Breaking

प्रधानमन्त्रीलाई चेक बुझाउनेको लस्कर, कसले कति पैसा दिए ? पुग्ला त पीडित कहाँ ?


काठमाडौँ — शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निट्यूडको भूकम्पले पश्चिममा ठुलो जनधनको क्षती हुदाँ सहयोगी हातहरू पनि बढिरहेका छन् । विपद्बाट निस्किन तथा उद्धार र पुर्नस्थापनाका लागि कहाँ कहाँबाट कति रकम घोषणा भए त ? प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आईतबार जारी गरेको सूचना अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक रकम जुटिरहेको छ । सरकारले गरेको अनुरोधपछि जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी प्रभावित भएकाहरूको राहत उद्धारका लागि आर्थिक राहत जुट्ने क्रमले निरन्तरता पाएको हो ।

तीनै तहका सराकारदेखि राजनीतिक दल, संघसंस्था र देश विदेशमा रहेकाहरुले सहयोगका लागि हात अघि बढाईरहेका छन् । राहत रकम एकद्वार प्रणालीबाट वितरण हुने भए पछि प्रधानमन्त्रीकै हातमा चेक दिने बढ्दो छ । विश्वसनीयताका लागि पनि दाताहरू बालुवाटार पुग्दा सचिवालयलाई समय मिलाउन नै हम्मे हम्मे परिरहेको छ । भूकम्प गएको मंगलबार चार दिन पुग्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म झण्डै साढे ४ करोड रुपैयाँ जम्मा भएको छ । अहिलेसम्म झण्डै १५ करोड रुपैयाँको सहयोग प्रतिवद्धता आएकोमा कोषमा साढे ४ करोडको हाराहारीमा मात्रै रकम जम्मा भएको हो ।


संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको गठबन्धनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले मंगलबार मात्रै प्रधानमन्त्री निवास बालुवाटरमा नै पुगेर ५० लाखको चेक कोषका लागि हस्तान्तरण गरेको छ भने सरकारकै नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पनि ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । गठबन्धनकै अर्का दल नेकपा एकीकृत समाजादीले पनि २५ लाख रूपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

यसअघि व्यवसायिक क्षेत्रबाट पहिलो पटक भाटभटेनी सुपरमार्केटका मिनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ रूपैयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् । त्यसै गरि आईएमई ग्रुप अन्तर्गतको ग्लोबल आईएमई बैंकले एक करोड ५० लाख, एनआईसी एशिया बैंक लिमिटेडले ५१ लाख नगद सहयोग गर्दै राहत कोषका लागि चेक हस्तान्तरण गरेको छ । भुकम्पले पश्चिम नेपालमा ठुलो जनधनको क्षती हुदाँ त्यसबाट माथि उठ्न सहयोगी हातहरु अघि आएका छन ।

भग्नावशेमा पुरिएकाहरुको उद्धार, घाईतेको उपचारदेखि राहत र पुनस्थापनका लागि भन्दै आर्थिक सहयोग गर्नेहरु बढिरहेका छन् । सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्नेगरी जाजरकोट र रुकुमपश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच–पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ । यसैगरी, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशले एक÷एक करोड, बाग्मती र लुबिम्बनी सरकारले समान डेढ/डेढ करोडको सहयोग गर्ने घोषणा गरेका छन् ।

भरतपुर महानगरपालिकाले एक करोड, धरान उपमहानगरपालिकाले पाँच लाख, कुश्मा नगरपालिकाले पाँच लाख ११ हजार एक सय ११ रूपैयाँ स्थानीय तहले पनि सहयोगको प्रतिबद्धता जनाए छ । हलेसी तुवाचुङ नगरपालिकाले एघार लाख ५१ हजार, तनहुँको देवघाट गाउँपालिकाले पाँच लाख सहयोग र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाका नगर प्रमुख इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब दिने भएका छन् । मासिक ३९ हजार सेवा सुविधा लिने खाँले २ लाख ३४ हजार सहयोग गर्न लागेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उद्धार कोषमा २५ लाख हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ । कांग्रेसको भातृ संगठन नेविसंघले पनि सात लाख ११ हजार दिने घोषणा गरेको छ ।

रास्वपा, एमाले जस्ता पार्टीले भने आर्थिक सहयोगको घोषणा गरिसकेका छैनन् । पीडितहरूको सहयोगार्थ नीजि संघसस्थाहरूले पनि आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् । दूरसञ्चार सेवा प्रदायक एनसेलले ५० लाख, नेपाल पर्वतारोहण संघले ३१ लाख, भीजी फाउन्डेसनले २१ लाख, हेलिकोप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेष्टीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बद्री केसी समूहका गैरआवासीय नेपाली संघले ततकालका लागि १० लाख रुपैयाँ सरकारको राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको छ, भने राष्ट्रिय समन्वय परिषद् जापानले १४ लाख प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै आके शर्मा नेतृत्वको टोलीले ६२ लाख ५५ हजार पाँच सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए । डेमोक्रेटिक लयर्स एसोसिएसनले एक लाख ११ हजार एक सय ११ को घोषणा गरेको छ । विपद्मा तत्काल खर्च गर्न मिल्ने गरी सरकारले दैवी प्रकोप उद्धार कोष खडा गरेको हुन्छ । कोषमार्फत सरकारले पीडितको उद्धार, राहत र पुनस्र्थापनाको काम गर्छ ।

२०७२ वैशाखको भूकम्पमा पनि यसै कोषमार्फत सरकारले २२ अर्बभन्दा बढी खर्च गरेको थियो । सात वटा बैंकहरु राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैक लिमिटेड, नेपाल बैंक लिमिटेड, स्टान्डर्ड चार्टड बैक नेपाल लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा खोलिएको खातामा यस्ता रकम जम्मा गर्न सकिन्छ ।