Breaking

प्रचण्ड सत्तामा ढुक्क, कुर्सी टिकाउन अनेक तिगडम, सुशासनको शती गए, देउवालाई काँध, विदेशीसँग घुँडा टेके


काठमाडौँ– आफ्ना दुई प्रधानमन्त्रीत्व कालमा १० महिनाभन्दा बढि कुर्सीमा बस्न नपाएका प्रचण्डले यसपटक भने रेकर्ड ब्रेक गरेका छन् । तर यसका लागि उनले जनताका मुद्दाभन्दा बढि अनेकन राजनीतिक व्यवस्थापन गर्नुपरेको छ । पार्टी चाउरिएर मरिचजस्तै बन्दापनि प्रचण्डको शक्ति भने बढ्दै गएको छ । आफ्नो तेश्रो कार्यकालमा भाषणभन्दा धेरै काम गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण गरेरै सत्ता टिकाउने रेकर्ड ब्रेक गरेका छन् । अर्थात प्रधानमन्त्री प्रचण्डले आफ्नो सत्ता ११ महिनासम्म टिकाउन सफल भएका छन् । यसअघि उनी कहिल्यै पनि १० महिनाभन्दा बढि प्रधानमन्त्रीको कुर्सीको आसिन छैनन् ।

पहिलोपटक २०६५ सालमा प्रधानमन्त्री बनेका प्रचण्ड ८ महिनामै सिंहदरबारबाट बाहिरिएका थिए । २०७३ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले करीब १० महिना मात्रै सरकारको नेतृत्व गर्ने अवसर पाए । तर प्रचण्डले यो सफलता हत्तपत्त पाएका भने होईनन् । त्यसका लागि प्रचण्डले धेरै कुराको कुरवानी गर्नुपरेको छ, भने धेरैको व्यवस्थापन पनि । महंगीले आकाश छोएको छ, विदेशिनेको लर्को छ तर प्रचण्डको नजर अँझै जनताका समस्यामा छैन । उनको चासो त जसरी भएपनि अहिलेको गठबन्धन ५ बर्ष टिकाउने र आफू प्रधानमन्त्रीको कुर्सीमा कसरी टिक्ने भन्नेमा मात्रै छ । अर्थात यति गर्नका लागि उनले कैयन ब्यवस्थापन मिलाउनुपरेको छ । कोशीमा लाज पचाएरै विद्रोहलाई अपनत्व गरेका प्रचण्ड हरेक राजनीतिदेखि जनताका हरेक समस्यालाई सामान्यीकरण गरेर पञ्छिने गरेका छन् ।

माओवादीका नेता कार्यकर्ताहरु जनतासँग माओवादी भन्दै नागरिकको दैलो दैलोमा पुगेपनि जनताले पत्याएनन् । अर्कोतर्फ पार्टीको शिर्ष नेतृत्वको एक तप्का सरकारका कामकारवाहीप्रति नै असन्तुष्ट छ । तरपनि उनीहरुलाई चुप राखेर सत्ताको खेल खेल्न प्रचण्ड सफल भईरहेका छन् । अँझ ३२ सिटे माओवादीले ८९ सिटे कांग्रेस र ७८ सिटे एमालेलाई फनफनी घुमाउनका लागि माओवादीले गठबन्धन र पार्टीमै कम्ता पापड बेल्नु परेको छैन । यस्तै गठबन्धनमा आफ्नो भाग दह्रो बनाउनका लागि बनेको समाजवादी मोर्चामा उपेन्द्र यादव लगायतहरु असन्तुष्ट नै देखिन्छन् । तरपनि उनीहरुलाई चुप लगाएर समाजवादी मोर्चाका भेलाहरु गरिरहेकै छन् । अँझ हिजो संसदवादी दलाल भनेर प्रचण्डलाई नै गाली गर्ने विप्लबलाई समेत समाजवादी मोर्चाको छत्रछायामा पारिरहेकै छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई आफ्नै पार्टीको चुनाव चिन्ह्बाट चुनाव लडाउन सफल भएका प्रचण्डले उनीसँग पनि पार्टी एकतासम्मकै सहमति गरेका थिए । तर बाबुरालाई बाईपास गरेर अन्य नेता कार्यकर्ताहरुलाई एकताको पत्र पठाउँदा तथा समाजवादी मोर्चामा ठाउँ नदिँदा समेत बाबुराम प्रचण्डसँगै टाँसिएर बसेका छन् ।अर्कोतर्फ संसद र बाहिर सरकारको चर्को आलोचना गर्ने नवउदयीमान राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि दशैंपछि गृहमन्त्री दिने आशमा चुप लगाउन प्रचण्ड सफल भएका छन् । स्वतन्त्र पार्टीको विरोधको बढि निशाना सत्ता सम्हालेका कारण प्रचण्ड हुनुपर्ने हो ।

