Breaking

रिगल जेल गए, रेशमको फैसला के होला ? यस्ता छन् रेशम फेरि पक्राउ पर्ने कानुनी आधार


काठमाडौँ — गुण्डा नाईके योगराज ढकाल सर्वोच्चको आदेशले फेरी जेल गएपछि रेशम चौधरी कहिले पक्राउ पर्छन् ? भन्ने प्रश्न बलियो बन्न थालेको छ । कैलालीको टीकापुरमा ८ बर्षअघि सुरक्षाकर्मी र नाबालकसहित ९ जनाको हत्या भएको घटनाका मुख्य योजनाकार रेशमलाई राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए । रिगल प्रकरणमा सर्वोच्चको नजीरले पनि रेशम फेरी पक्राउ पर्नसक्ने थुप्रै आधार खडा गरिदिएको छ ।

गुण्डा नाईके योगराज ढकाल भनिने रिगललाई सर्वोच्च अदालतले फेरी जेल पठाएपछि रेशम चौधरीको आममाफी के हुन्छ भन्ने चासो सर्वत्र बढेको छ । रिगललाई दिएको आममाफी सर्वोच्चले उल्ट्याईदिएपछि देशमा कानुन र न्याय अँझै जिउँदो छ भन्ने सन्देश दिएको छ । अझ सत्ता र सक्तिको धाक लगाउने नेतृत्वलाई न्यायको शक्ति सर्वोच्चले देखाईदिएको छ ।

अब सर्वत्र प्रश्न छः उस्तै प्रकृतिको अपराधमा संलग्न टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरी कहिले पक्राउ पर्छन् ? थारुहट प्रदेशको माग गर्दै २०७२ साल भदौ ७ गते टीकापुरमा भएको झडपमा आन्दोलनकारीको आक्रमणमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र नाबालक गरेर ९ जनाको हत्या भएको थियो । जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सार्वेच्च अदालतले समेत सो घटनाको मुख्य मुख्य योजनाकार रेशम नै रहेको ठहर गर्दै जन्मकैदको फैसला सदर गरेको थियो । तर गत जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले नै उनलाई आममाफी दिए ।

सर्वोच्च अदालतको पूर्णपाठसमेत नआई भएको आममाफी विवदाको भूमरीमा छ । त्यसविरुद्ध घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायत बोहराले सर्वोच्चको ढोका ढक्ढक्याईसकेकी छिन् । रिगलको मुद्दामा सर्वोच्चको फैसलाले रेशमलाई समेत फेरि कारागार पुर्याउने विज्ञहरु बताउँछन् ।

चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्चले जेठ २३ गते नै कारण देखाउ आदेश गरेको छ । उनको मुद्दामा अन्तिम सुनुवाईका लागि कात्तिक २३ गतेका पेसी तोकिएको छ । टीकापुर घटनामा ३० जना अझै फरार छन् । रेशम चौधरी फेरी जेल पर्ने आधार स्वयं सर्वोच्च अदालतले नै दिएको छ ।

फैजदारी कानूनको उल्लंघनमा चलाएका मुद्दालाई राजनीतिक सौदावाजीको रणनीतिअन्र्तगत फिर्ता लिनु वा माफी मिनाहा दिनु, संविधान कानुन र न्यायका सिद्दान्द विपरित रहेको फैसला सुनाएको थियो । अर्थात संगीन फौजदारी अपराधमा राजनीतिक प्रश्न उठेपछि सर्वोच्चले माफी मिनाहा हुन नसक्ने बताएको थियो । रिगल र रेशमको मुद्दाका प्रकृति समेत केही मिल्दाजुल्दा छन् । दुबै क्रुर तथा अमानविय तरिकाले व्याक्ति हत्यामा संलग्न फरक–फरक घटनामा योजनकार हुन् ।


रिगलले आममाफी पाउँदा उनीसँगै जेल परेकाहरुले आममाफीको अधिकार किन पाएनन् भन्ने प्रश्न सर्वोच्चले नै उठाएको छ । रेशमले मात्रै कैद छुट पाउँदा टीकापुर घटनाका केही अभियुक्तहरु अहिलेपनि जेलमै रहेकाले यो असमान हुुने व्याख्या सर्वोच्चले गर्नसक्छ । यस्तै रिगलकै मुद्दामा सर्वोच्चले नयाँ नजीर स्थापित गरेको छ ।

आममाफी दिदा अब पीडित पक्षको सहमति आवश्यक पर्नेछ । रेशमविरुद्ध स्वयं पीडित नै सर्वोच्च पुगेकाले पनि राष्ट्रपतिको निर्णय फेरि उल्टिने सम्भावना छ । सर्वोच्च अदालतले पूर्णपाठ समेत सार्वजनिक नभईकनै रेशमलाई दिईएको आममाफी पनि वदरभागि भएको सन्देश रिगलको फैसलाले पनि दिएको छ ।

टीकापुर घटना राजनीतिक भएकाले रेशमको मुद्दा फरक हुनसक्ने उनी पक्षको दावी छ । तर, चौधरी पक्षले जिल्ला, उच्च र सर्वोच्च अदालतमा सुरुदेखि सो बिषय उठाएपनि राजनीतिक मुद्दा भनेर व्यक्तिहत्याको प्रतिरक्षा नहुने भन्दै फैसला भएको थियो । यसले पनि आममाफीको निर्णय उल्टिन सक्ने सम्भावना छ ।

अझ रिगलको आममाफी अवैधानिक भएपछि ज्यानमारा १७० जनाविरुद्ध पनि पीडित पक्ष सर्वोच्च अदालत गए अधिकांसले न्याय पाउने बाटो खोलिदिएको छ । आफ्ना कार्यकर्ता मुछिएका हरेक घटनालाई राजनीतिक रङ दिएर अपराधको राजनीतिकरणमा सक्रिय नेतृत्वलाई नैतिकताका आधारमा पद छाड्न दवाव पनि बढाएको छ ।