Breaking

ठूला नेतालाई रवि र चित्रबहादुरको प्रश्न, पैसावाला र श्रीमतीलाई सांसद बनाउन समानुपानतिक राखेको ?


काठमाडौँ — नेपालले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट समानुपातिक प्रणाली अपनाएर जनताका प्रतिनिधिलाई शासन सत्तामा र्पुयाउने अभ्यास थालेको हो । यो प्रणालीमार्फत देशभरलाई एउटा निर्वाचन क्षेत्र मानेर जुन दलले जति मत ल्याएको हो, त्यसकै आधारमा उसका प्रतिनिधिलाई संसद्मा प्रतिनिधित्व दिने गरिँदै आएको छ । तर, समानुपातिकतर्फका प्रतिनिधि छनोटका क्रममा राजनीतिक दलका नेताहरुले देखाएको व्यवहारले समानुपातिक शब्दको अर्थ नै विकृत बनेको छ ।

जनताको प्रतिनिधित्व सुनिश्चित गर्ने शासन व्यवस्थासहित नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक देश बनेको धेरै वर्ष भएको छैन । निर्वाचनका माध्यमबाट जनताले प्रतिनिधि चुन्ने व्यवस्था अहिलेसम्म उपलब्ध व्यवस्थामध्येमै सर्वोत्कृष्ट मानिन्छ। तर, निर्वाचनबाट सबै वर्ग, समुदाय, जाति, भूगोललगायतको प्रतिनिधित्व सम्भव नदेखिँदा नेपालले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि समानुपातिक निर्वाचन प्रणाली अंगाल्दै आएको छ ।

तर, समानुपातिक निर्वाचन प्रणालीलाई दलहरुले दुरुपयोग गर्दा यसको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि नेकपा एमालेले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएको घटनाक्रमले पनि यसको दुरुपयोग भईरहेको छ भन्ने प्रष्ट प्रमाण हो । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा समानुपातिक निर्वाचन प्रणालीको विषयलाई लिएर सवाल जवाफ भएको छ ।

बैठकमा सहभागी सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको तर्क गरे । संविधानको मर्म विपरित धनाढ्य व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको उनले बताए ।

समानुपातिक निर्वाचन प्रणालीकै आडमा रहेर महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरु नियुक्त भइरहेका छन् । सबै समूहबाट वर्षौंदेखि राजनीतिमा स्थापित भइसकेको शक्तिशाली व्यक्तिहरु नै समानुपातिकबाट सांसद हुने गरेका छन् ।

यो प्रणालीले धनाढ्य व्यक्तिलाई सांसद बनाउने बाटो खुलेको मात्रै होइन, लैंगिक विभेदसमेत देखिएको जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारी बताउँछन् । वर्तमान प्रणालीले गर्दा जुनसुकै समूहबाट पनि महिला मात्रै जानुपर्ने अवस्था रहेको भन्दै उनले महिलाहरु प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने मान्यता बनाइएको र यसरी कानूनी रुपमा नै विभेद भइरहकोले पुनर्विचार गर्नुपर्ने बताए ।

समानुपातिक निर्वाचन प्रणालीको फाईदा लुट्दै पहुँच भएकाहरुलाई सांसद बनाउने भाँडोको रुपमा यसलाई प्रयोगमा ल्याईंदा यो प्रणालीको औचित्यमाथि नै प्रश्न उठिरहेको छ ।वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने तर्क गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसमानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरु मात्रै सांसद निर्वाचित हुने गरेकोमा असन्तुष्टि व्यक्त गर्छन् ।

समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरुका लागि राखिएको भएपनि धनाढ्य र पहुँचवालाहरु सांसद बन्ने गरेकोमा यसमाथि प्रश्न उठेको हो । निर्वाचन प्रणालीको विषयमा अनेक प्रश्न उठेपछि निर्वाचन आयोगले पनि यसबारे परिमार्जनसहितको कानुन संसदबाट पारित गराउने तयारी गरेको छ ।

हाल कायम रहेको कानुनहरूमा रहेको व्यवस्थामाभन्दा एकीकृत निर्वाचन कानुनको मस्यौदामा ५७ वटा बुँदामा नयाँ कानुनी व्यवस्था गरिएको आयोगको भनाई छ । कानुन संसदबाट पारित भएमा निर्वाचन आयोग अहिलेको अवस्थामा भन्दा निकै बलियो हुनेआयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको दाबी छ ।

समानुपातिक निर्वाचन पद्धति युरोपमा १९ औँ शताब्दीमा विकसित गरिएको हो । यो प्रणाली अनुसार जसको जति मत सङ्ख्या छ, त्यसको त्यति नै अनुपातमा प्रतिनिधित्वको व्यवस्था गरिनुपर्छ भन्ने नै हो । यसबाट बहुमतको साथसाथै पछाडी पारिएका वर्ग र अल्पमतको पनि उपयुक्त प्रतिनिधित्व हुने दाबी गरिन्छ । तर, नेपालमा भने यसको प्रयोगभन्दा बढि दुरुपयोग भएपछि प्रश्न उठ्दै आएको हो ।