तर सभापति रवि लामिछानेको निशाना ओली प्रचण्ड र देउवा केन्द्रित नै छ । नेकपा एमालेले पनि स्थायी सरकारका लागि कांग्रेस–एमाले मिल्नुपर्ने प्रस्ताव गर्दासमेत कांग्रेस सभापति शेरबहादुर देउवा टसमस भएका छैनन् । देउवाकै कारण प्रचण्डले सुशासनको अभियानलाई नै तिलाञ्जली दिनुपरेको छ । कांग्रेसकै विद्रोही खेमा शेखर गगन र ओली मिल्दापनि प्रचण्डको दाल गलेको छैन भने अर्कोतर्फ दुर्गा प्रसाईं, अमरेशकुमार सिंह, डा. सुनील शर्माजस्ता व्यक्तिहरु प्रधानमन्त्री पुत्रीमाथि नै जाइलाग्दा समेत प्रचण्ड चुपचाप छन् । यस्तै अवकाश पाउने अवस्थामा पुगेका नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याद दुईपटक थप गरी नेपाली सेनामा ‘गलत’ अभ्यासको सुरुवात गरेका प्रचण्डले त्यसमा पनि गठबन्धनका नेताहरुलाई चुप राख्न सफल भईरहेका छन् । तर जनताका समस्याको व्यवस्थापनमा प्रधानमन्त्री असफल रहेको सन्देश स्वयं गठबन्धनकै नेताहरुले दिईरहेका छन् ।

नेपाली भूमी कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाई नै बुझाएको संकेत प्रचण्डले स्वयंले गरिसक्दा समेत दलहरु मौन छन् । भारतीय संसद भवनको भित्तामा ‘अखण्ड भारत’ जनाउने मुरल नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेट्दा समेत सरकार चुप बस्यो । चीनले कालापानी लिपुलेक लिम्पियाधुरालाई नेपाली भूमी नमान्दा समेत सरकार बोल्न सकेन । अर्थात भारत र चीनको ब्यबस्थापनमा पनि प्रचण्ड सफल भएका छन् । यस्तै उग्र बनेका शिक्षक, कर्मचारी र स्वाथ्यकर्मीहरुका आन्दोन थामथुम पार्न पनि प्रचण्ड सफल भएका छन् ।

विगतका सत्तायात्राको कामजोरीको पाठ सिकेर राजनीतिक खेलाडी बनेका प्रचण्ड गठबन्धनको सहमतिअनुसार आफ्नो दुई बर्षे प्रधानमन्त्रीत्व कार्याकाल टिकाउने मुख्य ध्यय बनाएर मात्रै हिंडिरहेका छन् । बरु आफ्ना नेताहरु भ्रष्ट देखिए सुनपानी छर्किरहेका छन् । तर जनताका समस्या र जनस्तरको आक्रोशले भने उनलाई रतिभर पनि छोएको छैन । कुर्सी टिकाउन गरिएको संघर्ष जनताका समस्या समाधानमा लगईदिएको भए चुनाव जित्नकै लागि जनताको खुट्टा ढोग्नुपर्ने अवस्था आउने थियो र ?