Breaking

युद्धको डोब बल्झिँदै, प्रचण्डमाथि नै शंका, द्धन्दमा होमिएकाहरुले मागे गुटरेससँग गुहार


काठमाडौँ — विश्वमा शान्तिको उपदेश फैलाउने बुद्धभूमि नेपालमा राजनीतिक खिचातानीका कारण शान्ति प्रक्रिया १७ वर्षदेखि गिजोलिरहेको छ । समस्याको समाधान विदेशीले गरिदिन्छन भन्ने भ्रमबाट नेपाली नेताहरू ग्रस्त छन् । सशस्त्र द्धन्द्धबाट शान्ति प्रक्रियामा आएको ६ महिनाभित्र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रतिबद्धता जनाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सत्ताको बागडोर सम्हालिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड आफू सरकारको नेतृत्वमा रहेकै बेला शान्ति प्रक्रिया आफ्नै हिसाबले टुंग्याउने हतारोमा छन् । संयुक्त राष्ट्रका महासचिवको नेपाल भ्रमणले शान्ति प्रक्रियाका बाँकी काम टुंगिनेमा प्रचण्ड विश्वस्त छन् ।

शान्ति सम्झौतामा प्रतिबद्धता जनाएका दलहरू आन्तरिक विवादमा फसेको बेला राष्ट्रसंघका महासचिवको भ्रमणले अन्तर्राष्ट्रिय समर्थन जुटाउन सहयोग पुग्न सक्छ । गुटरेसले पनि नेपालको शान्ति प्रक्रिया चाँडो टुंग्याउन आग्रह गरेका छन् । नेपाली नेताहरूले भने, घर झगडालाई उचालेका छन् । राजनीतिक दलहरूले शान्ति प्रक्रियामा राष्ट्रिय सहमतिको सन्देश दिनुको साटो विमतिको गुनासो पोखेका छन् ।

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको मौका पारेर पीडितहरूले सडकबाट खबरदारी गरिरहेका छन् । पीडितको विषय उपेक्षा गरे मान्य नहुने चेतावनी उनीहरूको छ । घरभित्रको झगडामा विदेशी गुहार्नु कुटनीतिक अपरिपक्वता हो । सबै समस्याको समाधान विदेशीले गरिदिन्छन भन्ने भ्रमबाट नेपाली नेताहरू मुक्त हुन सकेका छैनन् । आफ्नो समस्या आफैँ समाधान गरेर विश्व समुदायलाई सन्देश दिनुपर्नेमा नेपाली नेताहरूले विदेशीलाई खेल्ने ठाउँ दिइरहेका छन् ।

१७ वर्षअघि तत्कालीन सरकार र विद्रोही माओवादीबीच भएको शान्ति सम्झौताको विषय राज्यको सम्पत्ति भइसकेको छ । सेना समायोजन र संविधान निर्माणको काम सम्पन्न भइसकेको छ । अब संक्रमणकालीन न्याय सम्बन्धी काम बाँकी छ । तर, दलहरुबीच सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमा सहमति जुट्न सकेको छैन । जुन सुकै बहानामा अब यो प्रक्रिया लम्बिनु हुँदैन । शान्ति प्रक्रियालाई टुंगोमा पु¥याएर द्धन्द्धको घाउ सधैँका लागि मेटाउन सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।