Breaking

चियाको गुलियोले ओली–प्रचण्डको मिलन, एक्लिँदै माधव नेपाल, प्रचण्डले बोली फेरे


काठमाडौँ — नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि कुटनीतिक नियोगका प्रमुखहरुको समेत सहभागिता रह्यो । चियापानको दृश्यले शीर्ष नेतृत्वबीच कुनै आक्रोश नभएको त देखाउँथ्यो । तर, तथा हिजो सहयात्रा गरेका माधव नेपाल नै कार्यक्रम छल्न रौतहट पुगेपछि कम्युनिष्टहरु नै एक छैैनन् भन्ने सन्देश गएको छ । अझ एमालेको चियाको गुलियोले पनि ओली–नेपालबीचको तुष मेट्न सकेन ।

नेपालका कम्युनिष्टहरु एकअर्काविरुद्ध नै लडाईं लडिरहेका छन् भन्ने दृश्य बुधबार नेकपा एमालेको चियापानले देखायो । दसैं, तिहार, नेपाल संवत, छठ, इद, ल्होसार आदि पर्वका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री तथा शीर्ष नेताहरु सहभागि हुँदा हिजो एमालेसमै संघर्ष गरेका माधव नेपाल लगायत नेताहरु देखिएनन् । केपी शर्मा ओली प्रधानमन्त्री भएका संसद विघटन गरेपछि एमालेबाट छुट्टिएका माधव नेपालको सम्बन्ध अझै सहज भईसकेको छैन । सार्वजनिक मञ्चमा एकैपटक भेटिदासमेत असहज मान्ने नेपाल एमालेको चियापानमा देखिएनन् ।

नेपालसहित एकीकृत समाजवादीका नेताहरूलाई एमालेले पहिलोपटक औपचारिक निम्तो पठाएको थियो । एकीकृत समाजवादीलाई पार्टी मान्न एमाले अझैपनि तयार छैन । त्यसैकारण नेपाललाई पूर्व प्रधानमन्त्री मात्रै सम्बोधन गरेर एमालेले निमन्त्रणा पठाएको थियो । पार्टीलाई अझैपनि मान्यता दिन ओलीले आनाकानी गरेपछि अध्यक्ष नेपाल ओलीको निम्तोमा त्यति उत्साहित देखिएनन् । बुधबारै नेपाल नेपाल भने पार्टीको कामका लागि भन्दै निर्वाचन क्षेत्र रौतहटतर्फ लागे ।

गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि समाजवादीमै गएका महासचिव घनश्याम भुषाल पनि चियापानमा गएनन् । गत कात्तिक ११ गते कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा पनि माधव नेपाल ओली निस्किएपछि मात्रै पुगेका थिए । यस्ता कार्यक्रमहरुलाई मेलमिलापको अवसरका रुपमा समेत लिईन्छ । तर माधवको अनुपस्थितिले नेपालका कम्युनिष्टहरु नै एक छैनन् भन्ने सन्देश दिएको छ । कम्युनिष्टहरुबिचको तिक्तता र रोष चियाको गुलियोले समेत मेट्न सकेन ।

बुधबार एमालेको कार्यक्रममा सहभागि भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भने बोलि फेरेका छन् । मंगलबार संघिय संसदमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सम्बोधन गरेपछि प्रचण्डले ओलीलाई लक्षित गर्दै देश विभाजनमा रहेको सन्देशि दिएको भन्दै प्रतिक्रिया दिएका थिए । २४ घण्टा बित्न नपाउँदै च्यासलबाटै प्रचण्डले सबै दलहरुबीच समझदारीको वातावरण रहेको भन्न भ्याए । एकीकृत समाजावदी पार्टी खोल्न माधव नेपाललाई डोहो¥याएर निर्वाचन आयोग पु¥याउने रामकुमारी श्राँक्री पनि चियापानमा सहभागि थिईन ।

एमाले विभाजनपछि पहिलोपटक असोज २ गते च्यासल पुगेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि चियापानमा पुगेका थिए । पछिल्लो समय पार्टी अध्यक्ष माधवकुमार नेपालसँग त्यति सहज नमानिरहेका झलनाथ एमाले फर्किने चर्चासमेत हुन्छ । पार्टी फुटाएर एकीकृत समाजवादी गठन माधवकुमार नेपाललाई दह्रो साथ दिएका झलनाथ पछिल्लो समय जिम्मेवारी प्रदानगायतका विषयलाई लिएर असन्तुष्ट छन् । त्यसो त झलनाथले नेपालका सबै कम्युनिष्टहरू एक हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको घटनालाई धेरै नेता कार्यकर्ता र सर्मथकहरुले रुचाएका छैनन् । एकताबद्ध हुँदा २०७४ सालमा सम्पन्न आम निर्वाचनमा करिब ६८ प्रतिशत मत पाएका कम्युनिष्टहरुको मत विभाजन हुँदा पछिल्लो निर्वाचनमा निकै खस्किएको छ । एजेण्डामै एकमत हुन नसकेर फरक–फरक दोकान खोल्ने प्रवृतिले कम्युनिष्टहरु एकअर्कामै लडिरहेको विज्ञहरु बताउँछन् ।

कम्युनिष्ट एकताका लागि प्रयासरत तप्का अहिले पनि नभएको भने होईन । तर सत्तालिप्सा र स्वार्थको टकरावले मिल्न सकिरहेका छैनन् । परिणामस्वरुप मेलमिलापका कार्यक्रममै हिजोका सहयात्रीहरु नै मुख छोपेर हिंड्नुपरेको छ । त्यसकै कारण आफूलाई सच्चा कम्युनिष्ट भन्नेहरुले नै दक्षिणपन्थी दलहरुको फेरो समातेर सत्ताभोग गरिरहनुपरेको छ ।