Breaking

सत्ता र सडक नै कब्जा गर्ने दाउमा प्रचण्ड, राजावादीलाई तह लगाउन कार्यकर्ता उतार्दै, गठबन्धनले देला साथ ?


काठमाडौँ — सरकाकै नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी शक्तिबाट भइरहेका प्रतिगामी षडयन्त्रको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो । तर, सरकारमा नै भएको पार्टीले आन्दोलनको उद्घोष गर्दै गर्दा त्यसको औचित्यमाथि नै प्रश्न तेर्सिएको छ । सामाजिक सञ्जाल, राजावादी र गणतन्त्र विरोधीहरूबाट निरन्तर आक्रमण भएको महसुस गरेको माओवादी केन्द्र प्रतिवादमा उत्रने भएको छ । व्यवस्थाविरोधीहरू माओवादी सक्न लागि परेको भन्दै त्यसको रक्षार्थ मंसिर २२ गते काठमाडौँबाटै सडक संघर्षमा जाने उद्घोष माओवादीले गरेको हो ।

माओवादीले ६ बुँदे सर्कुलर नै जारी गरेर जनप्रदर्शनको घोषणा गर्दै गर्दा त्यसको औचित्य माथि प्रश्न उब्जिएको छ । सामान्यत सडक प्रतिपक्षको हुने गर्छ तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले नेतृत्व गरिरहेको सरकार सत्ताको शक्तिसँगै सडकलाई पनि आफ्नै कब्जामा पार्न खोज्दा कही नभएको जात्रा प्रचण्डले देखाउन खोज्दै छन् । शान्ति प्रक्रियामा आएको दुई दशक पुग्नै लाग्दा सांगठनिक अवस्था क्षिण बन्दै गएको प्रचण्ड कार्यकर्ताको मास देख्नासाथ हौसिहाल्ने गर्छन् । विगतको सांगठनिक आरोलो यात्रा पूर्ववत् अवस्थामा फर्काउने भन्दै पटक पटक शक्ति प्रदर्शन र सडक संघर्षको रटान लगाउने प्रचण्ड अहिले परिपत्र नै जारी गरेर सडकमा आउने तयारीमा लागिपरेको हो ।

सरकारको पटक पटक नेतृत्व गर्ने अवसर पाएर पनि जनहितकारी काम गर्न नसक्ने परिपाटिको बाधक व्यवस्था नभएर इच्छाशक्ति हो भन्ने बोध माओवादीले गर्न सकिरहेको छैन । देशमा देखिएका आर्थिकदेखि राजनीतिक समस्याको सम्बोधन गर्न कुनै तदारुकता नदेखाउने तर व्यवस्थामाथि संकट देखाएर सत्तारोहणमा रम्ने माओवादीको अवसरवादी द्वैध चरित्र फेरि छरप्रष्ट भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीले राज्यसंयन्त्रको परिचालन गरेर व्यवस्थाप्रति अपनत्वबोध गराउने भन्दा पनि सडक संघर्षलाई नै विकल्प ठान्नु आफ्नो कमजोरीतालाई लुकाउँदै जनतालाई गुमराहमा राख्नु मात्रै भन्छन्, राजनीतिक विश्लेषक ।

सरकारकै नेतृत्व गरिरहेको माओवादी अध्यक्ष प्रचण्डलाई झट्ट हेर्दा तत्कालै सत्ता संकट देखिँदैन । उनको छटपटी तीव्र छ । सडक संघर्ष, जनविद्रोह वा जनप्रदर्शन जे भने पनि वा गरे पनि विद्रोहको एउटै उद्देश्य जनजीविकाको मुद्धा बटुलेर सत्तामा पुग्ने नै हुन्छ । तर, नेतृत्वको बाग्डोर आफैले सम्हालिरहेका प्रचण्डलाई अहिले जनताको समस्या सम्बोधन गर्न के ले रोकेको छ ? र, सडक आन्दोलनमा नै जानु पर्ने बाध्यतामा आईप¥यो ।

सत्ताको साँचो लिएर सिंहदरबारमा आसीन प्रचण्ड राज्यको सबै संरचना प्रयोग गरेर सडक आन्दोलनमा आउनु भन्दा जनमुखी काम गरेर अराजकतावादीको मुख टाल्नतिर ध्यान जानु पर्ने हो । तर, व्यवस्था संकटमा परेको हवाला दिँदै सडक आन्दोलनको हुँकार गर्नु भन्दा जनताका आधारभूत आवश्यकताहरू परिपूर्ती गर्न नसके सामाजिक सञ्जालमा देखिएको माओवादी प्रतिको असन्तुष्टि र सलबलाएका गणतन्त्रविरोधीहरू त्यसै पाखा लाग्ने थिए ।