Breaking

रवि र रामहरीको जुहारी, फेरि कोइरीको खोजी, सत्ता र प्रतिपक्षमा हुँदा बोलि फेरिने किन ?


काठमाडौँ — सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा नेपाली नेताहरूको भनाइ र गराइ आकाश जमिनको फरक हुन्छ । प्रतिपक्षमा हुँदा चर्को प्रश्न गर्ने नेताहरू सत्तारुढ बनेपछि प्रश्नबाटै भाग्न खोज्छन । फेरि प्रतिपक्षमा पुगेपछि आगो ओकल्न पनि पछि पर्दैनन् । नेपालका नेताहरूको आफू उभिने ठाउँ अनुसार बोली र व्यवहार परिवर्तन गर्नु नै उनीहरूको बिशेषतः बन्न पुगेको छ । नेताहरूको व्यवहार र प्रवृत्ति कहिले सासुको पालो त कहिले बुहारीको भनेजस्तो हुने गरेको छ ।

गत पुस १० मा एमाले र माओवादीको गठबन्धनबाट निर्माण भएको सरकारको विरूद्धमा सदन सञ्चालन हुने बित्तिकै जुरूक्क उठेर विरोध र प्रश्न गर्ने अग्रभागमा नेपाली कांग्रेसको रामहरी खतिवडा थिए । खतिवडाले सदनदेखि सार्वजनिक मञ्चमा समेत खरो प्रश्न गर्थे । पत्रकारसमेत रहेका तत्कालीन गृहमन्त्री रवि लामछिानेलाई खतिवडाले प्रश्नको चाङ तेर्साउथे ।

आफू प्रतिपक्षमा हुँदा सदनमा जुरूक्क उठेर प्रश्न गर्न जति सजिलो छ, सत्ता पक्ष भएपछि जवाफ दिन त्यतिकै गाह्रो हुन्छ । अहिले परिस्थितिले प्रश्न गर्ने ठाउँमा रवि लामिछाने र जवाफ दिनुपर्ने ठाउँमा खतिवडा छन् । सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगसँगको छलफलको क्रममा संसदीय समितिको सभापति समेत रहेका खतिवडालाई लामिछानेले मुस्कुराउदै निलम्बनमा परेका फरार सांसद लक्ष्मी कोइरी खोई भने प्रश्न तेर्साए ।

लामिछाने गृहमन्त्री भएका बेला सांसद खतिवडाले हत्या अभियोग लागेका सांसद कोइरी पक्राउ गर्न दबाब बढाउँदै प्रतिनिधिसभा बैठकमा सांसद लक्ष्मी महतो कोइरी पक्राउ गरेको खोइ भन्दै प्रश्न गरेका थिए । प्रतिपक्षमा हुँदा सत्तापक्षलाई औंला उठाउँदै प्रश्न गरेर चर्चा कमाएका खतिवडालाई अहिले यिनै प्रश्नको जवाफ दिन गाह्रो परिरहेको छ ।

प्रतिपक्षमा हुँदा जति नै कराए पनि सत्तामा पुगेपछि व्यवहार परिवर्तन हुन्छ भन्ने उदाहरणको रुपमा रामहरि खतिवडा र रवि लामिछानेलाई लिन सकिन्छ । प्रतिपक्षमा हुँदा चर्को भाषण र प्रश्न गर्ने नेताहरू सरकारमा पुगेपछि प्रश्नबाटै भाग्न खोज्छन्, जवाफदेहिता भुल्छन ।