Breaking

हमास सक्न झनझन् आक्रामक बन्दै ईजरायल, युद्धविरामको पक्षमा किन उभिएन अमेरिका ?


काठमाडौँ — ३ हप्ता बित्दासमेत इजरायल र हमासबीचको युद्ध रोकिने संकेत देखिएको छैन । यस अवधिमा तत्काल मानवीय युद्धविरामको पक्षमा नेपालसहित विश्वका १ सय २० राष्ट्र देखिएका छन् भने विपक्षमा इजरायल, अमेरिकासहित १४ देशले मतदान गरेका छन् । भारतसहित ४५ देश तटस्थ बस्दा यो युद्ध कति समयसम्म अघि बढ्छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन । हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आफ्नो चट्याङ आक्रमण सुरु गरेपछि केही दिन सोकमा डुबेको इजरायल शक्तिमा बदल्दै हमासमाथी आक्रमण सुरु गरेको ३ हप्ता बितेको छ ।

३ हप्ता बितिसक्दा पनि युद्ध रोकिने कुनै संकेत देखिँदैन । यसै पनि युक्रेन–रूस युद्धका कारण खलबलिएको विश्व शान्ति र अर्थव्यवस्था इजरायल–प्यालेस्टाइनबीचको तनावले झनै खलबलिने स्थितिमा पुगेको छ । ३ हप्ताको अबधीमा निर्दोष सर्वसाधारणले ज्यान गुमाईरहेका छन् । गाजामा २ हजार ९ सय बालबालिकासहित ७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार ४ सय जनाको मृत्यु भएको थियो । त्यसो त इजरायल र प्यालेस्टिनबीचको यो द्वन्द्व नयाँ भने होइन ।

२० औं शताब्दीको प्रारम्भमा प्यालेस्टिनमा यहुदी मातृभूमिको लागि सियोनिस्ट आन्दोलनको प्रयासमा यसको युद्धको विजारोपण भएको थियो । जुन एक शताब्दीभन्दा बढी समयदेखि रहेको छ । इजरायलसँग शत्रुता रहेको हमास प्यालेस्टिनको इस्लामिक चरमपन्थी संगठन हो । सन् १९८७ को जनआन्दोलनका क्रममा शेख अहमद यासिनले यस संस्थाको स्थापना गरेका थिए । त्यसयता हमासको एउटै लक्ष्य प्यालेस्टिन क्षेत्रबाट इजरायललाई हटाउनु रहेको छ ।

गाजा पट्टीबाट सञ्चालित हमासले इजरायललाई देशको रूपमा मान्यता दिँदैन र यो सम्पूर्ण क्षेत्रमा इस्लामिक राज्य स्थापना गर्न चाहन्छ। गाजा पट्टीमा सत्तामा रहेको हमासलाई इजरायल, संयुक्त राज्य अमेरिका र युरोपेली संघलगायत धेरै देशहरूले आतंकवादी संगठन मानेका छन् । हमासले गाजा पट्टीमा २० लाख प्यालेस्टिनीलाई शासन गर्छ । यी दुई देशबीचको युद्ध छिटफुट भने चलिरहेकै हो । तर अक्टोर ७ को युद्ध भने इजरायलमा हजारौं रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै हमास समुह इजरायल प्रवेश गरे । जसमा इजरायलतर्फको १४ सय जनाको मृत्यु भएको थियो ।

यो युद्ध चलिरहँदा इजरायल–हमास युद्ध सुरु हुनुका पछाडि धेरै देश र संगठनको भूमिका महत्वपूर्ण रहेको चर्चा चल्यो । हमासविरुद्ध इजरायली सेनाको कारबाहीका क्रममा गाजा पट्टीमा पनि यसका धेरै प्रमाण भेटिएका थिए । इजरायली सेनाले हमास आतंककारीहरूबाट इरान र उत्तर कोरियाली हतियारको खेप बरामद गरेको छ । यसैबीच लेबनानको खतरनाक इस्लामिक संगठन हिजबुल्लाहले ठूलो दाबी गरेको छ ।

इरान समर्थित यो संगठनले इजरायल–हमास युद्धमा आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी गरेको छ । ३ हप्तासम्म युद्ध नरोकिने भएपछि नेपालसहित विश्वका १ सय २० राष्ट्र इजरायल–हमासबीच जारी द्वन्द्वमा तत्काल मानवीय युद्धविरामको पक्षमा देखिएका छन् । राष्ट्र संघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको तत्काल मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित १ सय २० राष्ट्रले मतदान गरेका छन् ।

गाजामा तत्काल मानवीय युद्धविरामको पक्षमा नेपालसहित १२० राष्ट्र छन् भने सो प्रस्तावको विपक्षमा इजरायल, अमेरिकासहित १४ देशले मतदान गरेका छन् । यता भारतसहित ४५ देश तटस्थ रहे । तटस्थ रहने अधिकांश देश अमेरिकाको सैन्य गठनमा रहेका पश्चिमा राष्ट्रहरू छन् । प्रस्तावमा बिनासर्त मानवीय युद्धविरामका साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनालाई जोड दिइएको छ ।