथ कसले कति राहत घोषणा गर्ने भन्ने प्रतिस्पर्धा जस्तो गरेका भारत र चीन राहत सामाग्री हस्तान्तरणमासमेत होडबाजीमा उत्रिएको स्पष्ट छ । भारतले सोमवार मात्रै राहत सामग्री बोकेको सेनाको हवाई जहाज नेपाल पठाएको थियो । त्यो पनि भूकम्प गएको जाजरकोट नजिकको भूगोल नेपालगञ्ज विमानस्थलमा भारतीय सेनाको जहाज अवतरण गरेको थियो ।

भारतले सेनाको जहाज प्रयोग गर्दै सिधै राहत सामग्री नेपालगन्जमा झारे पछि उत्तरी छिमेकी चीनले पनि आफ्नो सेनाको विमानमार्फत राहत सामग्री पठाएको स्पष्ट छ । चरणबद्ध रुपमा राहत सामग्री पठाइरहेको भारतले भूकम्प गएको तेस्रो दिनमै राहत बोकेको जहाज नेपालगञ्जमा उतारेको थियो । भारतले आफूले पठाएको राहत सामाग्री भारत निकट मानिएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेको थियो ।

राहत हस्तान्तरण गर्दा उपलब्धताका आधारमा त्यसो गरियो वा सेटिङ नै मिलाएर निकट रहेकाहरुलाई राहत बुझ्न लगाइयो त्यो भने खुल्न सकेको छैन । तथापि कुटनीतिक हिसावले राहत सामाग्री बुझ्न परराष्ट्रमन्त्री उपस्थित हुनु पर्नेमा किन त्यो भएन ? कूटनीतिक उपस्थिति कसले जनाए ? सन्तुलित परराष्ट्र नीति भन्ने तर व्यवहारमा किन देखाइएन ?

विपदमा एक–अर्काको सहयोग अपरिहार्य छ । भूकम्पको विपदमा रहेको नेपाललाई छिमेकी मुलुक भारत, चीनसँगै मित्रराष्ट्र अमेरिका, रुस लगायतका मुलुकहरुले पनि राहत सामग्री उपलब्ध गराइरहेका छन् । जुन आफँैमा राहत र उद्धार कार्यका लागि महत्वपूर्ण सहयोग हो । संकटमा हातेमालो हुनु स्वभाविक नै हो तर सरकारमै रहेका नेतृत्व तहले कुटनीतिक महत्वको विषयमा राजनीतिक रंग मिसाउनु आफैँमा विरोधाभास देखिन्छ ।